कांग्रेस सचेतक भन्छन्- राजेन्द्र लिङ्देनले सदनमा माफी माग्नुपर्छ

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते कोटेश्वरको भाटभटेनी लुटपाट प्रकरणमा नेपाली कांग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति झूठो भएको भन्दै क्षमायाचना गर्न माग गरेका छन्।

बैठकको आकस्मिक समयमा प्रमुख सचतेक घिमिरेले नेपाली कांग्रेसको मानमर्दन गरिएको भन्दै लगाइएको आरोपको प्रमाण दिन अथवा क्षमायाचना गर्न माग गरेका हुन् । उनले संसाद  लिङ्देनको अभिव्यक्ति ‘रेकर्ड’ बाट हटाउन सभामुखसमक्ष आग्रह गरे ।

लिङदेनले शुक्रबार सम्बोधनको क्रममा चैत १५ गते भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्रीको छोरा पनि संलग्न देखिएको र कारवाहीबाट उन्मुक्ति दिइएको आरोप लगाएका थिए ।

सांसद सराज अहमद फारुकीले भारतको पहलगाममा केही दिनअघि भएको आतङ्ककारी हमलाको निन्दा गर्दै दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरे ।

सांसद फारुकीले देशभित्र सामााजिक सद्भावमा खलल पुर्‍याउने ध्येयले राप्रापाका सांसद ज्ञानेन्द्र शाहीले अभिव्यक्ति दिएर मुस्लिम समुदायको भावनमा ठेस पुर्‍ याएको भन्दै आपत्ति जनाए।

सांसद शक्तिबहादुर बस्नेतले सरकारको ध्यान नियुक्तिमा मात्र केन्द्रित देखिएको आरोप लगाउँदै शिक्षकका जायज माग पूरा गर्नेतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद रामहरि खतिवडाले इजरायलमा काम गर्न गएका नेपाली विपिन जोशीको अवस्था  अझै अज्ञात रहकाले निजको खोजी र उद्धारको प्रयास हुनुपर्नेमा जोड दिए ।

सांसद शेरबहादुर कुँवरले अछामका विभिन्न स्थानमा आगलागीका घटना बढेकामा चिन्ता व्यक्त गर्दै पीडितलाई क्षतिपूर्ति दिन माग गरे ।

सांसद तारा लामाले यही वैशाख ९ गते बेलडाँडी गाउँपालिकाका हरिकृष्ण रानाको वीभत्स हत्या भन्दै दोषीलाई कारबाहीको माग गरे । साथै उनले सरकारलाई शिक्षकका जायज माग सम्बोधन गर्न  र शिक्षकहरूलाई व्यावहारिक हुन आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *