वैशाख । आधारभूत भाषिक तथा गणितीय सिपसम्बन्धी प्रदेश स्तरीय सम्मेलन सुर्खेतमा सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश र स्ट्रिट चाइल्ड अफ नेपालको संयुक्त आयोजना तथा हेम्पेल फाण्डेशनको आर्थिक सहयोगमा सञ्चालन भएको सम्मेलनमा कर्णाली प्रदेश विभिन्न जिल्लाबाट जनप्रतिनिधि, शिक्षा शाखा प्रमुख, शिक्षक र शिक्षामा काम गर्ने संघ संस्थाहरूको सहभागिता रहेको थियो ।
आधारभूत भाषिक तथा गणितीय सिपको महत्त्व तथा सिकाइ परीक्षणका नतिजाबारे छलफल एवं जानकारी गराउने, सुधार केन्द्रित गरिएका असल अभ्यासहरूमा छलफल गर्ने, सिकाइ स्तरमा आधारित शिक्षण रणनीति र कार्यान्वयन प्रक्रिया र प्रभावका बारेमा जानकारी गराउने, प्रदेश तथा स्थानीय सरकार तथा सरोकारवालाहरूलाई स्रोत साधन परिचालन र आधारभूत भाषिक तथा गणितीय सिपसम्बन्धी क्रियाकलापको प्राथमिकीकरण र बिस्तारबारे उत्प्रेरित गर्दै पैरवी गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।
सम्मेलनमा आधारभूत भाषिक तथा गणितीय सिपको महत्त्व, विभिन्न अध्ययनका नतिजा तथा सरकारी एवं गैरसरकारी क्षेत्रबाट भएका असल अभ्यास र सिकाइहरूको बारेमा प्रस्तुतीकरण समेत गरिएको थियो ।
सम्मेलनमा आधारभूत भाषिक तथा गणितीय सिप सुधार केन्द्रित प्यानल छलफल समेत गरिएको थियो । प्यानल छलफलमा सामाजिक विकास मन्त्रालय शैक्षिक विकास महाशाखा प्रमुख सुवर्ण कुमार खड्का, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक टुकराज अधिकारी, गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष निम बहादुर केसी, गुर्भाकोट नगरपालिका सुर्खेतका उपप्रमुख मैना विक र चौकुने गाउँपालिका सुर्खेतका शिक्षा प्रमुख टेकेन्द्र बहादुर बुढाको सहभागिता रहेको थियो ।
आधारभूत भाषिक तथा गणितीय सिप सुधारका लागि संघीय, प्रदेश र स्थानीय स्तरमा गरिएका पहल, अभ्यास, नतिजासँगै अबको प्राथमिकीकरण तथा अवसरहरू माथि केन्द्रित रहेर अन्तरक्रिया गरिएको थियो । जसमा आगामी दिनमा निर्माण हुने शैक्षिक योजनाहरूमा भाषिक तथा गणितीय सिप सुधारका लागि तिन वटै सरकारले विशेष ध्यानु दिपर्नेमा जोड दिइएको थियो ।
अहिले सम्मको अभ्यासमा यस विषयमा केन्द्रित गरी कुनै पनि योजनाहरू प्रभावकारी कार्यान्वयनमा नरहेकोले यस तर्फ ध्यान दिन जरुरी रहेको वक्ताहरूको भनाई थियो । सम्मेलनको समापन सत्रमा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सम्मेलनले कर्णालीका शिक्षासँग सम्बन्धित सरोकारवालाहरूलाई भाषिक तथा गणितीय सिप सुधारका लागि झकझक्याउन मद्दत गरेको बताए ।
उनले तीनै तहका सरकारले शिक्षामा धेरै नै बजेट खर्चेको पाइन्छ तर आधारभूत तहमा भाषिक तथा गणितीय सिप सुधारमा प्रभावकारी कामहरू चाही भएको छैन यसमा थप छलफलहरू गरी योजनागत रूपमा अगाडी बढ्नुपर्ने देखिन्छ, यसका सामाजिक विकास मन्त्रालयले पनि जोड दिने बताए ।
स्ट्रिट चाइल्ड अफ नेपाल प्रमुख क्षितिज बस्नेतले कर्णालीमा भाषिक तथा गणितीय सीप सुधारका लागि तीन वटै सरकारले विभिन्न योजनाहरूमै समावेश गरी प्रभाकारी कार्यान्वयनमा जानुपर्ने बताए ।

Leave a Reply