काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
कांग्रेसको केन्द्रीय सूचना, संचार तथा प्रचार विभागका प्रमुख मीन बहादुर विश्वकर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष लिङ्देनले संसदमा दिएको अभिव्यक्ति कपोलकल्पित र भ्रामक भएको बताउँदै त्यसको खण्डन गरेका छन् ।
गत चैत्र १५ गते राप्रपा र राजावादी समूहले काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीमा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा भएको तोडफोड र लुटपाटमा नेपाली कांग्रेसका एक सह-महामन्त्रीका छोरा संलग्न रहेको र गृहमन्त्रीको आदेशमा उनी रिहा भएको भन्ने लिङ्देनको भनाइलाई कांग्रेसले गम्भीर रुपमा लिएको जनाएको छ।
‘अध्यक्ष लिङ्देनले आरोप लगाएका व्यक्ति ती दिन नेपालमै नरहेका प्रमाणित भएकाले, तथ्य जाँचबिना गरिएको यस्तो अभिव्यक्ति निराधार, दुर्भावनापूर्ण र निन्दनीय छ’, विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले घटनामा संलग्न आफ्ना कुनै पनि नेता वा कार्यकर्ता नरहेको स्पष्ट गर्दै संसदजस्तो गरिमामय मञ्चमा यस्तो तथ्यहीन अभिव्यक्ति दिनु राजनैतिक मर्यादा विपरीत भएको बताएको छ।
कांग्रेसले राप्रपाका अध्यक्षलाई आफ्ना नेता तथा कार्यकर्ताहरुलाई अनुशासित र जिम्मेवार बनाउनेतर्फ ध्यान दिन आग्रह गर्दै भविष्यमा अरुको प्रतिष्ठा र सामाजिक मर्यादा विपरीतका अभिव्यक्तिबाट बच्न सचेत गराएको छ।
‘राजनीतिक अभिष्ट पूर्तिका लागि यस्ता कपोलकल्पित कुरा गर्नु सन्दर्भहीन मात्र होइन, संसदको गरिमा प्रतिहित गर्ने खालको कार्य हो,’ विज्ञप्तिमा भनिएको छ।

Leave a Reply