अनेरास्ववियुमा उमेर हदको भय- ३२ वर्षे लाग्दा ५ पदाधिकारीमात्र बाँकी रहने तय

काठमाडौ । ‘गौतम बुद्धले कति पढेका हुन् ?’

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको यो भनाइ अनेरास्ववियुमा नेता हुन शैक्षिक योग्यता तोक्ने सवालमा आएको थियो । कुरा दशक अगाडिको हो । २०७२ मा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको दोस्रो विधान महाधिवेशनताका तत्कालीन नेता शैक्षिक योग्यता,उमेर र आचरणको विषय उठाएर महेश बर्तौला,रश्मी आचार्य,राधिका खतिवडा,समिक बडालसहितलेदुई मुद्दा उठाए ।

एक– शैक्षिक योग्यता । दुई– उमेर हद । तीनः आचरण

तत्कालीन नेता नवीना लामा, ऐन महर,दीपक गौतमलगायतलाई बाहिर राख्ने मनसायले राखिएका यी दुवै शर्तमा ओली राजी भएनन् ।

शैक्षिक योग्यताको कुरामा बुद्धको पढाइ जोडेका ओलीले उमेर हदमा पनि भन्दिए, ‘लोकसेवाको जागिर खान लागेको हो र ?’

नभन्दै त्यसपछिको महाधिवेशनमा नवीना र दीपक नै अध्यक्षमा भिडे र ओली पक्षबाट नवीनाले अनेरास्ववियुको अध्यक्ष जितिन् । अहिले उमेर हदको मुद्दा फेरि सतहमा आएको छ । खासगरी स्ववियु चुनाव हुनुअगाडि माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले ३२ वर्षको उमेर हद लगाएकाले यसअघिको पनि नतिजा सुधार गरेको तर्क छ ।

अनेरास्ववियु अध्यक्ष समिक बडालले उमेर हद ३० को हुने संकेत गरिसकेका छन् । अहिले भित्रभित्रै उमेर हद ३० वा ३२ कायम गर्ने लबिङ अनेरास्ववियुमा चलेको छ । २०८२ जेठ १ देखि ४ गतेसम्म अनेरास्ववियुको २४ औं महाधिवेशन हुँदैछ । स्थान भने तोकिएको छैन ।

यसबारेमा निर्णय गर्न अनेरास्ववियु सचिवालयको बैठक शनिबार पार्टी महासचिव शंकर पोखरेलको उपस्थितिमा एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको छ । उमेर ३३ लगाउने कि ३० लगाउने वा यसपटक सबैलाई प्रतिस्पर्धा गर्न दिएर अर्को महाधिवेशनबाट उमेर हद लगाउने भन्ने तीन कोणबाट बहस चलि रहेको छ ।

अखिलका पदाधिकारी- ५ टिक्छन्, १३ जान्छन्

यदि एमाले निकट अखिलमा क्रान्तिकारीको जस्तै ३२ वर्षको उमेर हद लगाए बहुसंख्यक पदाधिकारी र प्रदेश अध्यक्ष बिदा हुन्छन् ।

अहिले अनेरास्ववियुका १७ पदाधिकारी छन् । अध्यक्ष समिक बडालसहित उपाध्यक्षहरू गोविन्द्र गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट, महासचिव नरेश रोकाया छन् । ३ महिला, ६ खुला र १ समावेशीसहित जम्मा १० सचिव छन् । ती हुन्, अञ्जना शिवाकोटी, आरती भट्टराई, विनिता काफ्ले, आशीर्वाद सुवेदी, डा. सुजन कडरिया, दीपेश प्रसाईं, दीपक धामी, प्रकाश पौडेल, सञ्जीव धिताल र मनोज ताम्ली लिम्बु । कोषाध्यक्ष संगम अर्याल छन् ।

यी १७ पदाधिकारीमा ५ जनामात्रै ३२ मुनिका भएको उनीहरूको नागरिकताले देखाउँछ । उमेर हदले सुरक्षित पार्ने पाँचजना छन् । ती हुन्, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना शिवाकोटी, डा.सुजन कडरिया र दीपक धामी ।

यदि तीस वर्षको उमेर हद लागेमा सचिवबाट आरती भट्टराई र अन्जना शिवाकोटीमात्र रहन्छन् भने ३२ लाग्दा प्रकाश पौडेल,सुजन कडरिया र दिपक धामी पनि रहन्छन् ।

अनेरास्ववियुको २०७९ फागुन २ देखि ४ सम्म काठमाडौंमा सम्पन्न २३ औं महाधिवेशनमा हलबाट १९१ सदस्यीय कमिटी निर्वाचित भएको थियो । मनोनयनको थपथापले त्यो संख्या २५० हाराहारी पुगेको छ । जसमा ४२ जना स्थायी समितिमा अटाएका छन् ।

एक प्रदेशमात्र सुरक्षित

मुलुक सात प्रदेशको संरचनामा छ, तर अनेरास्ववियुको संगठनात्मक संरचनामा आठ प्रदेश छन् । एक अतिरिक्त प्रदेशको नाम ‘उपत्यका विशेष’ राखिएको छ । त्यसका अध्यक्ष विशाल न्यौपाने हुन् ।

कोशी प्रदेशका अध्यक्ष जीबी गजल छन् । मधेशमा आरपी अधिकारी यादव, बागमती, गण्डकी र लुम्बिनीमा क्रमशः लालबहादुर बुढाथोकी, प्रवीण श्रेष्ठ र सन्तोष बाठा अध्यक्ष छन् । राजेश ओली र मनोज राई क्रमशः कर्णाली र सुदूरपश्चिम प्रदेश अध्यक्षहरू हुन् ।

यदि उमेर हद लागू भयो भने यीमध्ये कर्णालीका राजेश ओलीमात्रै बाँकी हुन्छन् । अरु सबै उमेर बढी हुनाले बाहिरिनुपर्छ ।

पहिला पनि थियो उमेर हद

उसो त अनेरास्ववियुमा उमेर हदको अभ्यास नयाँ होइन । संगठनको २३ औँ महाधिवेशनमा केन्द्रीय सदस्य हुन ३० वर्षको उमेर हद तोकिएको थियो । २३ औँ महाधिवेशनबाट चुनिएको कमिटीको दोस्रो बैठकले क्याम्पस अध्यक्षका हकमा २८ वर्षको उमेर हद लगायो । स्ववियु सभापति बन्न त्रिविले तोकेको २८ वर्षको उमेर हदलाई ध्यान दिएर त्यस्तो गरिएको अनेरास्ववियुका नेताहरू बताउँछन् ।

के भन्छन् नेताहरू ?

अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनबाट ७५१ मतसहित उपाध्यक्ष निर्वाचित नारायण घर्ती उमेर हद लागू हुनेबारेमा केही थाहा नभएको बताउँछन् ।

उमेर हद लागू भएमा अनेरास्ववियुबाट बाहिरिने घर्ती भन्छन्, ‘यसबारे अनेरास्ववियुको कुनै औपचारिक फोरममा कुरै उठेको छैन ।’

उमेर हद अखिल क्रान्तिकारी र स्ववियुमा लागू भएको र अनेरास्ववियुमा लागू हुने वा नहुनेबारे नेपाल प्रेसको प्रश्नमा घर्तीले भने, ‘नेतृत्व उमेरले होइन, उत्साह र क्षमताले हुने हो ।’

कोशी प्रदेशका अध्यक्ष जीबी गजल पनि उमेर हदबारेमा सकारात्मक देखिएनन् ।

‘अहिले नै पदाधिकारीहरूमा उमेर हद लगाइएमा त्यसले विद्यार्थी नेताहरूले अहिलेसम्म गरेको त्याग, तपस्या र योगदानको अवमूल्यन गर्छ’, गजलले भने, ‘समयमै महाधिवेशन गर्ने र चुनावी नेतृत्व चयन गरेमा यो उमेर हदको सवाल आफैँ सम्बोधन हुन्छ ।’

उमेर हद लगाएर भन्दा स्ववियु पुस्ता र अग्रज पुस्ता एकै स्थानमा आउने माहोल बनाउनुपर्ने एक पदाधिकारी बताउँछन् ।

‘केन्द्रीय कमिटी सदस्य बन्न २८ को उमेर हद लगाएर स्ववियु सभापति र जिल्ला अध्यक्षहरूलाई ल्याउन सकिन्छ’, ती पदाधिकारीले भने, ‘बाँकी पदाधिकारीमा उमेर हद नलगाएमा यसले पुरानो आन्दोलनको अग्रज पुस्ता र आगामी पुस्ताको मर्ज भएर राम्रो र ऊर्जाशील संगठन बन्छ ।’

२०७२ बाट २०७९ सालसम्म एकता प्रक्रियाको कारणले नियमित महाधिवेशन नभएर नेतृत्व जाम भएको भन्दै उनले २०७२ को कमिटीका सचिव समिक बडाल २०७९ मा आएर अध्यक्ष बन्नु र २०७२ का सचिवालय सदस्यहरू २०७९ मै आएर उपाध्यक्ष तथा महासचिव भएको उदाहरण रहेको उनको भनाइ छ ।

उनले भने, ‘नियमित दुई वर्षमै महाधिवशेन भएको भए यो पदाधिकारी टीम बिदा भइसक्ने थियो । नयाँ नेतृत्व आउँथ्यो ।’

पार्टीमा पनि ७० वर्षको उमेर हद फिर्ता भइसकेको भन्दै महाधिवेशनको मुखैमा आएर हठात् उमेर हद लाग्नु अनावश्यक भएको ती पदाधिकारीले बताए । पार्टी अध्यक्ष ओलीले २०७२ मै बोलेको प्रसंग ल्याँउदै उनले प्रश्न गरे, ‘लोकसेवाको लागि जागिर खान लागेको हो र ?’

उमेर हद लगाएर केही नेतालाई नियतवश अनेरास्ववियुको अध्यक्ष बन्ने अवसरबाट वञ्चित गर्न पार्टीका केही नेता लागेको आरोप पनि छ । विशेषगरी अखिलको वर्तमान पदाधिकारीबाट अध्यक्षका मुख्य आकांक्षी नरेश रोकाय र नारायण घर्ती हुन् । त्यसो त गोविन्द गिरी र धर्म गिरी पनि अध्यक्षका आकांक्षी हुन् ।

नेतृत्व विकास रोकेर उमेर हदका नाममा प्रतिशोध लिन खोजिएको आरोप पनि छ । कतिपय एमालेकै नेताले उमेर हद लगाउने र अहिले आयोजक समिति गठन गरेर अध्यक्षका आकांक्षीहरूलाई घर पठाउने षड्यन्त्र गरेको आरोप पनि छ । उमेर हद ३२ कि ३० भन्नेमै विवाद कायमै छ ।

यसैबीच एमाले जनसंगठन समन्वय संयन्त्रकी उपप्रमुख रचना खड्काले अनेरास्ववियुमा उमेर हद लगाउनेबारेमा छलफल भइरहे पनि यसका सबै पक्षमा विचार भइरहेको नेपाल प्रेसलाई बताइन् ।

खड्काले भनिन्, ‘कक्षा कोठाका विद्यार्थीको उमेर र भावना बोक्ने नेतृत्वको कुरा छ, तर उमेरमात्र नभएर सङ्गठन पनि चल्नसक्ने हुनुपर्छ भन्ने छ । छलफलकै क्रममा छ । अन्तिम निचोड आउन बाँकी छ ।’

यसैबीच शनिवार बसेको अनेरास्ववियुको बैठकले जेठ १ देखि निर्धारित २४ औं महाधिवेशनको मिति सारेर २५,२६ र २७ मा लगेको छ । यसबीचमा विधान संशोधन प्रस्ताव मस्यौदा गर्न समिति गठन गरेको छ । यहि समितिले उमेर हदको बारेमा टुंगो लगाउनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *