‘रवीन्द्र मिश्रमाथि प्रहरीको दुर्व्यवहार आपत्तिजनक, अदालत प्राङ्गणमा हत्कडी लगाउनु गैरकानूनी’

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको आरोप लगाएका छन् । हिजो मिश्रलाई अदालत ल्याउँदा प्रहरीले गरेको व्यवहार अत्यन्त अशोभनीय र गैरकानूनीसमेत भएको उनको टिप्पणी छ ।

नेपाल प्रेससँग कुरा गर्दै आचार्यले एउटा राजनीतिक कार्यक्रममा भाग लिएकै आधारमा कुनै पनि राजनीतिकर्मीविरुद्ध संगठित अपराध र राज्यद्रोह जस्तो संगीन मुद्दा लगाउन खोजेर कानूनी शासन र लोकतान्त्रिक पद्धतिको उपहास गरिएको बताए ।

उनले भने, ‘यो राजनीतिक प्रतिशोधभन्दा बाहेक अरु केही पनि होइन । चैत १५ गते भएको हिंसात्मक गतिविधिमा उहाँ संलग्न हुनुहुन्थेन । कार्यक्रमको आयोजक पनि उहाँ होइन । एउटा राजनीतिकर्मीले संविधानबाट प्राप्त अधिकारको उपभोग गर्दै राजनीतिक कार्यक्रममा भाग लिँदा खोज्नु निरंकुशताको पराकाष्टा हो ।’

आचार्यसित नेपाल प्रेसका लागि चिरञ्जीवी पौडेलले गरेको संक्षिप्त संवादः

– हिजो रवीन्द्र मिश्रलाई प्रहरीले दुवै हातमा हत्कडी लगाएर घचेट्दै अदालतभित्र छिराएको देखियो, यो कृत्यलाई कसरी लिनुहुन्छ ?

रवीन्द्र मिश्रजीको हकमा तीनचार वटा कुरा एकदमै गम्भीर छ । पहिलो कुरा त सबैलाई थाहा छ, उनले एउटा राजनीतिक कार्यक्रममा भाग लिएका हुन् । उनको राजनीतिक दर्शन र विचारसँग हामी सबै सहमत हुन आवश्यक छैन, तर संविधानले प्रत्याभूत गरेको कुरा के हो भने जुनसुकै आस्था र विचारका आधारमा शान्तिपू्र्ण राजनीति गर्न पाइन्छ ।

दोस्रो कुरा, उहाँलाई जुन ढंगले अदालतमा प्रस्तुत गरियो, सबैभन्दा पहिले मैले नेपाल प्रेसमा देखेँ, तपाईंहरूलाई धन्यवाद छ जस्ताको तस्तै प्रस्तुत गरेकोमा । त्यो वास्तवमा एकदमै आपत्तिजनक थियो । सरकारले आरोप लगाउन सक्छ, मुद्दा हाल्न सक्छ, तर कहीँ न कहीँ अपराध गरेका आधार-प्रमाणहरू देखिनुपर्छ । उहाँ अपराधी घोषित भइसक्या मान्छे होइन, कुनै आपराधिक पृष्ठभूमि भएको मान्छे पनि होइन । उहाँलाई दुवै हातमा हत्कडी लगाएर लैजानु असाध्यै अशोभनीय र प्रतिशोधपूर्ण अत्याचार भएको छ ।

तेस्रो कुरा, अघिल्लो पटक म्याद थप गर्दा इजलासले थुनामा राख्नुपर्ने कारणहरू खुलाएर आउनु भनेको थियो । त्यसबमोजिम यो–यो कारण भनेर प्रहरीले खुलाएको पनि देखिएन, तर सात दिन म्याद थप गरियो । अघिल्लो पटकको आदेशको फलोअप नै यसपालि भएन । यसले न्याय सम्पादनमाथि प्रश्न उठ्ने ठाउँ दिएको छ ।

र, सबैभन्दा संवेदनशील मलाई लागेको चाहिँ, न्यायाधीशले देखाएको व्यवहार हो । मैले तपाईंहरूकै मिडियामा पढेँ, न्यायाधीशले नै उहाँलाई व्यंग्य गरेको भन्ने कुरा, यो त झनै आपत्तिजनक छ । न्यायाधीशलाई यस्तो बोल्ने छुट कहाँ हुन्छ भन्या ? उसका त धेरै सीमाहरू हुन्छन् । यस्तो गर्न थालेपछि के चिज बाँकी रहन्छ ?

न्यायाधीशलाई इजलासमा जिस्किने, मुद्दाको पक्षसँग ठट्टा गर्ने, व्यंग्य र कटाक्ष गर्ने स्वतन्त्रता हुँदैन । यदि उनले त्यस्तो गरेका हुन् भने आफ्नो सीमा बिर्सेको हो । धेरै चिन्ताको कुरा हो यो । न्याय प्रणालीमा यसलाई धेरै महत्वपूर्ण मानिन्छ । यस्तो गर्नुलाई अदालतको अवहेलना मानिन्छ । अदालतको अवहेलना पत्रकार र वकिलबाट मात्रै हुन्छ भन्ने छैन, न्यायाधीशको गलत आचरणबाट पनि हुनसक्छ ।

– मैले फेरि पनि दोहोर्‍याएँ, अदालतभित्र ल्याइसकेपछि कुनै पनि आरोपीलाई हत्कडी लगाउन चाहिँ मिल्छ कि मिल्दैन ?

अदालतमा ल्याएपछि अनिवार्य हत्कडी खोल्नुपर्छ । अदालत भनेको न्यायको मन्दिर हो । अदालतको प्रांगणभित्र प्रवेश गरिसकेपछि कसैलाई पनि हत्कडी लगाउन पाइँदैन । रवीन्द्र मिश्रजीलाई जुन रूपमा अदालत ल्याइयो, यो रुल अफ ल विपरीत भयो । विधिको शासन नै भएन । खोई के भयो भयो ।

– तपाईंको विचारमा प्रहरीले देखाएको यो कठोरता आफ्नै तजबिजमा होला कि माथिबाटै गाइड गरिएको होला ?

मलाई लाग्दैन कि पुलिसले आफ्नै स्वविवेकमा यस्तो गरिरहेको छ । प्रहरी संगठनप्रति मेरो ठूलो सम्मान थियो र छ । उसको भूमिकालाई म सधैं सम्मान नै गर्छु, तर पछिल्ला दिनमा प्रहरी संगठन जसरी राजनीतिक नेतृत्वसामु निरीह बन्दै गएको छ, त्यो चिन्ताको विषय हो । प्रहरीले स्वतन्त्र रूपमा भूमिका निर्वाह गरेको महसुस हुन सकिरहेको छैन । नियम-कानूनभन्दा पनि नेता र राजनीतिक शक्तिको आदेशलाई पछ्याइरहेको जस्तो लाग्छ । (मिश्रमाथि) माथिबाट गर भनेरै यस्तो गरिएको होला । प्रहरीको मात्रै कारणले होइन ।

– उहाँलाई हिरासतभित्र पनि गलत व्यवहार भएको पाउनुभएको छ ?

मैले उहाँलाई हिरासतमा गएर भेटेको छैन । अदालतमा आउँदा भेटेको हो । अलिकति अगाडिको भेटमा कुरा गर्दा उहाँले हिरासतभित्र व्यवहार ठीक छ भन्नुभएको थियो । अहिले के कस्तो छ थाहा भएन ।

– उहाँहरूमाथि संगठित अपराध र राज्यद्रोहको मुद्दा लगाउने तयारी भइरहेको छ । तपाईंको विचारमा यो कत्तिको जायज छ ?

यो त मजाक भयो । कानूनी राजमा यस्तो कहाँ हुन्छ ? म पनि ६२÷६३ को आन्दोलनमा सहभागी थिएँ । म पनि थुनिएको हुँ, तर यस्तो मुद्दा त खेप्नुपरेको थिएन । त्यो बेला पनि आन्दोलनमा तोडफोेड भएकै हो, ढुंगा हानिएकै हो ।

रवीन्द्र मिश्रले त ढुंगा हान्नुभएको पनि थिएन । उहाँ एउटा राजनीतिक कार्यक्रममा भाग लिन जानुभएको मात्र हो । कार्यक्रमको आयोजक पनि उहाँहरू होइन । एउटा नेताले सडकमा उत्रिएका कार्यकर्ता पंक्तिलाई कार्यक्रमस्थलमा आउ भनेर आह्वान प्रेरित गरेकै भरमा राज्यद्रोहको मुद्दा लाग्छ भने त जसलाई लगाइदिए पनि भयो ।

– अब अदालतले निष्पक्ष न्याय सम्पादन गर्न सक्ला त ? कत्तिको आशावादी हुनुहुन्छ ?

