राजसंस्थाको वकालत गरेको विषयमा रास्वपाका लुम्बिनी अध्यक्ष भन्छन्- जनताको भावना बोलेको हुँ

रूपन्देही । राजतन्त्रको विषयमा पार्टीको आधिकारिक नीतिभन्दा फरक धारणा राखेर चर्चामा आएका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठक । उनले केही दिनअघि सामाजिक सञ्जालमा लेखेको स्टाटसले केन्द्रसम्म तरंग ल्याएको थियो ।

पाठकले आफ्नो स्टाटसमा देशमा संरक्षकको भूमिकामा राजसंस्था आवश्यक बनेको बताएका थिए । साथै राजा वीरेन्द्रको नातिनीलाई महारानी बनाउन सकिने वकालत पनि गरेका थिए । पार्टीभित्रका केही गणतन्त्रवादी नेताहरूले उनलाई फोन गरेर स्टाटस हटाउन भने पनि उनले नहटाउने अडान लिए ।

रास्वपा गणतन्त्रको बचाउमा राम्ररी नखुलिरहेको स्थितिमा पाठकको स्टाटसले कतै पार्टी राजसंस्थाको पक्षमा मोडिने त होइन भन्ने समेत कतिपयले आशंका गरे, तर पाठकले भने आफू पार्टीको नीतिभन्दा बाहिर नगएको प्रस्टीकरण दिएका छन् । बहसका लागि मात्रै यो विषयको उठान गरेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा राजतन्त्रको पक्षमा बोलेको भन्दै पाठकलाई उनकै पार्टीका युवा नेताहरूले हप्काएका छन् । निकटस्थहरूलाई उनले विभिन्न जिल्लाका नेताहरूले हप्काएको सुनाएका छन् । नेपाल प्रेसकर्मी रामप्रसाद आचार्यसँग कुरा गर्दै प्रदेश अध्यक्ष देवराज पाठकले आफ्नो व्यक्तिगत धारणा सञ्जालमा राखेको र त्यसमा आफू अहिले पनि प्रतिबद्ध भएको बताएका छन् । यसै विषयमा पाठकसित गरिएको संक्षिप्त कुराकानीः

– राजतन्त्रप्रति लगाव देखाएर स्टटास लेख्नुभयो, पार्टीको नीतिविपरीत जान मिल्छ ?

हाम्रो पार्टी लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो, जहाँ आफ्ना विचार राख्ने स्वतन्त्रता छ । मैले जनताले उठाएको विषय सञ्जालमा राखेको हुँ, जुन पार्टीको धारणाभन्दा फरक छैन । म त्यसमा दृढ छु । उन्नत भनिएको गणतन्त्रमा लुट, भ्रष्टाचार, बेथिति, अराजकता, अन्याय र सत्ताको चरम दुरूपयोग हुन्छ भन्ने लागेको भए २०६२/०६३ मा जनता सडकमा उत्रिने थिएनन् । रक्षकहरू नै भक्षक भएपछि नेता, नेतृत्व र व्यवस्थामाथि मात्र होइन, जनतामाथि पनि प्रश्न उठेको विषय मैले उठाएको हुँ ।

– रास्वपाको जलेश्वर बैठकले गणतन्त्रलाई पास गरेको थियो, अहिले फेरि ढुलमुल गरिरहेको अवस्था हो ?

म पार्टी विचारमा प्रस्ट छ, यसमा मैले उठाएको विषय पनि क्लियर छ । राजावादीहरूले उठाएको माग गलत छ भनेर मैले प्रस्ट लेखेको छु । राजा माग्नेहरूले वीरेन्द्रको सन्तानको सट्टा किन ज्ञानेन्द्रलाई मान्ने ? वीरेन्द्रकी छोरीको हाँगा छँदैछ भनेको हुँ । मैले लेखेको विषय हटाएको छैन । शब्द शब्द केलाएर हेर्दा मलाई गलत गरेँ भन्ने लाग्दैन । पार्टीको लाइन जे हो, अहिले पनि त्यही रहेको छु ।

जलेश्वर बैठकले बहुलवादमा आधारित संघीय गणतान्त्रिक व्यवस्थाको पक्षमा निर्णय गरेको हो र म त्यो बैठकको निर्णयभन्दा बाहिर गएको छैन । म पार्टी लाइनमै छु । पार्टीको नीति, विचार र निर्णयभन्दा म बाहिर छैन ।

– वीरेन्द्र र ज्ञानेन्द्रको विषय कसरी उठाउनुभयो त ?

राजा माग्नेहरूले पनि न्यायोचित माग गरेनन् भन्ने मेरो कुरा हो । राजतन्त्रवादीहरूले वीरेन्द्रकी छोरीलाई अगाडि सारेको भए लैंगिक समानताको विषय पनि आउने थियो, छोरी राजा हुनुहुँदैन भन्ने थिएन र छैन, तर उनीहरूले माग नै गलत उठाए, त्यो न्यायोचित होइन भन्ने हो ।

राजतन्त्रमा पनि महिलालाई न्याय नगरेको भन्दै राजतन्त्रको विरासत राजा वीरेन्द्रको विरासत वंशभित्रबाट हुनुपर्ने धारणा त्यसमा जोडेको थिएँ । राजावादीले राजतन्त्रको विरासत राजा वीरेन्द्रको वंशभित्र हुनुपर्छ, छोरा होस् वा छोरी भन्न सक्नुपर्छ। यो बहसमा फेरि पनि पुरुषप्रधान दृष्टिकोणले न्याय गरेन । राजा वीरेन्द्रकी छोरी श्रुतिका दुई सन्तान गीर्वाणी र सुरांगना छन् । किन बेलायतमा झैं राजाको ठाउँमा महारानी नराख्ने ? यो प्रश्न उठ्नुपर्थ्यो कि पर्थेन ? त्यो राजावादी आन्दोलनकारीलाई गरेको मेरो प्रश्न हो ।

– तपाईंले लेखेको विषयमा प्रस्टसँग राजतन्त्रको वकालत देखिन्छ । तपाईंकै पार्टीका नेताहरूले पनि चासो दिएको थिएन नि होइन ?

मैलै प्रस्ट रूपमा जनतामा बढेको निराशालाई उठाएको छु । पार्टीभित्रका केही र धेरै बाहिरका मान्छेहरूले यसको आसयलाई फरक बुझेकाले समस्या भएको हो । मैले गणतन्त्रको ठेक्का लिएको भनिएका तीन ठूला पार्टीले राम्रो गरेनन् भन्दा, उनीहरूको आलोचना गर्दा कसरी राजतन्त्रको वकालत हुन्छ ?

शासनमा गरिएको सिन्डिकेटको विरोध हो, मैले यो व्यवस्था नै गलत भनेको छैन, व्यापक सुधार गर्नुपर्छ भनेको छु । यो विषयमा नबुझेर समस्या भएको हो । पार्टी नेतृत्वबाट तपाईंको विषय के हो भनेर सोधिएको थियो । जवाफमा राजनीतिमा लाग्नेहरू दलका नेता कार्यकर्तामात्र नभएर त्यही समाजमा बस्ने नागरिक र सामाजिक प्राणी भएकाले समाजमा र गाउँघरमा जनताले के बोल्छन्, के सोच्छन् भनेर पनि बुझ्नुपर्ने बेला आएको भन्दै जवाफ दिएको छु ।

अहिले गणतन्त्रवादीप्रतिको वितृष्णाको कारण सडकमा राजतन्त्रको चर्चा सुरू भएको हो । जनताले विवेकपूर्ण तरिकाले सही जनप्रतिनिधि छान्ने अवस्था र सञ्चालनको अवस्था आएन । त्यसलाई सुधारौं भन्ने हो । मैले राजतन्त्रको पक्षमा कुनै पनि वकालत गरेको छैन । बरु वंशको आधारमा राजा बनाउने व्यवस्थाको वकालत गरेकाहरूले पनि वीरेन्द्रका नातिनीहरू छन्, उनीहरूको बारेमा किन नबोलेका होलान् भनेर प्रश्न गरेको हुँ ।

– देश र जनताको संरक्षकको रूपमा राजा चाहिने भन्दै वैशाख ५ गते बिहान पौने आठ बजेकोे फेसबुक स्टाटसमा प्रस्ट छ त ?

मेरो धारणा राख्ने स्वतन्त्रता मलाई छ, तर मेरो आशय त्यो थिएन र होइन । स्टाटसको विषयमा पार्टी नेतृत्वले पनि धारणा मागेको छ । आफूले राजतन्त्रको पक्षमा नभई जनताको भावना बोलेको र गणतन्त्रवादीहरू सच्चिनुपर्ने आग्रहस्वरूप लेखेको पार्टी नेतृत्वलाई जवाफ दिएको छु । स्टाटस हटाउनुपर्ने भनेर कसैले भनेको छैन ।

२०६२/०६३ को जनआन्दोलनबाट आएको गणतन्त्रलाई राजनीतिक नेतृत्वले थिलथिलो पारे । देशमा सुशासन छैन, भ्रष्टाचार छ । त्यही कारण जनतामा वितृष्णा पैदा भएको छ । राजावादीहरू गणतन्त्रको विरूद्धमा सडकमा उत्रिन थाले । त्यसैले गणतन्त्रवादी हौं भन्नेहरू सच्चिनुपर्छ भन्ने सन्दर्भमा फेसबुकमा लेखेको हुँ ।

– तपाईंले लेखेपछि प्रदेशको महामन्त्रीले पनि उस्तै प्रकृतिको धारणा लेख्नुभयो, सल्लाह नै गरेर हो कि ?

फेसबुकमा लेख्ने सबै कुरा पार्टीको आधिकारिक धारणा हुँदैन । महामन्त्रीले लेखेपछि मैले फोन गरेर सोधेको थिएँ । उहाँ पनि यो प्रणालीमा देखिएको समस्याको विरोध गरेको हो, व्यवस्थाको होइन भन्ने विषयमा क्लियर हुनुहुन्छ । धेरै साथीहरूले यसमा चासो राख्नुभएको छ, मिडियाकर्मीले पनि चासो राख्नुभएको छ ।

हामी पार्टीको विचारभन्दा फरक छैनौं । राजतन्त्रको आवाज उठाउनेलाई कसरी सम्बोधन गर्ने ? उनीहरूको निराशालाई कसरी चिर्ने भन्ने चिन्ता र चासो हो । अहिलेको व्यवस्था हटाएर राजतन्त्रको पक्षमा लागेको भन्ने विषय गलत बुझाइ हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *