नाउपासँग एकता गर्नुअघि जनमतले बोलायो बैठक

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। नागरिक उन्मुक्तिसँग पार्टी एकता गर्नेबारे छलफल गर्नको लागि बैठक बोलाइएको प्रवक्ता डा.शरद यादवले बताए।

उनका अनुसार बैठक वैशाख १६ गते जनमत पार्टीको कार्यालय बानेश्वरमा बस्नेछ। बैठकमा सबै सदस्यलाई नागरिकता वा मतदाता परिचयपत्र लिएर अनिवार्य रुपमा उपस्थित हुन भनिएको छ।

१७ गते जनमत र नाउपाबीच पार्टी एकताको घोषणा हुँदैछ। एकीकरण घोषणा कार्यक्रममा सबै केन्द्रीय सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश समन्वय समिति साथै भातृ तथा शुभेच्छुक संगठनका सदस्यहरू सहित उपस्थित हुन सक्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई आमन्त्रण गरिएको प्रवक्ता यादवले बताए।

नाउपाले पनि १५ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। बैठकमा केन्द्रीय सदस्यहरूलाई मतदाता परिचयपत्र वा नागरिकता ल्याउन भनिएको छ ।

नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी एकतापछिको पार्टीमा पनि संरक्षक रहनेछन्। सीके रावत अध्यक्ष रहने र रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने गरी सहमतिको खाका बनाइएको छ । चुनाव चिन्ह ढकिया र पार्टीको नाम नागरिक जनमत राख्ने सहमति भइसकेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *