काठमाडौं । ‘चर्चित गायकगायिकाले मेरो संगीतमा गीत गाउँदा कस्तो सुनिएला है ?’
‘उदितनारायाण झा, साधना सगरम, कुमार सानु जस्ता कलाकारको स्वरमा मुम्बईमा गीत रेकर्ड गराउन पाए… ।’
आजभन्दा २१-२२ वर्षअघि संगीतकार महेश खड्काको दिमागमा यस्तैयस्तै कल्पनाले डेरा जमाउँथ्यो । आफ्नो संगीतमा उदितनारायण जस्ता चर्चित गायकको स्वरको जादु थपिएको सपना देख्थे । भर्खर भर्खर नेपाली सांगीतिक आकाशमा फटफटाउन सुरु गरेका खड्काका लागि मुम्बईसम्मको उडान उस्तो सहज थिएन ।
काठमाडौंबाट मुम्बईसम्मको दुरी, आर्थिक भार अलग्गै थियो । उदितनारायण, कुमार सानु, साधना सरगम जस्ता कलाकारले आफूसित सहकार्य गर्ने हो कि होइन, खड्काको मनमा आशंका अलग्गै थियो ।
भनिन्छ नि, सपना देख्नेहरू कहिल्यै निराश हुनुपर्दैन । हो, खड्का पनि निराश हुनुपरेन । उनले देखेको सपना पूरा हुने भयो, उदितनारायणसँग सहकार्य गरिने भयो । उनको सपना यथार्थमा बदलिने भयो ।
सपना यथार्थमा बदलिँदा मान्छेको अनुहारको चमक नै बेग्लै हुन्छ, खड्काको नहुने कुरै भएन । उनी उत्साह र उमंग बोकेर मुम्बई हान्निए । महेश-उदितको सहकार्यको चाँजोपाँजो मिलाउने वातावरण बनाएको थियो चलचित्र ‘समर्पण’ले, तर महेशको त्यो सपना पूरा हुन सकेन ।
‘मलाई दोस्रो चलचित्रमा उदितनारायणको स्वर राख्न मन थियो’, त्यसवेलाको समय सम्झिँदै महेश भन्छन्, ‘तर दुर्भाग्य, मैले उहाँको स्वरलाई कैद गर्न सकिनँ । म उहाँकै स्वर कैद गर्न गएको थिएँ, त्यहीवेला उहाँ कार्यक्रमका लागि अमेरिका जानुभयो ।’
जसको स्वर कैद गर्न गएका थिए, उही मान्छे नभेटिएपछि महेश विलखबन्दमा परे । अब के गर्ने त ? एक स्टुडियोका रेकर्डिस्ट जोय भन्नेले सुझाए, ‘एक जना नयाँ गायक छ, उसको आवाज सुन्नुस् ।’
उनले ती गायकको आवाज सुने । सुनेपछि ‘ओके’ गरे । नवोदित गायक थिए सोहम चक्रवर्ती । सोहमले पहिलो गीत गाए, ‘आकाशकी हौ तिमी चाहे धरतीकी हौ ।’
सोहमले अर्को गीत पनि गाए, ‘मलाई फुल्न देऊ’ । यो गीत त ब्लकबस्टर नै भयो ।
त्यो गीत, जसले महेशलाई संगीतकार बनायो

‘समर्पण’अघि महेशको पहिलो चलचित्र थियो– ‘त्रिवेणी’ । ‘त्रिवेणी’बाटै महेशले सफलताको पहिलो स्वाद चाखेका थिए । ‘तिम्रो आँखामा के छ सागर सागर’ बोलको गीत सुपरहिट बनेको थियो ।
हुन त महेश गायक बन्न खोटाङको सिम्पानीबाट काठमाडौं छिरेका थिए । गायक बन्न आएका उनलाई साथीभाइले हौस्याउँथे, ‘कम्पोज’ राम्रो छ ।’ महेश पनि हौसिन्थे । गितार उनको साथमै हुन्थ्यो । जहाँ पुगे पनि गीत गुनगुनाउन आइतबार कुर्दैनथे । साइनोले भतिज पर्ने कलाकार नवल खड्कासितै चलचित्र प्रोडक्सनमा समेत छिरेका थिए । एक दिन निर्माता/निर्देशक राजकुमार राईले ‘त्रिवेणी’मा संगीतको अफर गरे ।
‘मैले त्यो त कल्पनासमेत गरेको थिइनँ । म त थाहै नपाई गायकबाट संगीतकार बनिसकेको रहेछु’, महेश हाँस्दै सम्झिन्छन्, ‘गीतकार प्रमोद ढुंगाना शब्द दिएर चाबहिल जानुभयो । पुतलीसडकमा मेरो सानो अफिस थियो । त्यहाँ कम्पोज गर्न सुरु गरेँ । गीत तयार भयो । उहाँलाई सुनाउन कल गरेको थिएँ, उहाँ घर पुगिसक्नुभएको रहेनछ ।’
गीत तयार भयो । चलचित्रको संगीत तयार भयो । चलचित्र नै तयार भयो । प्रदर्शन भयो । महेशको पहिलो गीत हिट भयो । टीभीमा बज्यो । रेडियोमा बज्यो । महेश भन्छन्, ‘रेडियोमा मेरै गीत सुन्दा सिरिङ सिरिङ हुन्थ्यो ।’
अनि उदितले भने, ‘मेरै लागि कम्पोज गर्नुभएछ’
‘त्रिवेणी’, ‘समर्पण’पछि महेशले तेस्रो चलचित्रमा संगीत भरे, ‘माया बसेछ’ । उदितसँग सहकार्य गर्ने महेशको सपना अझै जीवित थियो । उदित बलिउडमा जमिसकेकोमात्रै होइन, नम्बर वन पार्श्व गायक थिए । व्यस्तता उस्तै अकल्पनीय थियो । चर्चा र सफलताको शिखरमा थिए ।
महेश सम्झन्छन्, ‘माया बसेछ चलचित्रको गीत उदित दाइकै लागि कम्पोज गरेको थिएँ । म सिलाइएको पाइन्ट र सर्ट लगाउँथेँ । उदित दाइले पत्याउनुहुन्न होला झैं लागेको थियो, तर उहाँले धेरै माया गर्नुभयो मलाई ।’
महेशका अनुसार गीत सुनेपछि उदितले सोधे, ‘मेरै लागि कम्पोजिसन गर्नुभयो जस्तो लाग्यो । कि यसै मलाई गाउन लगाउनुभएको हो ?’
‘मैले उहाँकै लागि भनेर कम्पोज गरेको भनेर भनेँ । यसपछि तीनचार दिन हार्मोनियममा बसेर प्राक्टिस गर्यौं’, महेश सुनाउँछन्, ‘स्टुडियोमा उहाँले पाँच घण्टा लगाएर गाउनुभयो । यसपछि मैले कुनै पनि गायकलाई पाँच घण्टा लगाएर गीत रेकर्ड गराएको छैन ।’
अलि पछि चलचित्र प्रदर्शन भयो । चलचित्रका गीतहरू सुपरहिट भए । ‘आज मन उडेर भाग्छ’, ‘कसैलाई नसोधी तिमी मन पराएँ’, ‘चमेलीको फूलमा भुभु भमरा’ जस्ता गीतहरू ब्लकबस्टर भए । यी सबै गीतमा उदितकै स्वर थियो ।
महेश सम्झन्छन्, ‘कसैलाई नसोधी मन पराएँ बोलको गीतको अन्तरामा ‘कहुँ’ भन्ने शब्द थियो । हाम्रो खोटाङतिर बोलीचालीमा बोलिने शब्द हो यो । केही कुरा भन्नलाई ‘कहने’ भनिन्छ । उदित दाइले ‘कहुँ’ भन्ने हिन्दी शब्द हुने र ‘कहुँ’को ठाउँमा ‘भनुँ’ राखौं भन्नुभयो, तर मैले गाउँघरतिर बोलिन्छ भनेपछि यही शब्द राखियो ।’
‘माया बसेछ’पछि महेश-उदितले ६०-७० गीतमा सहकार्य गरे । अनि संगीतकार हुनलाई केके चिज चाहिने रहेछ त ?
महेश सुनाउँछन्, ‘भित्री मनमा आत्मविश्वास चाहिने रहेछ । सांगीतिक ज्ञान र हृदयबाटै शब्दलाई केलाउन सक्ने क्षमता हुनुपर्ने रैछ ।’
उदितको स्वरमा रेकर्ड गराएको गीत दीपक लिम्बूले गाएपछि…
गीतहरू लगालग हिट हुन थालेपछि महेशले पनि लगालग काम पाउन थाले । चलचित्र लिएर भारत जाने उनको रहर पनि मर्यो । बरु नेपाली कलाकारलाई नै अवसर दिइनुपर्छ भनेर लागे । नेपालमा रियालिटी शोहरू पनि आइरहेका थिए । प्रतिभावान गायकगायिकाहरू आइरहेका थिए ।
‘हिम्मत’ चलचित्रको लागि भारतीय गायक अभिजित सावन्तलाई एउटा गीत गाउन लगाए । उदितलाई पनि अर्को गीत गाउन लगाए, ‘मैले त्यही भएर मन पराएको’ ।
तर प्राविधिक कारणवश उदितको स्वरमा रेकर्ड गराएको गीत पहिलो नेपाल तारा दीपक लिम्बूले गाए । गीत सुपरहिट भयो । पाश्र्व गायनमा दीपक लिम्बूको उचाइ थप बढ्यो ।
अलि पछि सिंगापुरको एक कार्यक्रममा दीपक, अञ्जु पन्त र महेश मुम्बईको ट्रान्जिट हुँदै गए । मुम्बईमा जाँदा उदितलाई पनि छुस्स भेटे । उक्त भेट सम्झन्छन् महेश, ‘उहाँको स्वरमा रेकर्ड भएको गीत दीपकले गाएको थाहा पाउनुभएछ । त्यो गीत उहाँले पनि निकै मन पराउनुभएको थियो । अनि उहाँले आफ्नै गला समात्दै जिस्किएर भन्नुभयो, ‘मेरो त गला छैन खड्काजी !’
महेशले दीपकसँग धेरै गीतहरूमा सहकार्य गरे । दीपकका अधिकांश हिट गीतमा महेशकै संगीत छ । ‘नाईं नभन्नु ल’को ‘जूनको ज्योति’देखि ‘मुटु माग्यौ तिमीले’ जस्ता दर्जनौं हिट गीतमा महेश-दीपकले सहकार्य गरेका छन् ।
दीपक रियालिटी शोबाट आएका गायक हुन्, तर पछिल्लो समय च्याउसरी उम्रिएका रियालिटी शोका विजेताहरूको सांगीतिक करियर एकदमै धरमर देखिन्छ । किन होला ?
महेशको विश्लेषण छ, ‘उनीहरू रियालिटी शोबाट निस्किएपछि आफूलाई सुपरस्टार सम्झन्छन् कि कसो कुन्नि ! अरुको गीत गाएरमात्रै करियर धानिन्छ भन्ने ठान्छन् कि कसो कुन्नि ! दुईचार वटा विदेशको कार्यक्रम ग¥यो, सक्कियो भन्ने ठान्छन् कि कसो कुन्नि ! कस्तो गीत गाउने, मेरो गीत खै त भनेर खोज्नुपर्यो होला नि !’
अञ्जु पन्तले सञ्जोगले गाएको ‘नबिर्से….’
अञ्जु पन्त आफ्नो पुस्ताकी सर्वाधिक लोकप्रिय गायिका हुन् भन्दा फरक नपर्ला । उनै अञ्जुको सांगीतिक करियरकै सर्वाधिक हिटमध्ये एक गीत हो, ‘नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई’ । यो गीतमा विपीन किरणको शब्द तथा महेशको संगीत छ ।
योभन्दा अगाडि अञ्जुको सुरुवाती हिट गीत थियो, ‘दिल यो मेरो दिल’ । यी दुवै गीत अञ्जुको करियरको पूर्वार्द्धका हिट गीत हुन् । यस गीतमा पनि महेशकै संगीत थियो ।
‘उहाँसँग मेरो चिनजान ‘माया बसेछ’कै बेलामा भएको हो । त्यो बेला एरेन्जर अमुल कार्कीले मलाई उहाँको डमी आवाज सुनाउनुभएको थियो । आलोकश्रीको संगीतमा जगजीत सिंह र उहाँको श्रीमतीले गाउने एउटा गीतको डमी भ्वाइसमा उहाँको स्वर थियो’, महेश सम्झिन्छन्, ‘अञ्जु पन्तबारे दीपक लिम्बूले पनि सुनाएको थियो । पछि उहाँको स्वर सुनेपछि मनपर्यो । उहाँलाई गीतहरू गाउन लगाउन सुरु गरेँ ।’
‘दिल यो मेरो दिल’ गाएलगत्तै अञ्जुको ‘नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई’ हिट भयो । यो गीत भने अञ्जुले संयोगले गाउन पाएकी थिइन् । नत्र यो गीत पहिलो पटक इन्दिरा जोशीले गाएकी थिइन्, राष्ट्रिय सभागृहमा ।
पछि गीतकार विपीन किरणले एल्बममा एकएक जना कलाकारलाई गाउन दिने भनेपछि इन्दिराले ‘टुट्यो तारा आकाशमा’ गाइन्, अञ्जुले ‘नबिर्सें तिमीलाई’ ।
‘यो गीत रेडियोमा यति धेरै फर्माइस आउन थाल्यो कि छोटो समयमै हिट भयो । अनि यो गीत अञ्जुजीको टर्निङ प्वाइन्ट पनि बन्यो’, महेश अञ्जुबारे बोल्छन्, ‘उहाँको स्वर पनि मीठोे छ । सुरुको ज्ञान भएको मान्छे पनि हो ।’
महेशका गजलदेखि लोकभाकासम्म रुचाइए

प्रेमपत्र लेख्दै पातपातमा हिँडियो कुनै बेला
दिँदै कतिलाई हातहातमा हिँडियो कुनै बेला
रूपक वनबासीको यो गजलमा आशिष ताम्राकारको स्वर छ भने महेशले संगीत भरेको पहिलो गजल हो ।
यो गजल-गीतको प्रसंग सुनाउँछन् महेश, ‘गजललाई अलिकति शास्त्रीय हिसाबले मात्रै लिने गरिन्थ्यो । यो आगन्तुक विधा पनि हो । यही विधालाई पूर्वेली लवजमा बनाउँदा कसो होला त ! लोकलयमा गजल किन हुँदैन त ! अनि यो गजल-गीत बनाएँ ।’
यसपछि महेशले लगातारजसो गजल-गीत गरे । अहिलेका चर्चित गायक प्रमोद खरेलको त सांगीतिक करियर उचालिनुमै महेशको योगदान छ भन्दा फरक नपर्ला !
प्रमोदले चलचित्रमा गाएको ‘यो अंगालोभरिको माया’ र ‘लागी लागी’ जस्ता गीतमा महेशकै संगीत थियो । प्रमोदलाई सेलिब्रेटी गायककै रूपमा स्थापित गरेको ‘प्रणय’ एल्बमका ‘मविना कसै-कसैलाई मुस्किल छ पोखरामा’ र ‘याद गर्न पनि कोही न कोही चाहिँदो रहेछ’मा महेशकै संगीत छ ।
महेश प्रमोदका सुरुवाती दिन सम्झन्छन्, ‘प्रमोद भाइ रेक्चरर थिए । संगीतमा लागिरहेको प्यासी मान्छे थिए । राम्रो गीत गाउन पाए हुन्थ्यो भन्ने सोच भएको मान्छे थियो । मसित आएर अब कलेज छाडेर संगीतमै लाग्नुपर्यो भन्थे, तर दह्रोसँग खुट्टा नटेकुञ्जेल पढाउन नछाड भन्थेँ ।’
एक दिन प्रमोदले एल्बम गर्ने कुरा गरे । महेश गीत खोज्न राजेन्द्र थापाकहाँ गएँ । त्यहाँबाट ‘याद गर्न पनि’ बोलको गजल लिए । ‘मविना कसै-कसैलाई’ चाहिँ महेशले अरुकै लागि कम्पोज गरिदिएका थिए । त्यो मान्छेले नगाएपछि गीत थन्किएको थियो ।
यो गीत महेशले चलचित्रका निर्माता/निर्देशकलाई पनि सुनाए । उनीहरूको प्रतिक्रिया हुन्थ्यो, ‘गीत राम्रो छ, तर पोखरा गएर सुट गर्नुपर्ने रैछ, महँगो पर्छ ।’
एक दिनको कुरा हो, एउटा पार्टीमा एरेन्जर किरण कँडेलले महेशलाई सुझाए, ‘तपाईं पनि गायक हुनै आएको हो । यो गीत तपाईंले नै गाउनुस् ।’
किरणले उचालेपछि महेश गाउन तयार भए ।
‘किरणजी र मेरो कुरा प्रमोदले सुनिरहेको थियो । उसले म गाउँछु गीत भनेर अनुरोध गर्यो’, महेश हाँस्दै सुनाउँछन्, ‘मैले पनि यस्तो वरिष्ठ एरेन्जरले गाउनु भनेपछि गाउन आँटेको थिएँ भाइ भनेर प्रमोदलाई जिस्काएँ ।’
महेश थप्छन्, ‘गीत रिलिज भएपछि यस्तो हिट भयो कि हरेक बसमा ‘मेरो दिल छ पोखरामा’ लेखिएको हुन्थ्यो । राम्रो सृजना आउँदा लहर पैदा हुँदोरहेछ ।’
हजारौं गीत सृजे पनि आर्थिक समस्यामै छन् महेश
महेशले १०८ वटा चलचित्रमा संगीत भरे । दुई हजारभन्दा ज्यादा गीतहरू बनाए । चलचित्र र गीतको संख्या थाहा पाएपछि तपाईंलाई लाग्नसक्छ, यति धेरै गीतमा संगीत गरेका स्रष्टाको आर्थिक अवस्था राम्रै होला ! टन्नै कमाएका होलान् । करोडौं सम्पत्ति होला । रोयल्टी पनि टन्नै पाउलान् । रोयल्टीको सुनिश्चितता प्रतिलिपि अधिकार ऐन २०५९ ले गरिदिएकै छ ।
साथै संशोधित रोयल्टीसम्बन्धी मस्यौदामाथि सरकारले काम पनि गरिरहेको छ, तर महेशको यथार्थ भने अलग छ । आफू आर्थिक समस्यामा रहेको बताउँछन् उनी ।
आफ्नो आर्थिक अवस्थाबारे विस्तारमा भन्छन्, ‘म आर्थिक समस्यामै छु । मैले गीत गर्दा केही पारिश्रमिक पाइन्थ्यो । त्यो पारिश्रमिक गाडी चढ्दा, चिया खाजा खाँदामै सकिन्थ्यो । चलचित्रमा ५-६ वटा गीत हुन्थे, प्याकेजमा लिनुपर्थ्यो । पैसा खासै धेरै हुन्थेन ।’
महेश थप्छन्, ‘काम गर्दागर्दै पाएको पारिश्रमिक सक्किइसकेको हुन्थ्यो । संसारमा सर्जकहरू आफ्नो आर्थिक जीवन सुरक्षित गरेर बसेका छन्, तर नेपालमा हामी आर्थिक समस्यामा गुज्रिरहनुको पछाडि चाहिँ रोयल्टी प्राप्त नगरेर हो । खासमा हामीले स्टेजमा गीत बजेको आधारमा पनि रोयल्टी पाउनुपर्ने हो । आफ्नो लगानी नै नभएको गीतको ट्र्याक बोकेर गायक संसारभर डुल्छ, लाखौं कमाउँछ । हामी वास्तविक सर्जकले केही पनि पाउँदैनौं ।’
महेश अलि आक्रोशित सुनिन्छन्, ‘मलाई गरिब बनाउने त कैयौं भातमाराहरू छन् । स्याल, ब्वाँसो र हुँडारहरू छन् । बुढासुब्बा म्युजिकमा जाने हो भने मैले संगीत गरेका धेरै चलचित्रका गीत छन् । मैले त्यहाँबाट पर्याप्त रोयल्टी पाएको छैन । यसका लागि अदालत जानुपर्ने अवस्था छ । यस्तैयस्तै कारणले म आर्थिक रूपमा सुरक्षित छैन ।’
महेश भावुक बन्छन्, ‘अमर स्रष्टा बिरामी पर्दा वा धरती छाडेर जाँदा फेसबुकतिर सहयोगको अपिल गरिरहनुपरेको हुन्छ । राज्यले पनि हाम्रो समस्यालाई सम्बोधन गर्ने कोसिस गर्दैन । तिनै स्रष्टाका सृजनाहरू भने दर्शक/स्रोताका जिब्रोमै झुण्डिएका हुन्छन् ।’

Leave a Reply