रात्रिकालीन १० औँ मणिमुकुन्द कप भलिबल : सेमिफाइनलमा गलकोट र गुजरात तथा गण्डकी र आर्मी भिड्दै

रूपन्देही । बुटवलमा पहिलो पटक सुरू भएको रात्रिकालीन १० औँ मणिमुकुन्द कप भलिबल च्याम्पियनसिप २०८२ को सेमिफाइनल समीकरण सकिएको छ । बिहीबार राती सम्पन्न छनौट चरणका २ खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।

प्रतियोगिताको सेमिफाइनलमा समूह ए बाट विजेता बन्दै साग भलिबल एकेडेमी गुजरात भारत एवम् उपविजेता बन्दै त्रिभुवन आर्मी क्लब तथा समूह बी बाट गलकोट भलिबल क्लब विजेता एवम् गण्डकी प्रदेश भलिबल क्लब उपविजेता बन्दै प्रवेश गरेका छन् ।

बिहीबार भएको छनौट चरणको अन्तिम २ खेलमध्ये पहिलो खेलमा साग भलिबल एकेडेमी गुजरात भारत र दोस्रो खेलमा गलकोट भलिबल क्लब विजयी भएका छन् । योसँगै सेमिफाइनलमा पुग्ने ४ टिमको टुङ्गो लागेको हो ।

छनौट चरण अन्तरगत बिहीबार भएको पहिलो खेलमा साग भलिबल एकेडेमी गुजरात भारतले नेपाल सशस्त्र प्रहरीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । गुजरातले सशस्त्रलाई २५–१८, २५–२३ र २५–२२ को अंकमा पराजित गरेको हो ।

दोस्रो खेलमा पनि गलकोट भलिबल क्लबले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । गल्कोटले २५–२०, २६–२४ र २५–१६ अंक सेटमा पुलिसलाई पराजित गरेको हो । पुलिस आफ्नो अन्तिम खेलमा सोझो सेटमा पराजित भएपछि झिनो अंकका आधारमा सेमिफाइनलमा पुग्न असफल भयो ।

शुक्रवार सेमिफाइनल अन्तरगत पहिलो खेल समूह ए को विजेता साग भलिबल एकेडेमी गुजरात भारत र समूह वी को उपविजेता गण्डकी प्रदेश भलिबल क्लबवीच हुनेछ भने दोस्रो सेमिफाइनलमा समूह बी को विजेता गलकोट भलिबल क्लब र समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।

प्रतियोगिताको विजेताले ३ लाख ११ हजार १११ रुपैयाँ नगद, कप, पदक तथा उपविजेता हुने टीमले २ लाख ११ हजार १ सय ११ प्राप्त नगद, कप र पदक प्राप्त गर्नेछ ।

तेस्रो हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र चौथो हुने टीमले पनि प्रोत्साहन स्वरूप ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछ भने प्रतियोगितामा विभिन्न ८ विधामा उत्कृष्ट हुने खेलाडीलाई १० हजारदेखि १५ हजार रुपैयाँसम्म पुरस्कार प्रदान गरिने अध्यक्ष लोकेन्द्र भण्डारीले जनाएका छन् ।

क्लबले २०७२ सालदेखि हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आएमा क्लबले आठौँ संस्करणसम्म जिल्लास्तरीय गरेकोमा गत वर्षको नवौँ संस्करणबाट राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगिताका खेलहरू साँझ ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन गर्ने गरी कोर्टमा लाइटिङको व्यवस्था गरिएको छ । नवौँ संस्करणको उपाधि नेपाल आर्मी क्लबले जितेको थियो ।

पहिलो पटक दिन र रातिमा सञ्चालन गरिएको प्रतियोगितामा सहभागी ८ टीम मध्ये समूह एमा मणिमुकुन्द भलिबल क्लब रुपन्देही, साग भलिबल एकेडेमी गुजरात भारत, त्रिभुवन आर्मी क्लब काठमाडौं र नेपाल एपिएफ क्लब काठमाडौं तथा समूह विमा नेपाल पुलिस क्लब काठमाडौं, गण्डकी प्रदेश भलिबल संघ, कोशी प्रदेश भलिबल संघ, गलकोट भलिबल क्लब बाग्लुङ रहेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *