सुपर फ्लप भयो सुरक्षाको ‘खेल’, शनिबार पनि दर्शक गयल

काठमाडौं । सुरक्षा पन्तको प्रमुख भूमिका रहेको चलचित्र ‘खेल’ सुपरफ्लप भएको छ । हिजो शनिबारको बिदामा चलचित्रले पिकअप लिने निर्माताको झिनो आशामा पनि तुषारापात भयो ।

शुक्रबार रिलिज भएको फिल्म पहिलो दिन नै ‘डिजास्टर’ सुरुवात भएको थियो । देशभर डेढ सयजति शो प्राप्त गरे पनि चलचित्रले दर्शक तान्न सकेन । अधिकांस शोमा हलहरु खाली भए । कयौं शोहरु दर्शकको अभावमा स्थगित गरिए ।

शनिबार पनि अवस्थामा खासै सुधार नआएको निर्माण पक्षले बताएको छ । सामाजिक सञ्जालमा तातेको माहोलले फिल्मको ‘नेगेटिभ पब्लिसिटी’ भइरहे पनि व्यापारमा भने त्यसले कुनै प्रभाव नपारेपछि निर्माताहरु निराश बनेका छन् ।

निर्माता निकट स्रोतले भन्यो, ‘फिल्मले शो यथेष्ट पाएको हो, तर खोइ किन हो दर्शक आइदिनु भएन ।’

यो चलचित्रलाई प्राविधिकरुपमा बलियो बनाउन निर्माण पक्षले राम्रै खर्च गरेका थिए । चलचित्रमा झण्डै दुई करोड रुपैयाँ खर्च भएको बताइएको छ । यति लगानी हलहरुबाट उठाउन ५ करोडभन्दा बढी ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ । तर, चलचित्रको कलेक्सन अंकमा बताउन पनि लाजमर्दो रहेको निर्माण स्रोत बताउँछ ।

चलचित्र रिलिजको पूर्वसन्ध्यामा सुरक्षाले दिएको एउटा अन्तरवार्ता विवादमा आएको थियो । उनले पूर्वराज परिवारलाई अपमान र खिसिट्यूरी गरेको भन्दै राजावादीहरु उनीमाथि खनिएका छन् । चलचित्रलाई बहिष्कार गर्ने अभियानसमेत चलेको थियो ।

उत्पन्न विवाद र गालीगलौजबाट सुरक्षा स्वयम् पनि हताश छिन् । उनले हिजो फेसबुकमा एउटा कविता लेखेर आफ्नो निराशा अभिव्यक्त गरेकी थिइन् ।

दर्शक नपाए पनि चेल चलचित्रले शो भने अझै उल्लेख्य पाइरहेको छ । सँगै रिलिज भएको चलचित्र ‘भुठान’ मा पनि उल्लेख्य दर्शक नआएकाले ‘खेल’ लाई झण्डै सय शो दिन प्रदर्शकहरु वाध्य छन् । हरिवंश आचार्यको ‘भुठान’ पनि व्यापारिक असफलतातर्फ उन्मूख रहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *