१२ बुँदे मागसहित फार्मेसी पेशामा आवद्ध भएकाहरू पनि सडकमा ओर्लिँदै

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेपालभरका फार्मेसी क्षेत्रमा संलग्न विद्यार्थी, शिक्षक र व्यवसायिक जनशक्तिले माइतीघरमा प्रदर्शन गर्ने भएका छन्।

स्वतन्त्र युवा फार्मासिष्टको अगुवाइमा १२ बुँदे माग अघि सारेर फार्मेसी पेशा आवद्ध भएकाहरुले माइतिघरमा प्रदर्शन गर्न लागेका हुन्। शिक्षक, निजामति कर्मचारी, आवासिय चिकित्सकहरुले सडक तताइरहेको बेलामा फार्मेसी पेशामा आवद्ध भएकाहरु पनि सडकमा ओर्लिन लागेका हुन्।

पेशा रक्षार्थका लागि आन्दोलन देशभरका फार्मेसी पेसामा आवद्ध भएका व्यक्तिहरूलाई सक्रिय सहभागिता जनाउन आयोजकले आग्रह गरेको छ।

मागहरू

१. प्रत्येक स्थानीय तहमा एक जना फार्मासिष्टको अनिवार्य स्थायी दरबन्दी खुलाउनु पर्ने।
२. प्रत्येक वडा स्वास्थ्य संस्थामा फार्मेसी सहायकको स्थायी दरबन्दी हुनुपर्ने।
३. सरकारी, निजी तथा सामुदायिक फार्मेसीहरूमा कार्यरत फार्मासिष्ट र सहायकहरूको परिश्रमिक नेपाल सरकारको स्वास्थ्य सेवा सातौं र पाँचौं तह बराबर हुनुपर्ने।
४. कार्य समय (Duty Hour) अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्धारण हुनुपर्ने।
५. फार्मासिष्ट तथा सहायक फार्मासिष्ट विना सञ्चालित औषधी पसलहरू तत्काल बन्द गर्नुपर्ने।
६. संघीयताको स्वरूपअनुसार औषधी व्यवस्था विभाग (DDA) र राष्ट्रिय औषधी प्रयोगशाला (NML) सातवटै प्रदेशमा स्थापना हुनुपर्ने।
७. केन्द्र तथा प्रदेश लोक सेवा आयोगद्वारा विज्ञापन गरी स्थानीय तहले राखेका करारका जनशक्तिहरू हटाई सक्षम जनशक्ति नियुक्त गर्नुपर्ने।
८. खाद्य पूरक सामग्रीहरूको गुणस्तरमा कडाइ गरी अनावश्यक बिक्री तथा वितरणमा रोक लगाइनुपर्ने।
९. नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल औषधी लिमिटेडका औषधीहरू सबै सरकारी अस्पताल र बीमा योजनामा अनिवार्य रूपमा राखिनु पर्ने।
१०. बजार अनुगमनका लागि औषधी व्यवस्था विभाग तथा औषधीको गुणस्तर परीक्षणका लागि राष्ट्रिय औषधी प्रयोगशालामा आवश्यक जनशक्ति थपिनु पर्ने।
११. नेपाल फार्मेसी परिषदले वार्षिक कार्यतालिका (क्यालेन्डर) बनाई, पाठ्यक्रम, कलेज पूर्वाधार, शिक्षक, परीक्षा लगायत आफ्ना सम्पूर्ण कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने।
१२. विविध अन्य विषयहरू।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *