रुपन्देही । बैशाख ८ गते घरमै राखेको बन्दुकले आफैंलाई हानेर आत्महत्या गरेका श्रीमानको मृत्यु भएर किरियामा बसेको ६ दिनको दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुरकी ६० वर्षीया भगवती शर्मा आचार्यको मृत्यु भएको छ।
भगवतीका श्रीमान ८३ वर्षका नारायण आचार्यको वैशाख ८ गते १२ बोर २ नाले बन्दुकले छातिमा गोली लागेर मृत्यु भएको थियो । रेडक्रस दाङका पूर्वअध्यक्ष रहेका आचार्यले आफैंलाई गोली हानी आत्महत्या गरेपछि श्रीमती भगवती किरियामा बसेकी थिइन् । आचार्यका छोरा प्रकाश किरियामै छन्।
८३ वर्षीय श्रीमान नारायणप्रसाद आचार्यको मृत्यु भएको दिनबाटै किरियामा बसेकी भगवतीको मृत्यु भएको तुलसीपुर ७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिए ।
‘नारायणप्रसादको मृत्यु भएको दिनबाटै उहाँ किरियामा बस्नुभएको थियो, ८ गते उहाँको आफैंले घरमा राखेको गोली लागेर मृत्यु भयो, आज किरिया बसेकी उहाँकी कान्छी श्रीमती भगवतीको मृत्यु भएको, यस्तो विपत्ति एउटै घरमा आइलाग्यो’, उनले भने,‘सुगर प्रेसरको बिरामी हुनुहुन्थ्यो पहिलेबाटै, एकातिर श्रीमान बितेको पीडा अर्कोतिर नियमित औषधि लिने बिरामीलाई किरिया बस्दा खानपानको व्यवस्थापन नमिलेकै होला ।’
नारायण प्रसादका दुई श्रीमती रहेका थिए । एक छोरा र छोरीकी आमा रहेकी जेठी श्रीमतीको पहिले नै मृत्यु भएको थियो भने नारायणप्रसाद कान्छी श्रीमती भगवतीसँग बस्दै आएका थिए । भगवतीतर्फ कुनै सन्तान नभएको वडाध्यक्ष जिसी बताउँछन् ।
आफ्नो घरदेखि करिब १ किलोमिटरमा आचार्यको घर रहेको र उनी पहिलेबाटै शौखिन रहेकाले बन्यजन्तु शिकारका लागि लाइसेन्स नै बनाएर बन्दुक घरमा राखेका थिए ।
‘धेरै शौखिन मान्छे हुनुहुन्थ्यो, शिक्षाको विषयमा धेरै सिकाउनुभएको छ समाजलाई तर अन्तिम समयमा यस्तो तरिकाले जीवन गयो, सबैलाई आश्चर्यमा पारेको छ’ वडाध्यक्ष जिसीले भने ।
किरिया बसेकी भगवतीको आज शनिबार बिहान ९ बजेतिर शर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सूर्य रानाले जानकारी दिए ।
श्रीमानको क्रिया बसेकी भगवती एक्कासि बिरामी हुँदा राप्ती लाइफ केयर अस्पताल मोतिपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता रानाको भनाइ छ ।
‘पुरानो सुगरप्रेसरको बिरामी भएको कुरा छ, तर किरिया बसेको ६ दिनमै मृत्यु भयो’ उनले भने ।

Leave a Reply