पहलगाम आतंकवादी हमलाको भू-राजनीतिक प्रभाव

कश्मीर उपत्यकाको मनोरम पर्यटकीयस्थल पहलगाममा गत मंगलबार भएको नृशंस आतंकवादी हमलाले दक्षिण एसियाको शान्तिलाई पुनः एकपटक खलल पुर्‍याएको छ । उक्त हमलामा २७ जना निहत्था पर्यटक, जसमा २५ भारतीय, १-१ नेपाली र इमारती नागरिकको ज्यान गएको थियो । यस घटनाले भारतको आन्तरिक सुरक्षा प्रणालीमा गम्भीर प्रश्न उठाएको छ भने भारत-पाकिस्तानबीचको पहिले नै तनावपूर्ण सम्बन्ध अझ बिग्रने निश्चित छ । किनभने यस हमलाको जिम्मेवारी पाकिस्तानमा आधारित आतंकवादी समूह लश्कर-ए-तैयबाले लिएको जनाइएको छ ।

यस घटनाले क्षेत्रीय सहयोग संस्था सार्क जस्ता मञ्चहरूमा सहकार्य अझ जटिल बनाउँदै दक्षिण एसियामा आतंकवादविरुद्धको संयुक्त प्रयासहरूलाई कमजोर पार्नसक्छ । नेपालीलगायत विदेशी नागरिकको मृत्युले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षित गरेको छ, जसले गर्दा पाकिस्तानमाथि कूटनीतिक दबाब बढ्न गएको छ । पर्यटनमा निर्भर कश्मीरी अर्थतन्त्रमा यस घटनाबाट प्रभाव पर्ने देखिन्छ । किनभने सुरक्षा चिन्ता बढेपछि पर्यटकहरू आउन हिचकिचाउनसक्छन् । समग्रमा यो घटनाले भारत-पाक सम्बन्ध, क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय आतंकवादविरुद्धका प्रयासहरूमा दीर्घकालीन नकारात्मक प्रभाव पार्नसक्छ, जसले दक्षिण एसियाको सामरिक सन्तुलनलाई अस्थिर बनाउने खतरा देखिन्छ ।

पहलगाम, जो अनन्तनाग जिल्लामा पर्छ । यो कश्मीरको प्रमुख पर्यटकीय आकर्षण केन्द्र हो । यस क्षेत्रमा वार्षिक एक करोडभन्दा बढी पर्यटक आउने गर्छन् । हमला समयमा स्थानीय समयअनुसार आतंकवादीहरूले होटेल वरिपरि गोली हानेका थिए । घटनास्थलमा भएको अध्ययनले यसलाई पूर्वनियोजित, व्यवस्थित र धार्मिक आधारमा गरिएको हमला भन्ने संकेत दिन्छ । यस हमलामा आतंकवादीहरूले पर्यटकहरूको धर्म (हिन्दू) को आधारमा निशाना बनाएका थिए, जसले गर्दा यो घटना धार्मिक उग्रवादसँग जोडिएको देखिन्छ ।

यो घटनाले भारत-पाक सम्बन्ध, क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय आतंकवादविरुद्धका प्रयासहरूमा दीर्घकालीन नकारात्मक प्रभाव पार्नसक्छ, जसले दक्षिण एसियाको सामरिक सन्तुलनलाई अस्थिर बनाउने खतरा देखिन्छ ।

भारतको प्रतिक्रिया र सुरक्षा नीतिमा प्रभाव

लगातार दश वर्षदेखि भारतको सत्ताको वागडोर सम्हालेका र ‘छिमेकी पहिले’ नीति लिएका प्रधानमन्त्री मोदी सरकारको सुरक्षा संयन्त्र पहलगाममा यस पटक गम्भीर रूपमा चुकेको छ, तर प्रारम्भिक रूपमा स्थितिलाई आफू अनुकूल बनाउन भारत सरकारले यस घटनाको सम्पूर्ण दोष पाकिस्तानलाई लगाएको छ । घटनापछि भारत सरकारले मन्त्रिपरिषद्को सुरक्षा समितिको आपतकालीन बैठक बोलाई कश्मीर उपत्यकामा अतिरिक्त सुरक्षा बल तैनाथ गरी आतंकवादविरोधी अभियानहरू तीव्र बनाउने निर्णय गरेको छ ।

साथै कूटनीतिक रूपमा दीर्घकालीन असर पर्नेगरी सिन्धु जल सम्झौता (Indus Water Treaty) लाई एकतर्फी रूपमा खारेज गर्ने, सम्पूर्ण भारत–पाकिस्तान सीमा नाका बन्द गर्ने, पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्नेलगायतका कठोर कदम चाल्ने निर्णय गरेको छ । यस आतंकवादी घटनाकै कारणले गर्दा भारतले संयुक्त राष्ट्रसंघमा पाकिस्तानविरुद्ध प्रस्ताव ल्याउने सम्भावनालाई अझ बल पुर्‍याएको छ । भारतका यी निर्णयहरूले पाकिस्तानको कृषि र जलविद्युत उत्पादनमा ठूलो असर पार्नसक्छ । साथै दुई देशबीच व्यापार र यातायातमा ठूलो बाधा उत्पन्न गर्नेछ । त्यस्तै द्विपक्षीय सम्बन्ध अझै तनावपूर्ण बनाउनेछ ।

तर पाकिस्तानले यस हमलासँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गर्दै यसलाई ‘भारतको आन्तरिक मामला’ रहेको जनाएको छ । साथै सिन्धु घाँटी सम्झौता भारतले एकल रूपमा खारेज गर्न नसक्ने र यदि त्यसो भएमा जवाफी कारबाहीका लागि तयार रहेको संकेत गरेको छ, तर भारतीय खुफिया विभागले भने यो हमला प्रत्यक्ष रूपमा पाकिस्तानबाट निर्देशित भएको भन्ने दाबी गरेको छ ।

क्षेत्रीय सुरक्षामा पर्ने प्रभाव

यस घटनाले दक्षिण एसियाको भू-राजनीतिमा ठूलो प्रभाव पार्ने देखिन्छ । यस घटनाबाट सार्क सहकार्य अझै कमजोर बन्ने देखिएको छ । स्थापनाकालदेखि नै भारत-पाकिस्तान द्वन्द्वको चपेटामा परेको सार्कले पुनः केही गतिविधि गर्नसक्ने छैन भने यसबाट पूरै दक्षिण एसियाले विभिन्न कठिनाइहरू भोग्नुपर्ने हुनसक्छ । सन् २०१६ को उरी हमलापछि भारतले सार्क शिखर सम्मेलन बहिष्कार गरेको थियो । यस पटक पनि त्यस्तै नीति दोहोरिनसक्छ । भारत-पाकिस्तानबीच सम्भावित सैन्य टकरावको जोखिम बढेको छ । यदि यस्तो टकराव भयो भने नेपाल, बंगलादेश र अफगानिस्तान जस्ता छिमेकी देशहरूमा असुरक्षाको स्थिति तथा भावना बढ्नसक्छ ।

तत्कालीन रूपमा भारतले पुनः कश्मीर नीतिमा परिर्वतन गर्दै कश्मीरमा अझ कडा सुरक्षा नीति लिनसक्छ । यसबाट स्थानीय जनताका अधिकारहरूमा हस्तक्षेप बढ्ने जोखिम छ र सो क्षेत्रमा थप तनाव सृजना हुनेछ ।

साथै आतंकवादी समूहहरूले यस संक्रमणको अवस्थामा फाइदा उठाएर क्षेत्रीय स्थिरतालाई चुनौती दिनसक्छन् । भारत तथा क्षेत्रीय भू-राजनीति तथा अर्थ व्यवस्थामा दीर्घकालीन प्रभावहरू पार्नसक्ने देखिन्छ । तत्कालीन रूपमा भारतले पुनः कश्मीर नीतिमा परिर्वतन गर्दै कश्मीरमा अझ कडा सुरक्षा नीति लिनसक्छ । यसबाट स्थानीय जनताका अधिकारहरूमा हस्तक्षेप बढ्ने जोखिम छ र सो क्षेत्रमा थप तनाव सृजना हुनेछ । यस घटना र यसपछि भारत र पाकिस्तानबीच हुने सम्भावित द्वन्द्वले नेपाल, बंगलादेश जस्ता छिमेकी देशहरूमा असुरक्षाको भावना बढ्ने खतरा बढ्दै जानेछ र आतंकवादको निशानामा पर्ने खतरा छ ।

यस पटकको आतंकवादी हमलामा आतंकवादीहरूले निहत्था पर्यटकहरूमाथि धर्मका आधारमा छानीछानी आक्रमण गरिनुले भारतमा हिन्दू-मुस्लिमबीचको खाडललाई झनै विकराल बनाउने संकेत गरेको छ । मोदी सरकारले मुस्लिम नीतिलाई थप कडाइ गर्ने संकेत गरिरहेको छ, जसले भारतमा मात्र नभई नेपालमा समेत साम्प्रदायिक अशान्ति निम्त्याउनसक्छ ।

नेपालमा पर्ने प्रभाव

पहलगाम हमलामा एक नेपाली नागरिकको समेत मृत्यु हुनु अत्यन्त दुःखद हो । सुनिएअनुसार यस घटनामा पर्यटकहरूलाई उनीहरूको धर्मका आधारमा हत्या गरिएको थियो र मारिने अधिकांश हिन्दू नै थिए । यस घटनाबाट नेपालका बहुसंख्यक हिन्दूहरू भारत वा नेपालमै पनि सुरक्षित छैनन् भन्ने बुझ्न सकिन्छ । अप्रत्यक्ष रूपमा नेपाललाई यस घटनापश्चात सुरक्षा, अर्थतन्त्र र कूटनीतिक क्षेत्रहरूमा गम्भीर प्रभाव पर्ने सम्भावना छ । यस घटनाले भारत-पाकिस्तान तनाव बढाउँदै गर्दा नेपालको खुला सीमामा आतंकवादी गतिविधिको जोखिम, पर्यटन उद्योगमा असर र क्षेत्रीय स्थिरतामा थप चुनौती उत्पन्न गर्नेछ । नेपाल सरकारले नागरिक सुरक्षा बढाउन, सीमा नियन्त्रण कडा गर्न र क्षेत्रीय शान्तिका लागि कूटनीतिक भूमिका खेल्न आवश्यक रहेको छ । यदि यस्तो स्थिति जारी रह्यो भने नेपालको सुरक्षा र आर्थिक स्थिरतामा समेत दीर्घकालीन नकारात्मक असर पर्ने देखिन्छ ।

पहलगाम हमलाले कश्मीर समस्याको जटिलता र यसले दक्षिण एसियालाई दिने सुरक्षा चुनौतीहरू उजागर गरेको छ । यस समस्याको स्थायी समाधानका लागि पाकिस्तानले आतंकवादी समूहहरूप्रति कडा नीति अवलम्बन गर्नुपर्छ । साथै अन्तर्राष्ट्रिय समुदायले यस मामिलामा सक्रिय भूमिका खेलेर दक्षिण एसियालाई आतंकवाद र हिंसाबाट मुक्त गर्नुपर्छ । यदि यस्तो गरिएन भने यो क्षेत्र लामो समयसम्म अस्थिरताको चक्रबाट मुक्त हुन सक्दैन । जुन विश्व शान्तिका लागि पनि ठूलो खतरा हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *