काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बर्दिया जिल्लाको राजापुर नगरपालिका–४ मा सहिद तथा बेपत्ता परिवारसँग अन्तरक्रिया र छलफलमा सहभागी भएका छन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सहिद तथा बेपत्ता परिवारका सदस्यहरूसँग प्रत्यक्ष संवाद गरे । अन्तरक्रियामा सहभागी दुवै स्थानीय तहका सहिद तथा बेपत्ता परिवारले संयुक्त रूपमा अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र पनि बुझाएका थिए ।
अन्तरक्रियामा सहभागीहरूले जनयुद्धको ऐतिहासिक सन्दर्भ, आफ्ना संघर्षका कथा लेखेर शैक्षिक पाठ्यक्रममा समेट्नुपर्ने, जीविकोपार्जन, बालबच्चाको पालनपोषण, शिक्षा र रोजगारीका समस्याहरू समाधान गर्न आग्रह गरे ।
गुनासाहरू सुनेपछि अध्यक्ष प्रचण्डले भने, ‘पार्टीले वर्गीय र सहिद, बेपत्ता परिवारसँग सम्बन्ध सुधार गर्न देशभर अभियान चलाइरहेको छ । हामी सकेसम्म सहिद तथा बेपत्ता परिवारका घरमै बसी दुःख सुख साट्दै आएका छौँ ।’
उनले जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको प्रसंग स्मरण गरे ।
प्रचण्डले थपे, ‘शान्ति प्रक्रिया नसकिन्जेल अदालतको आदेशका कारण रोकिएको भए पनि पार्टी जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा मनाउने पक्षमा अडिग छ ।’
उनले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको र आयोग गठन प्रक्रिया अघि बढेको जानकारी दिए ।

उनले भने, ‘आयोग बनेपछि सहिद तथा बेपत्ता परिवारका नाममा पार्क बनाइने, प्रमाणपत्र वितरण गरिने र कम्तीमा एक जना सदस्यलाई रोजगारी दिने व्यवस्था सुनिश्चित गरिएको छ । साथै, सार्वजनिक यातायातमा छुटसहित गणतन्त्र सेनानीका रूपमा सम्मान दिने व्यवस्था पनि विधेयकमा समावेश गरिने छ ।’
बर्दिया जिल्ला राज्यद्वारा सबैभन्दा बढी व्यक्तिहरू बेपत्ता पारिएको जिल्ला भएको अध्यक्ष प्रचण्डले स्मरण गराए । कार्यक्रमको अन्त्यमा अध्यक्ष प्रचण्डले सबै सहिद तथा बेपत्ता परिवारलाई पार्टीको विचार, नीति र मार्गनिर्देशनको पक्षमा दृढ रहन आग्रह गरे ।

Leave a Reply