श्रीमानविरुद्ध अरुणिमाले डिभोर्ससँगै अंशमुद्दा पनि हालेको खुल्यो, फिरादपत्रमा के छ ?

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले श्रीमान युवराज श्रेष्ठविरुद्ध सुनसरी जिल्ला अदालतमा सम्वन्धविच्छेद र अंशमुद्दा हालेको खुलेको छ । उनले सोही अदालतमा विवाह दर्ता गरेकी थिइन् ।

जिल्ला अदालत स्रोतका अनुसार आज सो मुद्दाको सुनवाइका लागि पेशी तोकिएको छ । अरुणिमा भने मुद्दा दायर गरेर अमेरिका फर्किसकेकी छन् । उनले आफ्नो मुद्दामा वारेस तोकेर गएकी थिइन् । अब वारेसमार्फत उनले मुद्दा लड्नेछिन् ।

हालै नेपाल आएका बखत अरुणिमाले विभिन्न अन्तरवार्ताहरूमा श्रीमानसँग कुनै अंशको दावी नगरेको बताएकी थिइन् । तर, उनले दिएको निवेदनमा अंश माग गरिएको पाइएको छ । श्रीमानको सम्पत्तिलाई परिवारमा ६ भाग लगाएर त्यसको एक भागको आधा भाग आफूले पाउनुपर्ने उनले फिरादपत्रमा उल्लेख गरेकी छन् ।

युवराजको परिवारमा बुवा, दुईवटी आमा, एक दाजु र एक भाइ रहेको हुँदा मुल अंश ६ भाग लगाउने प्रस्ताव उनले गरेकी हुन् । युवराजले पाउने एक भागको आधामा उनको दाबी छ ।

वैवाहिक जीवन जति छोटो भए पनि कानूनतः अरुणिमाले श्रीमानको आधा अंशमा दाबी गर्न सक्छिन् । विवाहको दुई दिनपछि नै उनी श्रीमानलाई छोडेर अमेरिका गएकी थिइन् भने त्यसपछि उनीहरुको भेट नै नभई सम्बन्धविच्छेदको मुद्दा अदालत पुगेको छ । विभिन्न अन्तर्वार्तामा अरुणिमाले विवाहपछि श्रीमानसँग एक रात पनि नसुतेको बताएकी थिइन् ।

आफ्नो फिरादपत्रमा अरुणिमाले श्रीमानमाथि विभिन्न आरोपहरू लगाएकी छन् । उनको मुख्य आरोप आफूलाई विहेअघि झूटो कुराहरू बोलेको भन्ने छ । आफूलाई सिँढी बनाएर अमेरिका आउनका लागि मात्रै विवाह गरेको उनले बताएकी छन् ।

अमेरिकामा एकल जीवन बिताइरहँदा गत वर्ष साउन २ गते घुमफिरका लागि नेपाल आएका बखत युवराजसँग भेट भएको र उनीबाट मोहित भएको फिरादपत्रमा अरुणिमाले उल्लेख गरेकी छन् । युवराजले आफूलाई नेपालको प्रतिष्ठित व्यापारी र राजनीतिकर्मीका रूपमा चिनाएको तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग विशेष सम्वन्ध रहेको बताएको अरुणिमाको भनाइ छ ।

अरुणिमाका अनुसार युवराजले विहेपछि आफू पनि अमेरिका जाने र त्यहाँ मिलेर व्यापार गर्ने योजना सुनाएका थिए । तर, आफू बिहे गरेर अमेरिका गएपछि श्रीमानले पढाइ, सम्पत्ति र राजनीतिको बारेमा गरेका कुराहरु झूटो ठहरिएको उनले दावी गरेकी छन् ।
.
‘मैले स्नातकोत्तरसम्म अध्ययन पूरा गरेको छु भन्दै नेताहरुसँग खिचेको फोटो देखाएको तथा मसँग पटक-पटक भेट गर्न आउँदा फरक-फरक गाडीमा आउने गरेको अवस्थामा निजले मसँग माया-पिरतीको कुरा गरी विवाह गरौँ, म पनि अमेरिका आउँछु, त्यहाँ व्यापार गरौंला भनि प्रस्ताव गरेकोमा म निजको बोली वचन व्यवहारमा मन्त्रमुग्ध भएँ,’ फिरादपत्रमा भनिएको छ, ‘म एकल महिला भएको र श्रीमानको माया चाहिएकी महिला भएको कारण निजको भनाइमा विश्वास गरेर २०८१ साउन ३१ मा यसै अदालतबाट विवाह भएको हो ।’

विवाहपश्चात श्रीमानले आफूलाई घरमा नलगी काठमाडौं लगेको अरुणिमाले बताएकी छन् । भदौ ५ गते अमेरिका फर्किएपछि उनले श्रीमानलाई नेपालबाट अमेरिका झिकाउने प्रक्रियाको लागि शैक्षिक प्रमाणपत्रहरु माग गरेकी थिइन् । तर, युवराजले अहिले छैन भननेर बारम्बार आलटाल गरेको अरुणिमाको भनाइ छ ।

‘त्यसै समयमा निजले हाम्रो विवाहको कुरा सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको कारण मलाई विभिन्न महिलाले फोन गरी निजका सबै कुरा झुट्टा रहेको जानकारी गराए । निजले मलाई झुट्ठा कुरा गरी प्रेमजालमा फँसाई छाडेको र तपाईँको पनि जीवन बर्बाद गरिदिएछ भनी जानकारी गराएपछि विपक्षीको बारेमा बुझ्दै जाँदा उहाँ स्नातकोत्तर अध्ययन नगरेको र राजनीतिकमा पनि क्षेत्रीय स्तरमा उपाध्यक्ष जस्तो सामान्य पदमा रहेको, आर्थिक अवस्था सामान्य रहेको र निजको उद्देश्य मलाई सिँढी बनाई अमेरिका मात्र प्रवेश गर्ने नियत रहेको भन्ने प्रष्ट रुपमा बुझेँ ।

सोपश्चात निजलाई सामाजिक सञ्जालबाटै फोन सम्पर्क गरी श्रीमान-श्रीमतीको सम्बन्ध विश्वासमा चल्नुपर्नेमा तपाईंले मसँग झुट्टा फरेबी कुरा गरी, गलतफहमीमा पारि मलाई झुक्याई अमेरिका प्रवेश गर्ने नियतले मात्र विवाह गर्नु भयो, तपाईंको यो व्यवहारबाट म अत्यन्त मानसिक पीडामा छु भनेँ । उहाँले मेरो अमेरिका जाने रहर थियो, तिमीसँग त्यति कुरा नगरेको भए तिम्रो र मेरा बीचमा विवाह हुने थिएन । विवाह नभएको भए म सजिलै अमेरिका आउन सक्ने थिइनँ भनि अपशब्द प्रयोग गरी गालीगलौज समेत गरेकोले म अत्यन्त मानसिक पिडामा परेँ,’ फिरादपत्रमा भनिएको छ ।

अरुणिमाका अनुसार उनले नेपाल आएपछि गत चैत १२ गते युवराजलाई भेटेकी थिइन् । सो भेटमा आफूले ‘तपाईंले मलाई ठूलो धोका दिनुभयो, म तपाईंलाई अमेरिका लान सक्दिनँ’ भनि बताएको उनको भनाइ छ । साथै, अब यो वैवाहिक जीवन चल्न नसक्ने भनेर आफूले विवाहमा खर्च भएको रकमको क्षतिपूर्तिका लागि अंश दिएर सम्बन्धविच्छेद गर्न प्रस्ताव गर्दा युवराजले नमानेको अरुणिमाले उल्लेख गरेकी छन् ।

‘मैले अमेरिका जानका लागि मात्र तिमीसँग विवाह गरेको हुँ, म तिमीलाई मेरो घरमा बस्न, पस्न, खान-लाउन र अंशसमेत दिन्न, जहाँ गएर जे गर्नुछ गर भनि जवाफ दिएकाले बाध्य भएर यो फिराद गर्न आएकी छु,’ उनले भनेकी छन् ।

अरुणिमाले श्रीमानविरुद्ध सम्बन्धविच्छेद र अंशमुद्दा दायर गरेको जिल्ला अदालत सुनसरीका श्रेस्तेदार टेकेन्द्रजंग राणाले पुष्टि गरे । सो मुद्दा हाल अदालति प्रक्रियामा रहेको उनले नेपाल प्रेसलाई जानकारी दिएका छन् ।

विदेशी नागरिकले पनि नेपाली पुरुषसँग बिहे गरेको अवस्थामा बिहे दर्ता गर्न र सम्बन्धविच्छेदसम्म गर्न कानूनी रोकावट नरहेको श्रेस्तेदार राणा बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *