काठमाडौं । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष तथा पूर्वविदेशमन्त्री बिलावल भुट्टोले भारतले सिन्धु नदीको पानी रोकेमा नदीमा उनीहरुको रगत बग्नसक्ने चेतावनी दिएका छन् । एउटा राजनीतिक र्यालीमा सहभागी भएका पाकिस्तानको प्रमुख राजनीतिक दलका नेता भुट्टोले भारतलाई अहिलेसम्मकै कडा चेतावनी दिएका हुन् ।
भुट्टोको भनाइ उद्धृत गर्दै अलजजिरा लेख्छ- ‘सिन्धु हाम्रो हो र सधैं रहनेछ । या त यो नदीमा हाम्रो पानी बग्छ अथवा उनीहरुको रगत ।’
भारतले पहलगाम आतंकी हमलापछि पाकिस्तानविरुद्ध चालेका ५ कदममध्ये सिन्धु नदी सम्झौता भंग गर्ने पनि एक हो । सिन्धु नदीको पानी उपभोगसम्बन्धी दुई पक्षीय सन्धि भारतले भंग गर्दै पाकिस्तानलाई पानी नदिने घोषणा गरेपछि भुट्टोको यस्तो अभिव्यक्ति आएको हो ।
भुट्टोले नरेन्द्र मोदीले आफ्ना नागरिकलाई बेबकुफ बनाउन पहलगाम हमलाको दोष पाकिस्तानीमाथि थोपरेर पानीमाथिको ओभानो बन्न खोजेको बताए ।
उनले भारतले सिन्धु नदी पाकिस्तानको हो भनेर स्वीकार गरिसकेकाले अब सिन्धुमाथि कि त पानी बग्ने कि भारतको रगत बग्ने चेतावनी दिए । उनले सिन्धुमाथिको डाकाडाली मन्जुर नहुने बताए ।
बिलाबल भुट्टो लामो समय पाकिस्तानको शासन गरेका आसिफ अली जर्दारी र बेनजिर भुट्टोका छोरा हुन् । जर्दारी अहिले पनि पाकिस्तानको राष्ट्रपति छन् ।

Leave a Reply