ललितपुर । इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कले तयार पारेको एघार केस स्टडी समेटेर प्रकाशित गरेको पुस्तक ‘इम्बार्क रिसर्च रिभ्युस् दिगो नेपालको बाटो – दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’को विमोचन भएको छ ।
आर्थिक समावेशीकरण र दिगोपनका विषयमा नेपाल सरकार, प्रदेश सरकार, निजी क्षेत्र र शिक्षाविद्हरूबीच सहकार्य सशक्त पार्दै नेपालमा सक्रिय व्यवसायहरुमा आधारित उक्त अध्ययनको आइतबार विमोचन भएको हो ।
प्रमुख अतिथि रोहम्प्टन विश्वविद्यालयका उपकुलपति प्रा. डा. जीन नोएल एजिन्गार्डले कार्यक्रममा पुस्तक सार्वजनिक गरे ।
कार्यक्रमको अध्यक्षता इम्बार्क कलेजका कार्यकारी निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले गरे । उनले स्वागत मन्तव्यमा इम्बार्क कलेजको उद्देश्य, शिक्षा र अनुसन्धानमार्फत दिगो नेपालको निर्माणमा कलेजको प्रतिबद्धता तथा युनिभर्सिटी अफ रोहम्प्टनसँगको अन्तर्राष्ट्रिय सहकार्यले ल्याएको नयाँ नीति र कार्यक्रमहरूको महत्वबारे विशेष चर्चा गरे ।
प्रमुख अतिथि रोहम्प्टन विश्वविद्यालयका उपकुलपति प्रा. डा. जीन नोएल एजिन्गार्डले अनुसन्धान र नीति निर्माणमा अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकतामा जोड दिए । उनले भने, ‘विश्वविद्यालयहरूको साझा प्रयासले मात्रै वित्तीय समावेशीकरण र स्थिरताका चुनौतीहरूलाई प्रभावकारी समाधान गर्न सकिन्छ ।’

स्थिरता र वित्तीय समावेशीकरण सम्बन्धी बहस सत्रमा वरिष्ठ अर्थशास्त्री प्रा. डा. विश्वम्भर प्याकुरेल र काठमाडौँ फिनटेकका संस्थापक डा. सन्जिब सुब्बाले डिजिटल प्रविधि र नवप्रवर्तनमार्फत वित्तीय पहुँच विस्तार र दिगोपना सुनिश्चित गर्न आवश्यक नीतिगत सुधारहरूमा छलफल गरे । बहस सत्र कलेजका प्रिन्सिपल डा. स्टिफन ड्राइभरले संचालन गरे ।
कार्यक्रमको समापनमा प्रिन्सिपल डा. स्टिफन ड्राइभरले शिक्षा, अनुसन्धान र नीति निर्माणबीचको सहकार्यले मात्रै दिगो समाधान सम्भव भएको बताउँदै सबैलाई आर्थिक समावेशीकरण र स्थिरताको लागि साझा प्रयास गर्न आग्रह गरे ।
कार्यक्रममा पुस्तकमा समावेश एघारवटा उत्कृष्ट नेपालमा सक्रिय व्यवसायहरुमा आधारित केस स्टडीका अनुसन्धाताहरूलाई प्रमाणपत्र पनि प्रदान गरियो ।
इम्बार्क कलेजले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिमा युनिभर्सिटी अफ रोहम्प्टनसँगको सहकार्यमा सञ्चालन गरेको बीएस्सी बिजनेस म्यानेजमेन्ट र एमबीए कार्यक्रममा पनि यस अनुसन्धान र नीति निर्माणको अनुभवलाई समावेश गर्दै दिगो आर्थिक विकासमा योगदान पुर्याइरहेको छ ।

Leave a Reply