गाँजाका सरसामान बेच्ने युवाको प्रश्न- अमेरिका फर्स्ट भन्ने आइराछ, खोइ त नेपाल फर्स्ट ?

काठमाडौं । इटहरीको मध्य बजार क्षेत्रको धरानतर्फको भित्री चौक संगीत चोक । अनि त्यही संगीत चोकको सानिमा विकास बैंक र ‘मङ्क एण्ड पङ्क च्याफे’ अगाडि छ ‘गाँजा स्टोर इटहरी’ ।

गाँजा सेवन तथा बिक्री वितरण गर्न रोक लगाइएको देशमा गाँजा स्टोरमा गाँजा खानेगर किन्न पाइन्न । लाउनेगर भने पाइन्छ । गाँजाका रेसाबाट बनेका जुत्ता पाइन्छन् । पर्स पाइन्छन् । हुडी पाइन्छन् । मोजा पाइन्छन् । सर्ट पाइन्छन् । रुमाल पाइन्छन् । साबुन, तेल र बिउ पनि पाइन्छन् । सबैभन्दा सस्तो किरिङको दुई सय रुपैयाँदेखि २८०० मूल्यको जम्परसम्म किन्न पाइन्छ स्टोर्समा ।

कोशी प्रदेशको कोशी राजमार्ग करिडोरको एक्लो स्टोर्स भएकोले पनि यहाँ आउने उपभोक्ताहरू सन्तोषजनक नै भएको बताउँछन् सञ्चालक उमेश थापा ।

सामाजिक सञ्जाल र वर्ड अफ माउथ पब्लिसिटीबाट पसलका सामान खरिदकर्ताहरू आउँछन् । ‘हाम्रो चेन स्टोर्स हो’, थापा भन्छन्, ‘कोशी प्रदेशमा बिर्तामोडको हनुमान कम्प्लेक्समा छ । दोस्रो इटहरीमा मात्रै छ । यहाँ धरान, विराटनगर आदिबाट पनि किन्न आउनुहुन्छ ।’

थापाले काठमाडौंको बत्तीसपुतलीमा द्वारिका होटल अगाडि यसको प्रमुख स्टोर्स रहेको र देशका अन्त स्थानहरूमा पोखरा, नेपालगंज आदिमा भएको बताए । उनले भने, ‘डाक्टर निकोलस भुसाल चैँ हाम्रो ब्राण्ड एम्बासडर हुनुहुन्छ ।’

बुढानीलकण्ठमा भएको प्लान्टबाट उत्पादन हुने सामान देशभर र विदेश पनि जाने थापाले बताए ।

इटहरीमा गाँजा स्टोर्सको चेन सञ्चालन गर्दा ३० लाख हाराहारी लगानी भएको बताएका थापाले यो लगानी नाफाको नजरमा मात्रै नभएको बताए । भने, ‘मेड इन नेपालमा केहि गरौँ भन्ने थियो । त्यही भएर यो टीमसँग जोडिएको हो । मेड इन नेपालको प्रडक्ट लिएर विश्वसम्म पुगौँ भन्ने सोचाइ थियो । लाइक ट्याट ।’

गाँजाका उत्पादनको महत्वबारेमा थापा खुले । गाँजाका रेसाहरुले मात्रै बनेको शतप्रतिशत गाँजाकै उत्पादन भएको टिसर्ट देखाउँदै थापाले भने, ‘यसमा झिँगा पनि बस्दैन ।’

थापाले आगन्तुकहरूबारेमा सकारात्मक अनुभव भएको भन्दै थपे, ‘मेड इन नेपाल भएकोले सपोर्ट छ साथीभाइ र इष्टमित्रको ।’

आफूले नाफा कमाउन र धनी हुने भन्दा केहि सन्देश दिन पनि यसमा जोडिएको थापाले बताए । भने, ‘पैसा मात्रै हेरेको होइन । युवाको आवाज पनि हेरेको हो । तपाईँ हाम्रो चेत खुल्नु परो । मेड इन नेपाल उत्पादन प्रयोग गर्नुपरो । स्कुल कलेजको युनिफर्म मेड इन नेपाल हुनुपर्‍यो ।’

मेड इन नेपालको मर्ममा केहि भावुक देखिएका थापाले अमेरिकी उदाहरण दिन पनि भुलेनन् । भने, ‘अमेरिकाले अमेरिका फर्स्ट भन्ने आइराछ । खोइ त नेपाल फर्स्ट हाम्रो चैँ ?’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *