अछाम आगलागीमा करिब चार करोडको क्षति, १० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय

कैलाली । शनिबार बिहान अछाम साँफेबगर नगरपालिका- ३ स्थित हाटबजारबाट भएको आगलागीमा करिब चार करोडको क्षति भएको छ ।

बिहान करिब ३ः४५ बजे प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मम सेन्टरबाट बिजुलीको तार सट भई सुरु भएको आगलागीमा परी १० वटा पसल नष्ट भएको थियो ।

प्रारम्भिक विवरणअनुसार ३ करोड ८६ लाख ६५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

आगलागीमा मानवीय क्षति भने भएको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयको सहयोगमा ६ः०५ बजे आगलागी पूर्ण नियन्त्रणमा आएको थियो ।

यसबीच आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल १० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल नगरपालिकालाई मानवीय सहायतास्वरुप १० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *