काठमाडौं । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारसम्बन्धी अध्ययन गर्न सांसद राजेन्द्र लिङदेनको संयोजकत्वमा गठित उपसमितिले संसदीय समितिलाई प्रतिवेदन बुझाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षसमेत रहेका लिङदेनको नेतृत्वमा करिब एक वर्षअघि गठित उपसमितिले सोमबार संसद भवनमा रहेको शंकर हलमा पत्रकार सम्मेलनबीच प्रतिवेदन बुझाएको हो । संयोजक लिङदेन प्रतिनिधिसभाअन्तर्गत रहेको सार्वजनिक लेखा समिति सदस्यसमेत हुन् ।
२०८१ जेठ २८ मा विमानस्थलमा भएका अनियमितता, भ्रष्टाचारसँग सम्बन्धित गुनासाका बारेमा अध्ययन गर्न आफ्नो संयोजकत्वमा उपसमिति गठन भएको र उक्त उपसमितिले स्थलगत अनुगमन, अन्तरक्रिया र छलफल तथा कागजात अध्ययनपछि ३८ पृष्ठको प्रतिवेदनमा ६ वटा निष्कर्ष निकालिएको संयोजक लिङदेनले जानकारी गराए ।
प्रतिवेदन बुझ्दै सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पोखरा र भैरहवा गरेर २ वटा विमानस्थलमा भएको भ्रष्टाचारबारे अध्ययन गर्न २ वटा उपसमिति गठन भएको जानकारी गराए । जसमा लिङदेनको नेतृत्वमा रहेको पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन आज बुझाइएको र योगेश भट्टराईको नेतृत्वमा भैरहवा विमानस्थलको प्रतिवेदन बाँकी रहेको उनले बताए ।
प्राप्त प्रतिवेदनमा मूल समितिमा छलफल गर्ने र सुझावलाई आधार मानेर मूल समितिको निष्कर्ष अन्तिम हुने सभापति पोखरेलले जानकारी गराए ।
लिङदेन संयोजक रहेको उक्त उपसमितिमा जनार्दन शर्मा, गोकुल बास्कोटा, अमनलाल मोदी, अर्जुननरसिंह केसी, प्रेम आले, रामकृष्ण यादव, तारा लामा, देवप्रसाद तिमिल्सेना, दीपक गिरी र रुकमणी राना सदस्य रहेका छन् ।

Leave a Reply