म अदालतलाई उच्च सम्मान गर्ने नागरिक हुँ । अझै पनि सम्मान छ । हिजोको आदेशले र न्यायाधीशको व्यवहारले अलिकति सन्देह उत्पन्न भयो । यदि यसमा अदालत चुक्यो भने भोलि एकदमै खराब दिन आउनेवाला छ । कोही पनि सुरक्षित रहने छैनन् ।

– यस्ता आन्दोलनमा भएका तोडफोड र विध्वंशप्रति नेतृत्व गर्नेले नै जिम्मेवारी त लिनुपर्छ भन्ने तर्क पनि त छन् नि ?

मलाई थाहा भएसम्म त्यो आन्दोलनमा रवीन्द्र मिश्रजी नेतृत्वकर्ता वा आयोजक हुनुहन्थेन । कार्यक्रमको आयोजना दुर्गा प्रसाईंजीको अभियानले गरेको थियो । रवीन्द्रजीहरू त्यहाँ वक्ताका रूपमा निम्त्याइनुभएको हो । उहाँ संलग्न रहेको जनआन्दोलन समितिले समर्थन जनाएकोमात्र हो, अगुवाइ गरेको होइन ।

यदि उहाँ कुनै आपराधिक गतिविधिमा संलग्न रहेको प्रमाण भेटिएको थियो भने अर्को कुरा हुन्थ्यो । उहाँले कुनै आपराधिक कार्य गर्न प्रोत्साहन र निर्देशन दिएको भए पनि जिम्मेवार ठहर्‍याउन सकिन्थ्यो । त्यस्तो त केही पनि छैन । उहाँ त केवल राजनीतिक सभामा भाषण गर्न जानुभएको हो ।

जसले आगो लगायो, तोडफोड गर्‍यो, ऊ अपराधी हो । जसको कारणले तोडफोड भयो, ऊबाटै क्षतिपूर्ति भराउने कानून छ । मान्छे मारेको, कुटपिट गरेको, आगजनी गरेको सबै अपराधमा कानूनबमोजिम सजाय हुन्छ, तर भाषण गरेको, कराएको र चिच्याएको आधारमा राज्यद्रोह हुँदैन ।

Comments

3 responses to “‘रवीन्द्र मिश्रमाथि प्रहरीको दुर्व्यवहार आपत्तिजनक, अदालत प्राङ्गणमा हत्कडी लगाउनु गैरकानूनी’”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    भिमार्जुन जीलाइ प्रश्न तपाइहरूले गर्ने काम त हामीले बुझ्न सक्ने बिषय होइन तर पनि एउटा प्रश्न गर्न मन लाग्यो र यो लेखेको छु ।
    १. अहिले भएको शिक्षक हड्ताल र डाक्टरहरूको हड्रताल अनि कुनै समयमा डा. गोविन्द के.सी.ले गरेको अनसनको सन्दर्भमा कुन रूल अफ ल अन्तर्गत पर्छन ?
    २. अनि प्रायोजित भूमिका निर्वाह गरेको व्यक्ति संस्था वा समूह नियन्त्रण गर्ने कुरा मात्र रूल अफ ल बाट नाप्न सुहाउँछ ?
    ३. देशको कानुन बिरूद्धको मतियारलाइ के प्रहरीले सलाम ठोनु पर्छ हो ?

    1. टेक नारायण पाठक Avatar
      टेक नारायण पाठक

      निरङ्कुसता र दासताबाट मुलुक चल्न सक्दैन।वाक स्वतन्त्रता हुन जरुरी छ।हजार दोषी उम्कियोस तर, एउटा पनि निर्दोष नपरोस् ,यो Universal rule of law हो।त्यसैले तिनकुने घटनाको सत्यतथ्य बाहिर आउन जरुरी छ, यथाशीघ्र सरकारले छानबिन समिति गठन गरोस।

  2. ksp pyl Avatar
    ksp pyl

    मिश्रलाइ नमिले यसैलाई हतकडि लगाए हुन्छ प्रहरी भाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *