नाट्टाले बौद्ध अन्तर्राष्ट्रिय ट्राभल्स मार्टका लागि लुम्बिनीमा गर्‍यो तयारी

रुपन्देही । लुम्बिनीमा बौद्ध अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट (बिआईटिएम) हुने भएको छ । आगामी जेष्ठ ९, १० र ११ गते काठमाडौँ र लुम्बिनीमा आयोजना हुने मार्ट कसरी संचालन गर्ने भन्ने विषयमा नेपाल एशोयिसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट ९नाट्टा० केन्द्रले लुम्बिनीमा सरोकारवालासँग छलफल गरेको छ ।

शनिबार भैरहवामा नाट्टा लुम्बिनी प्रदेश र बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट लुम्बिनी प्रदेशका पदाधिकारीबीच भएको छलफलमा नाट्टा केन्द्रीय अध्यक्ष कुमारमणि थपलियाले विगतका वर्षभन्दा यस वर्ष अझ व्यवस्थित गर्नेगरी सरोकारवालासँग छलफल गरिरहेको बताए ।

अध्यक्ष थपलियाले भने, ‘विगतका बर्षमा लुम्बिनीमा मात्रै हुने बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट यस बर्ष काठमाडाैंमा र लुम्बिनीमा गर्न थालिएको हो । सबैको अपनत्व हुनेगरी कार्यक्रम सम्पन्न गर्न हामीले सरोकारवालासँग छलफल गरिरहेका छौं ।’

अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त स्वदेशी तथा विदेशी ट्राभल्सहरुको सहभागिता रहने मार्ट नेपालको पर्यटन प्रबद्र्धनमा विशेष योगदान दिने तेस्रो बुद्धिस्ट अन्तराष्ट्रिय ट्राभल्स मार्टका संयोजक जिस्वा तुलाधार श्रेष्ठले बताइन् ।

संयोजक श्रेष्ठले भनिन्, ‘बिआईटिएमले बुद्धिस्ट टूर गन्तब्यसँगै नेपालका अन्य पर्यटकीय गन्तब्यलाई पनि प्रमोशन गर्नेगरी कार्यक्रम तय गर्दैछौं ।’ संयोजक श्रेष्ठले लुम्बिनी क्षेत्रका पर्यटन क्षेत्रका सरोकारवालासँगको सहकार्य र सक्रियातामा तेस्रो बुद्धिस्ट अन्तराष्ट्रिय ट्राभल्स मार्ट गर्ने तयारी गरेको बताइन् ।

छलफलमा पर्यटन विकास परिषद लुम्बिनी प्रदेशका सदस्य राजेश महतराले लुम्बिनीका पर्यटकीय गन्तब्यको प्रचार प्रसारमा बिआईटिएमको कार्यक्रम केन्द्रित हुनुपर्ने बताए ।

सो कार्यक्रममा पर्यटन व्यवसायी लक्की सिंहले बिआइटिएममा बुद्धिस्ट ट्राभल्सको विज्ञहरुबीच प्यानल छलफल समेत गराउनुपर्ने सुझाब दिए । उक्त छलफलमा बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्टलाई विगतको कमीकमजोरीलाई हटाउँदै सबैको एकताबद्धतासहित आमनागरिकको समेत सहभागितामा कार्यक्रम गर्दा राम्रो हुने नाट्टा लुम्बिनीका संस्थापक अध्यक्ष विष्णुप्रसाद शर्माले बताए ।

बुद्धिस्ट साइडहरुमा विदेशी ट्राभल्सहरुको सहभागितामा फार्म ट्रिप, विज्ञहरुबीच प्यानल डिसकसन अनि लुम्बिनी क्षेत्रका पर्यटकीय गन्तब्यको प्रचार गर्नेगरी नाट्टाको अगुवाईमा हुने बिआइटिएम उपलब्धीमूलक गराउन सबैको सहकार्य जरुरी रहेको नाट्टा लुम्बिनीका पूर्वअध्यक्ष सागर अधिकारीले बताए ।

छलफलमा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले लुम्बिनी क्षेत्रमा हुने बिआईटिएमले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीमा श्रृजना भएको निराशालाई चिर्न मद्धत पुराउने विश्वास व्यक्त गरे ।

अध्यक्ष आचर्यले बिआइटिएमले पर्यटन उद्योगको पुनरुत्थानमा पनि सहयोग पुराउने हुनाले सबै उद्योगी व्यवसायी कार्यक्रम सफल बनाउन लागिपर्ने बताए । लुम्बिनीमा आयोजना हुने बिआईटिएम सफल गराउन प्रदेशस्तरीय समिति पनि गठन गरिएको नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर थापाले बताए । यसअघि पहिलो र दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट सम्पन्न भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *