आन्दोलन किन ? शिक्षकहरूको प्रतिप्रश्न- हाम्रो मर्यादाक्रम के हाे, तल्लो तहका कर्मचारीसामु झुक्नुपर्ने ?

तपाईंहरूका सबै माग एकसाथ पूरा भयो भने के निजी बोर्डिङ स्कुलका २० प्रतिशत विद्यार्थी सामुदायिक अर्थात् सरकारी विद्यालय आउँछन् त ? मेरो यो प्रश्नमा एक शिक्षकले मलाई प्रतिप्रश्न गरे– ‘के यो आन्दोलन हामी शिक्षकको मात्र हो ? बैशाख महिनामा निजी बोर्डिङ स्कुलमा भर्ना गर्न हजारौं वा अझ भनाैं लाखाैं रूपैयाँ रकम जुटाउन संघर्ष गरिरहेका ती तमाम अभिभावकहरूको पनि आन्दोलन होइन र यो ? तपाईं हामीले राज्यलाई बुझाएको करबाट चलेको सरकारी सम्पत्ति कसको हो ? तपाईं हाम्रो करको पैसा कहाँ खर्च भैरहेको छ भनेर बुझ्ने र सोध्ने तपाईं हामी सबैको आन्दोलन होइन र यो ?’

ख्यालख्यालमै सुरु गरेको मेरो संवाद त्यसबेला गम्भीर मोडमा पुग्यो, जुन बेला कुरा गर्दागर्दै ती शिक्षकका आँखा आँसुले भरिए । उनी गम्भीर हुँदै बेलाबेला मलाई प्रतिप्रश्न गरिरहे । मध्य पूर्वी पहाड, भित्री तराई र पश्चिमी पहाडी भेगका एकएक जना शिक्षकसँग गरिएको छोटो, तर रोचक संवादलाई आहिले चलिरहेको शिक्षक आन्दोलनसँग जोडेर यहाँ चर्चा गर्ने जमर्को गरिएको छ ।

यद्यपि आज आन्दोलनको २६औं दिनमा आइपुग्दा बानेश्वर अलि तनावपूर्ण बन्यो । शान्तिपूर्ण भनिरहेको शिक्षक आन्दोलन निषेधित क्षेत्र तोड्ने प्रयासपछि प्रहरीसँग ठेलमठेल बढी नै भयो । सोक्रममा केही शिक्षक घाइते भएका छन् ।

शिक्षक आन्दोलनलाई बेवास्ता गर्दै आफ्नो दिनचर्या चलाइरहेका र आन्दोलनको कारण बाटोमा जाम खेपेर दुःख पाएकाहरूले शिक्षकहरूलाई गाली गर्दै हिँडिरहेको म एक दिन आन्दोलनस्थल रोकिएँ । मनमा लाग्यो, हैन २-४ दिन पो हुन्छ आन्दोलन, यत्तिका दिनसम्म यी शिक्षकहरू किन आन्दोलनमा छन् भन्ने जिज्ञासा थियो ममा । मेरो बुझाई सम्पूर्ण सत्य हुन पनि सक्छ, नहुन पनि सक्छ, तर यसका केही बुँदाहरू भने अवश्य रोचक र केही साँच्चिकै गम्भीर छन् ।

एक शब्दमा भन्न सक्नुहुन्छ तपाईंहरूको मागको सारांश ? यो सोद्धा मैले भुसुक्कै बिर्सेछु कि एक शब्दमा उत्तर लेख भनेर प्रश्न बनाउने शिक्षकसँग मैले पनि यस्तै प्रश्न गर्दैछु भनेर । ती शिक्षकले एक शब्दमा उत्तर दिए, ‘मर्यादा’ । सिनोनेम पनि भने ‘सम्मान’ । शिक्षकलाई सरकारले कुन मर्यादा क्रममा राखेकाे छ ? पैसा, तलबभत्ता जस्ता आर्थिक विषयमा लडाइँ गरिरहेका होलान् यी शिक्षकहरूले भन्ने मेरो सोचमा उनको जवाफले बज्र प्रहार भयो । उनले थप व्याख्या गर्न थाले– ‘सम्मान आर्थिक रूपमा मात्रै सोच्नुभयो होला हैन ? तपाईंले मात्रै हैन, अधिकांश देशवासीको सोच यही छ । त्यसैले त हाम्रो आन्दोलनमा न सरकार गम्भीर देखिन्छ, न त आमजनताले हामीप्रति सहानुभूति देखाउने र खुलेर समर्थन जनाएको देखिन्छ ।’

ती शिक्षकले मेरो आँखामा आँखा जुधाएर गम्भीर हुँदै उल्टै मलाई प्रतिप्रश्न गरे– ‘के तपाईंहरूले ती झोले मास्टरको झोला खोलेर कहिल्यै हेर्नुभएको छ ? त्यसमा के छ भनेर बुझ्ने प्रयास गर्नुभयो र ?’

सबैजनासँग संवाद गर्नुअघि म यी शिक्षकहरूसँग आक्रामक भएर कुरा गर्छु भन्ने सोचका साथ बोलिरहेको थिएँ । यद्यपि मेरो उद्देश्य यी शिक्षकहरूको अपमान गर्नु नभई उनीहरूको चुरो कुरो बुझ्नु र रिसमा यथार्थ बोल्छन् भन्ने ध्येय थियो । ‘सम्मान चाहियो ? हामीले बुझेको र देखेको त सबैभन्दा सम्मानित भनेकै शिक्षक हुन्, तपाईंहरूलाई त सबैले सम्मान नै गर्छन्, फेरि केको चित्त दुखाई ?’

अलि आक्रोशमा उनले उत्तर दिए– ‘भनेरमात्र हुन्छ, व्यवहारमा कार्यान्वयन हुन्छ र ? एउटा सामुदायिक स्कुलको हेडमास्टर वडाको सुब्बा वा सचिवसरह कर्मचारीलाई नमस्कार गर्दै जानुपर्छ । नमस्कार गर्नु नराम्रो होइन, तर मर्यादाक्रम भने अवश्य कायम गर्नुपर्छ । अधिकांश सार्वजनिक कार्यक्रममा अधिकृत वा उपसचिवसरहका हेडमास्टरलाई समेत पालिकाको सुब्बा वा सामान्य अधिकृतभन्दा पछिको दर्जामा राखेर सम्बोधन गरिन्छ, जुन चित्तबुझ्दो होइन । हामीले मर्यादाक्रम कायम गर्नुपर्छ भनेका छौं । समाजले सम्मान गरे पो विद्यार्थीले सम्मान गर्छन् ।’

कुराकानीमा अलि सहज भएको बेला मैले ठट्यौलीपारामा सोधेँ– ‘तपाईंहरूले बोकेको झोला देखेर झोले मास्टर भन्छन् त ! यसमा तपाईंको प्रतिक्रिया के छ ? यो वाक्य सुन्नासाथ ती शिक्षकले मेरो आँखामा आँखा जुधाएर गम्भीर हुँदै उल्टै मलाई प्रतिप्रश्न गरे– ‘के तपाईंहरूले ती झोले मास्टरको झोला खोलेर कहिल्यै हेर्नुभएको छ ? त्यसमा के छ भनेर बुझ्ने प्रयास गर्नुभयो र ?’

मैले केही असहज महसुस गरेपछि उनले आफ्नो आक्रोश शान्त पार्दै थपे– ‘हामी मास्टरको गर्व हो कलम र झोला । त्यस झोलामा जहिले पनि १-२ वटा किताब र कापी हुन्छन्, २-४ वटा कलम र पेन्सिल हुन्छन् । दिनभरि विद्यार्थीहरूसँग कराउँदा सुकेको घोक्रो अर्थात घाँटी भिजाउने पानी हुन्छ । अधिकांश शिक्षक लामो यात्रा गरेर पढाउन जाने हुँदा १ थान टोपी, रुमाल हुन्छ र सबैभन्दा महत्वपूर्ण अधिकांश समय त्यसमा विद्यार्थीहरूको जाँचका कापी हुन्छन्, जुन एउटा शिक्षकले आफ्नो निजी र पारिवारिक समयलाई कटौती गर्दै घरमा जाँच्ने गर्छन् ।’

