प्रिय साथी !
यो मेरो ब्लग होइन, अनि लेख त झनै होइन । योग्यता, क्षमता, सीप र हातमा उच्च शिक्षाको राम्रै डिस्टिङ्नसहितको प्रमाणपत्र भएर पनि समाज परिवर्तनको अभियानमा लामबद्ध हामीजस्ता राजनीतिक कार्यकर्तालाई झोले भनेर लाञ्छित गर्ने लम्पट वर्ग सामाजिक सञ्जालमा सबैभन्दा बढी देखिने र सुनिने अवस्था आएपछि यो स्पष्टीकरण दिँदै छु ।
साथी,
हेर्ने हो र जोख्ने हो भने तिम्रो र मेरो झोला उत्तिकै गरुङ्गो छ ।
तिम्रो झोला तिक्तताले भरिएको छ। मेरो झोला तिम्रो त्यही तिक्तता चिर्न सकुँलाकी भन्ने सपनाले भरिएको छ ।
“हुँ म झोले नै हुँ ।”
म झोले हुनु जीवन सङ्घर्षको एउटा परिचय हो । म त्यो झोले हुँ, जसले पार्टीको झण्डा बोकेको छु । त्यो पार्टी जसले देशलाई निरंकुशता, दासता र सबै खाले अन्याय अत्याचार विभेदको चंगुलबाट बाहिर निकाल्न ७५ वर्षदेखि नेतृत्व गरेर आएको छ ।
हो म झोले नै हुँ । चुनाव आउँदा नारा लगाएको छु, नेताका भाषणमा ताली पिटेको छु र प्रायः तिमी र तिमीजस्तै लम्पट वर्गको आलोचनाको पात्र मात्र होइन सोसल मिडियामा ट्रोल बनेको छु । तर, तिमीले कहिल्यै विचार नगरेको कुरा, मेरो झोलामा केवल नेताका आदर्श अनि पार्टीका घोषणापत्र र दस्तावेजमात्र हुँदैनन्, समाज परिवर्तनका योजनाहरू पनि हुन्छन् ।
मेरो लागि झोले हुनु भनेको जिम्मेवारी लिनु पनि हो । मैले यो झोलाभित्र जनताको अभाव, अपमान, भोक र व्यथाको दस्ताबेज बोकेको छु । म त्यो मान्छे हुँ, जसले आफ्नो चेतनालाई एउटा आन्दोलनसँग जोडेको छ।
तिमीलाई थाहा छ ? कुनै पनि राजनीतिक आन्दोलन, कुनै पनि विचार र कुनै पनि परिवर्तन केवल भाषणले सम्भव थिएन र छैन। सडकमा उभिने, झण्डा फहराउने, टाउको फुटाउने, जेल जाने र नारा लगाउने ती ‘झोले’ हरू नै थिए जसले गणतन्त्र ल्याए, लोकतन्त्र जोगाए र संविधान सम्भव बनाए।
तर, इतिहासलाई सम्झिने तिम्रो बानी छैन। तिमी नेतालाई सम्झन्छौँ, केही नेताका अनुहार हेर्छौ, कार्यकर्तालाई होइन। तिमी परिवर्तनका भाषणलाई सम्झन्छौँ र त्यो भाषण जोगाउन भीडमा उभिएका अनुहारहरू बिर्सन्छौँ।
हो!! म त्यही अनुहार हो।
म त्यो झोला बोकेको मान्छे, जसले भोलिको सपना बोकेको छ।
म विचारको झोले हुँ, म विवेकको झोले हुँ ।
आज तिमीलाई सोध्न चाहन्छु,
के विचारप्रति समर्पण गर्नु मेरो बेइमानी हो? के आस्था राख्नु मैले गरेको अपराध हो?
के म मेरो आफ्नो विचार र विवेक प्रयोग गर्न पाउँदिन र ?
परिवर्तनको इतिहास बोकेको पात्र यिनै झोले हैनन् र ?
झोले हुनुको अर्थ के हो ?
कसैले सोचेको होला, झोले हुनु भनेको केवल नेताको अन्धसमर्थक हुनु हो । तर, मेरो लागि झोले हुनु भनेको जिम्मेवारी लिनु पनि हो । मैले यो झोलाभित्र जनताको अभाव, अपमान, भोक र व्यथाको दस्ताबेज बोकेको छु । म त्यो मान्छे हुँ, जसले आफ्नो चेतनालाई एउटा आन्दोलनसँग जोडेको छ।
झोले हुनु भनेको सधैं मूर्ख हुनु होइन। यो केवल त्यो आत्मस्वीकृति हो जसले भन्छ “म विचारमा अडिग छु“। मैले सपना देख्न कहिल्यै थाकेको छैन। म समर्थन गर्छु, अन्धसमर्थन होइन। म परिवर्तनको पक्षमा छु, व्यक्तिको होइन। म समर्थन गर्छु, म विचार गर्छु तर लम्पसार पर्दिन।
म एक झोले हुँ, जसले बाटो खोजिरहेको छ। सार्वजनिक शिक्षा बचाउन खोजिरहेको छ, स्वास्थ्यमा पहुँच खोजिरहेको छ। म त्यो झोले हुँ, जसले देशमा न्याय, समानता र समावेशिता देख्न चाहन्छ।
प्रायः तिमी र तिमीजस्तै लम्पट वर्गको आलोचनाको पात्र मात्र होइन सोसल मिडियामा ट्रोल बनेको छु । तर, तिमीले कहिल्यै विचार नगरेको कुरा, मेरो झोलामा केवल नेताका आदर्श अनि पार्टीका घोषणापत्र र दस्तावेजमात्र हुँदैनन्, समाज परिवर्तनका योजनाहरू पनि हुन्छन् ।
हिजोका परिवर्तन झोलेहरूले नै सम्भव बनाए। राणाविरुद्ध जनक्रान्ति गरे, पञ्चायतविरुद्ध आन्दोलन गरे वा गणतन्त्रको लडाइँ लड्नु परोस् हरेक पटक झोलेहरू नै अगाडि थिए।
आजसम्मका क्रान्तिमा झोलेहरू नै सहिद भए । सडकमा तिम्रा लागी लठ्ठी खाएकाहरु पनि तिनै झोले हुन्, जेल गएकाहरु पनि तिनै झोले हुन् र आज तीनै क्रान्तिकारीलाई निर्धक्क झोले भनेर तिमीले टिप्पणी गर्न सक्ने व्यवस्था ल्याउने पनि झोले नै हुन् ।
झोले बन्नु लाचार हुनु होइन, झोले बन्नु त आँट हो। आफ्नो विचारका लागि, आफ्नो देशका लागि र जनताको लागि लड्न सक्ने साहस हो। झोले त विचार, मूल्य र सपना बोकेको यात्रु हुनु हो।
फेरि म भन्न चाहन्छु, “ हुँ म झोले नै हुँ।”
म तिमीहरू झैं थाकिसकेको छैन, मलाई अझै विश्वास छ यो देश बदलिन्छ। मैले देखेको सपना अधुरो छ र त्यो सपना पुरा गर्न म अझै पनि सडकमा उभिन तयार छु । म गर्वसँग झोले हुन तयार छु ।
म झोलेले हरेक अन्यायको विरोध गर्छु, विवेक बोकेको छु र आशाको झोला काँधमा पुरा नहुन्जेल थामिरहन्छु ।
(रेखा न्यौपाने अनेरास्ववियुकी केन्द्रीय सदस्य हुन्)

Leave a Reply