कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका रानाथारुहरुको संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन आवश्यक रहेको बताएका छन् ।
दोस्रो अन्तर्राष्ट्रिय रानाथारु भाषा साहित्य सम्मेलन उद्घाटन गर्दै प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम विभिन्न संस्कृति र पहिचानमा धनी रहेको र रानाथारु समाजको संस्कृति र पहिचान पनि पौराणिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको बताए ।
‘सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, पहिचान आफैंमा निकै राम्रो छ । यहाँ सबै समुदायको आआफ्नो पहिचान छ’, उनले भने ।
उद्घाटन सत्रमा प्रदेश प्रमुख मियाँसँगै सभासद कृपाराम राना, प्राज्ञ दिल्ली आचार्य, डा.निर्मलमणि अधिकारी, राजन मुकारुङ र डा. कृष्ण सर्वाहरी सहभागी थिए । त्यस्तै भारतबाट डा. प्रेमसिंह राना र ओमप्रकाश रानासहित रानाथारु भाषाविज्ञ, साहित्यकार, अनुसन्धानकर्ता र सांस्कृतिक अभियन्ताहरू पनि सम्मेलनमा सहभागी भएका छन् ।
सम्मेलन आयोजक समितिका संयोजक पदम रानाले रानाथारु भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए ।
कार्यक्रममा रानाथारु भाषासम्बन्धी अनुसन्धानपत्र प्रस्तुति, कविता तथा कथा वाचन, सांस्कृतिक झाँकी तथा परम्परागत नृत्य प्रस्तुत गरिनेछ । साथै रानाथारु भाषामा प्रकाशित पुस्तकहरूको प्रदर्शनी पनि गरिनेछ । सम्मेलन दुई दिन चल्नेछ ।

Leave a Reply