‘अरु शिक्षकका धारणा के छन् मलाई थाहा छैन, तर कसैले मलाई झोले शिक्षकभन्दा म उसको ज्ञानप्रति मुस्कुराउँछु । यो झोला एउटा शिक्षकले आफ्नो शिक्षण पेशा सुरु गरेदेखि अन्तिमसम्म बोकिरहेको हुन्छ’, उनले थपे । तपाईंहरूको यो आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक लिएको देखिँदैन त ! यो तपाईंहरूको आफ्नै कारणले हो भन्दा गल्ती नहोला नि भनेर मैले फेरि सोधेँ ।

अधिकांश सार्वजनिक कार्यक्रममा अधिकृत वा उपसचिवसरहका हेडमास्टरलाई समेत पालिकाको सुब्बा वा सामान्य अधिकृतभन्दा पछिको दर्जामा राखेर सम्बोधन गरिन्छ, जुन चित्तबुझ्दो होइन । हामीले मर्यादाक्रम कायम गर्नुपर्छ भनेका छौं । समाजले सम्मान गरे पो विद्यार्थीले सम्मान गर्छन् ।

‘हिजो पढाउन छोडेर राजनीति गर्न लागेको कुपरिणाम होइन र यो भन्ने मेरो उत्तेजक प्रश्न सुन्नासाथ उनी निराश भए । हामी शिक्षकको समस्या नै यही हो एउटा । सम्भवतः विगतमा हामी राजनीतिक रूपमा प्रयोग भएकै हौं कि ? हामी शिक्षकले भनेका कुरा ठीक हो भन्ने हाम्रो समाजले स्वीकार्छ । ‘मास्टरजी कहल है त ठिकै न होतै’ अर्थात् मास्टरजी ले भन्नुभयो, यसको मतलब पक्कै पनि ठीक भन्नुभयो भन्ने समाजले विश्वास गर्छ’, ती शिक्षकले सविस्तार जवाफ दिए ।

उनले थपे– ‘यसै विशेषतालाई पूर्ण रूपमा बुझेर राजनीतिक दलले आफ्ना अजेन्डा, आफ्ना मुद्दालाई शिक्षकको माध्यमबाट समाजलाई भुल्याउन सफल भएकै हो । त्यसैको परिणामस्वरूप हामी शिक्षकलाई बेलाबेलामा राजनीति गर्ने शिक्षक भन्ने आरोप लाग्ने गर्छ । यो कुरा केही हदसम्म सत्य पनि हो, तर अर्को सत्य यो पनि हो कि हाम्रो यसपालिको आन्दोलनलाई जसरी बेवास्ता गरिएको छ, यसको क्षति यिनै राजनीतिक दललाई हुनेछ । एक शिक्षकको घरमा कम्तीमा ३-४ भोट र उसले बोले पत्याउने अनेक भोट हुन्छन्, यसको क्षति भने यी राजनीतिक दललाई अवश्य हुनेछ ।’

दादा ड्राइभिङ, जम्बो इको भेहिकल र नासा नेपाल जस्ता यातायात क्षेत्रसँग जोडिएको हुनाले मैले सडकबारे कुरा त गर्ने पर्‍यो । मैले सोधेँ– ‘नेपालको मुख्य एयरपोर्ट र पर्यटकलाई स्वागत गर्ने एयरपोर्ट–माइतीघर सडक यत्तिका दिनदेखि पूरै कब्जा गरेर अस्तब्यस्त बनाउनुभएको छ त ! यस्तो गर्न मिल्छ ? ती शिक्षकले मुस्कुराउँदै भने– ‘हामीलाई आन्दोलान गर्न दिइएको स्थान नै माइतीघरको सडक हो, हामी शिक्षकलाई आन्दोलन गर्न बागमती किनार दिए भने पनि हामी मर्यादित भएर त्यही बसेर आन्दोलन गर्न सक्छौं, तर एउटा कुरा हेक्का रहोस्, हामी शिक्षकहरूले शान्तिपूर्ण मर्यादित आन्दोलन गरेको कुरा अन्तर्राष्ट्रिय समुदायले समेत पक्कै हेरिरहेको छ, सरकारले बेवास्ता गरेको पनि अवश्य जगजाहेर छ । यसले हाम्रो देशको छवि भने अवश्य बिग्रिरहेको छ ।’

एक शिक्षकसँग कुरा गर्ने क्रममा मैले सोधेँ– ‘के तपाईंहरू विद्यार्थीको पढाइ र उनीहरूले निकालेको नतिजामा साँच्चिकै संवेदनशील हुनुहुन्छ र ?’

‘संवेदनशील रे’, अलि चर्को स्वरमा ती शिक्षकले भने– ‘स्टुडेन्टस् रिजल्ट एन्ड आवर हार्डवर्क आर डाइरेक्टली रिलेटेड टु इच अदर ।’ अर्थात विद्यार्थीको नतिजा र हामी शिक्षकको मेहनतको सीधासीधा सम्बन्ध हुन्छ । दिनको अधिकांश समय हामीसँग बिताएका, मरीमरी पढाएका विद्यार्थीको नतिजा खराब आएमा वा फेल भएमा हामी शिक्षकहरू मनमनै र कहिलेकाहीं देखिने गरी पनि रुन्छौं । यो विद्यार्थीको नतिजा बिग्रनु हुँदैन थियो । किन बिग्रियो भन्ने सोचले कहिलेकाहीँ ३–४ रातसम्म राम्रो गरी निन्द्रा लाग्दैन । नपत्याए शिक्षकको घरपरिवारलाई सोध्नु भन्दै बोल्दाबोल्दै ती शिक्षक रोकिए । आँखाभरि आँसु भरिएका ती शिक्षक बोल्न पनि सकेनन् । आफ्नो झोलाबाट रुमाल निकाल्दै आँसु पुछ्दै ती भन्छन्, ‘हामी स्कुललाई कार्यालय र विद्यार्थीलाई पैसाको माध्यम भनेर नसोची विद्यालयलाई घर–मन्दिर र विद्यार्थीलाई परिवारिक सदस्य सम्झिन्छौं । त्यसैकारण कहिलेकाहीँ देशको जुनसुकै स्थानको विद्यार्थीले आत्महत्या गरेको वा मृत्यु भएको सुन्छौं । हामी सम्पूर्ण शिक्षक भित्रभित्रै रुन्छौं ।’

अलि युवा शिक्षकले तलबको विषयमा बडो गम्भीरताका साथ आफ्नो कुरा राखे । मैले रमाइलो पारामा सोधेँ– ‘तपाईंहरूलाई ३-३ महिनामा तलब आउँदा त एकमुस्ट धेरै आउँदो हो, कस्तो महसुस हुन्छ ?’

‘अरु सबैले महिनैपिच्छे तलब खाँदा हुने, हामी शिक्षकले किन ३-३ महिना कुर्नुपर्ने ? विश्वव्यापी रूपमा १५-१५ दिन वा हप्ता-हप्तामा तलब आउने प्रणाली लागू भैसकेको छ । हामी शिक्षकले के अपराध गरेका छौं र ? हामीलाई ३-३ महिने तलब प्रणालीमा राखिएको हो ? यो शिक्षकहरूलाई एक किसिमले अपमान र अवहेलना नै गरेको हो । यसमा सुधार हुनुपर्छ ।’

‘अरु सबैले महिनैपिच्छे तलब खाँदा हुने, हामी शिक्षकले किन ३-३ महिना कुर्नुपर्ने ? विश्वव्यापी रूपमा १५-१५ दिन वा हप्ता-हप्तामा तलब आउने प्रणाली लागू भैसकेको छ । हामी शिक्षकले के अपराध गरेका छौं र ? हामीलाई ३-३ महिने तलब प्रणालीमा राखिएको हो ? यो शिक्षकहरूलाई एक किसिमले अपमान र अवहेलना नै गरेको हो । यसमा सुधार हुनुपर्छ ।’

मन नलागीनलागी पनि मैले एउटा अप्ठेरो प्रश्न सोधेँ– ‘शिक्षकहरूलाई त बेलाबेलामा भ्रष्टाचार गरेको आरोप लाग्ने गर्छ, कापी–किताबमै हिनामिना गर्छन् यी मास्टरहरू ! कुरा के हो ?’ मेरो प्रश्नको उत्तरमा उनले प्रतिप्रश्न गरे– ‘कति जना मास्टरलाई गाडी चढेको देख्नुभएको छ ? भ्रष्टाचार गरेको भए त ठूल्ठूला घर बनाएको र ठूल्ठूला गाडी चढेको देख्नुपर्ने त ! अधिकांश शिक्षक सादगीपूर्ण र सरल जीवन बिताइरहेका हुन्छन् ।’

सबै शिक्षकसँग कुरा गर्दा सबैलाई एउटै प्रश्न सोधेँ– ‘तपाईंहरूको आन्दोलनको प्रमुख माग के हो ?’ सबै शिक्षकहरूको जवाफ एउटै जस्तो थियो । ‘हाम्रो पेशा एकदमै मर्यादित पेशा हो, हामी अपशब्द बोल्न सक्दैनौं, हामी उच्छृङ्खल हुन सक्दैनाैं, हाम्रो दैनिकी र आन्दोलन दुबै एकदमै मर्यादित हुन्छ । हामी शिक्षक यो समाजको र देशको मार्गदर्शक हाैं । हामीलाई देखेर नवपुस्ताले सिकिरहेको हुन्छ । यसै मर्यादामा हामी बाँधिएर दैनिकी चलाउँछाैं र यो आन्दोलन पनि मर्यादित नै चलिरहेको छ । यसैको उपज होला, हामीलाई बुझ्न सरकारलाई समय लागिरहेको ! हामी समय दिन्छौं, कुर्छौं, पुरुष शिक्षकले सारी लगाएर भए पनि नाचगानको माध्यमबाट विरोध गर्छाैं, कार्ड, ब्यानर देखाएर विरोध गर्छौं । कुनै न कुनै समय आउँछ, जब यो सरकार र सरोकारवालाहरूको आँखा खुल्नेछ, तब सबै राम्रो भइहाल्छ भन्ने हाम्रो अपेक्षा र विश्वास छ ।’

यो लेखको सुरुमा मैले सोधेको प्रश्नको सन्दर्भ थियो– के तपाईंहरूका सबै माग एकसाथ पूरा भयो भने २० प्रतिशत विद्यार्थी प्राइभेट स्कुलबाट सामुदायिक/सरकारी स्कूलमा सर्छन् होला ?

यसको उत्तरमा सबैजसो शिक्षकको उत्तर थियो– ‘फोकस अन फ्याक्टस्, नट अन फिगर्स ।’ अर्थात् तथ्यांकमा भन्दा तथ्यमा ध्यान दिनुपर्छ । यसको ज्वलन्त उदाहरण हो– आजका निजामती सेवाका सबैजसो उच्च ओहोदाका कर्मचारी सरकारी वा सामुदायिक विद्यालयबाट आएका हुन् । यो भन्दा हामी निजी विद्यालयका विरोधी भने होइनौं, तर पनि सरकारी विद्यालयलाई उपेक्षा भने गर्न मिल्दैन ।’ उनका भनाइअनुसार काठमाडौंको दरबार हाईस्कुुल र विश्व निकेतन, बुटवलको कालिका मानवज्ञान, चितवनको नारायणी मावि, पोखराको माछापुच्छ्रे, रामेछापको डडु मावि, पाल्पाको दमकडा मावि जस्ता सरकारी विद्यालयहरू छन्, जुन अब्बल छन् । शिक्षा ऐन लागू भयो भने यसले समग्र शिक्षा क्षेत्रलाई नै सुधार गर्नसक्छ । यद्यपि थोरै समय भने अवश्य लाग्नसक्छ ।

उनले थपे– ‘सन्तोष सर, हाम्रो आन्दोलन केवल हामी शिक्षकको आन्दोलन हो र ? के यो ती तमाम अभिभावकहरूको आन्दोलन होइन र, जसले आफ्ना छोराछोरीलाई यो वैशाख महिनामा भर्ना गर्न हजारौं-लाखौं रूपैयाँ जोहो गरिरहेका छन् र अमिलो मन पारेर विद्यालयहरूमा ठूलो धनराशि बुझाइरहेका छन् ?’

उनको यस यथार्थ प्रश्नको उत्तर मलाई थाहा थियो, तर उत्तर दिनुको सट्टा यो लेख लेखेर शिक्षकहरूको आन्दोलनको मर्म र यथार्थ प्रकाशमा ल्याउन उचित ठानेँ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *