काठमाडौं । नेपाल शिक्षक महासङ्घले काठमाडौं केन्द्रित शैक्षिक आन्दोलनलाई ‘अन्तिम र निर्णायक धक्का’ दिनुपर्ने अवस्था आएको भन्दै देशभरका शिक्षक तथा विद्यालय कर्मचारीलाई राजधानी आउन आह्वान गरेको छ।
आन्दोलनमा सहभागी भएका शिक्षक र विद्यालय कर्मचारीलाई धम्की, सरुवा र राजीनामाको दबाब दिने कार्य कतिपय स्थानीय तहबाट भएको महासंघले जनाएको छ।
संविधानले दिएको सामूहिक सौदावाजीको अधिकारको सम्मान गर्न स्थानीय तहलाई आग्रह गर्दै महासंघले यस्ता गतिविधिबाट विचलित नहुन सबै शिक्षक तथा कर्मचारीलाई अनुरोध गरेको छ।
महासंघले आन्दोलनलाई निर्णायक बनाउँदै शिक्षकको हकहित सुनिश्चित गर्न सम्पूर्ण शिक्षक कर्मचारीलाई साथ दिन आह्वान गरेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा आन्दोलनलाई अझ सशक्त बनाउँदै ‘अग्रगामी ऐन’ जारी गराउन अन्तिम धक्का’ आवश्यक भएको उल्लेख छ।
महासङ्घका अनुसार २०८१ चैत्र २० गतेबाट सुरु भएको शैक्षिक सडक आन्दोलन २५ दिन नाघिसकेको छ। गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–मैत्री विद्यालय शिक्षा ऐन ल्याउन दबाब दिन सुरु गरिएको आन्दोलन अहिले निर्णायक चरणमा पुगेको महासंघको दाबी छ।

Leave a Reply