अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्को पहिलो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

काठमाडौं । बौद्ध धर्मालम्बी गुरुङ समुदायको विश्वव्यापी संस्था अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्को पहिलो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन २०२५ सेप्टेम्बर २५ र २६ (२०८२ असोज ९ र १०) मा काठमाडौंमा आयोजना गरिने भएको छ ।

सम्मेलनमा नेपाल, भारत, भूटान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, अष्ट्रेलियालगायत करिब एक दर्जन देशमा बसोबास गर्ने बौद्ध धर्मालम्बी गुरुङ समुदायको सहभागिता रहने परिषदले जनाएको छ ।

यस महाधिवेशनमा ‘गुरुङ बुद्धिजम’को अवधारणा र यसले अपनाउने पेक्ष्या (संस्कार संस्कृति) का बारेमा विस्तृत छलफल गरिर ‘गुरुङ बुद्धिजम पेक्ष्या’ नामक निर्देशिका जारी गरिनेछ । त्यसैले, विश्वभर छरिएर रहेका बौद्ध धर्म मान्ने गुरुङ समुदायका सदस्य तथा लामा गुरुहरुलाई महाधिवेशनमा सहभागी हुन परिषद् हार्दिक अपील गर्दछ ।

अगामी सेप्टेम्बर २५ र २६ मा हुने अन्तर्राष्ट्रिय सम्मेलनको तयारीस्वरूप २०८२ बैशाख १३ गते काठमाडौंको तमू बौद्ध सेवा समिति, बैशाख १५ गते पोखरास्थित बौद्ध अर्घौं सदन, बैशाख १६ गते पोखराकै पार्दी तमू समाज र बैशाख २० गते झापाको माईधारस्थित गुरुङ गुम्बामा पूर्व क्षेत्रका गुरुङ समुदायका सदस्य तथा लामा गुरुहरूसँग बौद्ध धर्म र गुरुङ संस्कारसंस्कृतिबारे विस्तृत छलफल तथा सुझाव संकलन कार्यक्रम आयोजना गरिने परिषदले जनाएको छ ।

त्यसैगरी नेपाल, भारत, भूटान र संयक्त राज्य अमेरिकाका गरी चार देशका प्रतिनिधिहरूसहित मे १७ तारिख (जेठ ३) मा भारतको सिलगुढी, मे १८तारिख(जेठ ४) मा सिक्किमको मेघीडाँडास्थित रिन्छेनछोइलिङ गुम्बा, मे १९ तारिख(जेठ ५) मा गान्तोक, र मे २० तारिख(जेठ ६)मा याङ–याङमा अन्तक्र्रियाहरुआयोजना गरिने छन् । त्यसपछि भारतकै दार्जिलिङ र खर्साङमा पनि छलफलहरु आयोजना गर्ने कार्यक्रम रहेको छ ।

अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्, बौद्ध धर्मको पञ्चशीलमा आधारित मूल्य र मान्यताका आधारमा गुरुङ संस्कार संस्कृतिलाई अनुसरण गर्ने गुरुङ समुदायका सदस्यहरूको अन्तर्राष्ट्रिय संस्था हो।यसको बौद्धमार्गी गुरुङ समुदायको बसोबास रहेका विभिन्न देशहरूमा राष्ट्रिय परिषद्हरू पनि क्रियाशील छन् ।

परिषद्ले गुरुङ संस्कारसंस्कृतिमा विशेष भूमिका निर्वाह गर्ने लामा गुरुहरूलाई परम्पराको संरक्षण तथा निरन्तरताका लागि उत्प्रेरित गर्छ। साथै, गुरुङ संस्कार र बौद्ध धर्मलाई एकैसाथ बुझ्ने तथा अभ्यास गर्ने गुरुहरूको संरक्षण र उत्पादनलाई प्रवर्धन गर्दै समुदायको संस्कारमा न्यूनतम मापदण्डहरुमा एकरूपता र एकता कायम गर्ने उद्देश्य राखेको छ ।

परिषद्ले गुरुङ समुदायले परापूर्वकालदेखि अभ्यास गर्दै आएको बौद्ध धर्मलाई ‘गुरुङ बुद्धिजम’को रूपमा परिभाषित गरेको छ। गुरुङ कुलमा जन्मेका समुदायका सदस्यहरूले विविध चाडपर्व तथा संस्कारहरूमा बौद्ध लामाहरुको माध्यमबाट परम्परागत विधिहरू पूरा गर्दै आएका छन् । ती अभ्यासकर्तालाई “गुरुङ बौद्धधर्मालम्बी” र त्यस्ता अभ्यासहरुलाई ‘गुरुङ बुद्धिजम’ भनेर चिनाइएको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *