पार्टी एकताबारे निर्णय गर्न नाउपाले बोलायो केन्द्रीय समिति बैठक, मतदाता परिचयपत्र र नागरिकता ल्याउन निर्देशन

कैलाली । यही बैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता हुने भएको छ । पार्टी एकतालाई मूर्त रूप दिन १५ गते नाउपाले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै १५ गते पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको जानकारी गराएकी छन् । विज्ञप्तिमा १७ गते जनमत पार्टीसँग एकता हुने र १५ गते यस विषयमा छलफल हुने जनाइएको छ। १५ गते केन्द्रीय सदस्यहरूलाई मतदाता परिचयपत्र र नागरिकता ल्याउन भनिएको छ ।

वैशाख १५ गतेको केन्द्रीय समिति बैठकले पार्टी एकताको निर्णय गर्ने र सोहीअनुसार १७ गते पार्टी एकता गर्ने नागरिक उन्मुक्ति पार्टीले अन्तिम तयारी गरेको छ ।

नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी एकतापछिको पार्टीमा पनि संरक्षक रहनेछन् । सीके रावत अध्यक्ष रहने र रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने गरी सहमतिको खाका बनाइएको छ । चुनाव चिन्ह ढकिया र पार्टीको नाम नागरिक जनमत पार्टी राख्ने गरी छलफल अन्तिम चरणमा पुर्याइएको छ ।

एकताको लागि ९ बुँदे सहमतिको खाका बनाइएको छ । १७ गते उक्त पत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरिने नागरिक उन्मुक्ति पार्टीले जनाएको छ ।

दुई पार्टीको एकतापछि बन्ने नयाँ पार्टी प्रतिनिधिसभाको छैटौं ठूलो दल बन्नेछ । अहिले संसदमा रहेका १३ दलमध्ये जनमत आठौं र नागरिक उन्मुक्ति एघारौं पार्टीको रूपमा छन् । यदि यी दुई दलबीच एकता भयो भने त्यो पार्टी छैटौं ठूलो दल बन्नेछ । एकीकृत पार्टीको सांसद संख्या १० हुन्छ ।

प्रतिनिधिसभामा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि १० सीट नै छ । तराईको सबैभन्दा ठूलो पार्टी जसपा नेपाल थियो । जसपा नेपाल विभाजन भइसकेको अवस्थामा नाउपा र जनमत एकता भए यो प्रतिनिधिसभामा तराई-मधेशको सबैभन्दा ठूलो दल बन्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *