‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईं’- चलचित्रको तीन नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ टीमले शुक्रबार ‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईं’ कार्यक्रम सम्पन्न गरेको छ । रिलिज मिति नजिकिएसँगै निर्माण पक्षले शुक्रबार साँझ पोखराको फेवा तालको किनारमा यो कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममै निर्माण टीमले चलचित्रका तीन नयाँ पोस्टर पनि सार्वजनिक गरेको थियो । पोखरामा आयोजित कार्यक्रममा गायक तथा चलचित्रका गीत निर्देशक सुजन चापागाईंले आफ्नो प्रस्तुति दिएका थिए । उनले ‘ऊनको स्वीटर’का गीतहरू ‘मखमली’, ‘काफ्ले’, ‘फूल’ लगायतका लोकप्रिय गीतहरू प्रस्तुत गरे ।

शुक्रबार नै प्रसिद्ध लोकगायक स्व. झलकमान गन्धर्वको ९०औँ जन्म जयन्ती भएकाले सुजनले झलकमान समर्पित विशेष प्रस्तुतिसमेत दिए ।

कार्यक्रममा सुजनसँगै कलाकारहरु विपीन कार्की, परीक्षा लिम्बू, एलेक्स पारस, माओत्से गुरुङ, निर्देशक नवीन चौहान, कार्यकारी निर्माता मिलन खत्री, वितरक पुष्कर घिमिरे, मिडिया एक्जिक्युटिभ जीवन पराजुली पनि उपस्थिति थिए ।

कार्यक्रममा बोल्दै अभिनेता विपीन कार्कीले दर्शकलाई ‘ऊनको स्वीटर’ मौलिक बनेको बताउँदै हलसम्म पुगेर हेर्न अनुरोध गरे । त्यस्तै चलचित्रका निर्देशक नवीन चौहानले पनि आर्टमान्डुका गीतहरूले जस्तै चलचित्रले पनि दर्शकलाई सन्तुष्टि दिने विश्वास व्यक्त गरे ।

कार्यक्रमको आकर्षणको रूपमा एलेक्स र परीक्षाले ‘काफ्ले’ गीतमा रमाइलो नृत्य पनि प्रस्तुत गरेका थिए । वैशाख २६ गतेबाट विश्वव्यापी रिलिज हुने चलचित्र ‘ऊनको स्वीटर’ एक सामाजिक कथानक चलचित्र हो ।

विपीन कार्की र मिरुना मगर प्रमुख भूमिकामा रहेको यस चलचित्रमा विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *