खराब मौसमले हवाई उडान प्रभावित, विमानस्थलमा यात्रु अलपत्र

काठमाडौं । खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ । आइतबार दिउँसोदेखि नै मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार मौसममा आएको खराबीका कारण उडान प्रभावित भएको हो । आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडान पनि डिले भएका छन् ।

काठमाडौंबाट ६ बजे भारतको दिल्ली उडान भर्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको उडान एक घण्टा ढिलो भएको छ । त्यस्तै, काठमाडौंबाट विराटनगर, पोखरा, भैरहवा लगायतमा उडान भर्नुपर्ने आन्तरिक उडानहरू पनि डिले भएका छन् ।

काठमाडौंबाट विराटनगरका लागि दिउँसो तीन बजेदेखि विमानस्थलमा पुगेका पत्रकार विवेक गौतमले हालसम्म उडान हुन नसकेको गुनासो गरे ।

उनका अनुसार अहिले विमानस्थलमा सयौँ यात्रुहरू अलपत्र परेका छन् । उडान अवरुद्ध हुँदा विमानस्थलमा आन्तरिक यात्रुहरूको चाप बढेको छ ।

तस्बिरः विवेक गौतम

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *