लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५ : पुरातात्त्विक महत्त्व, संरक्षण, अनुसन्धान र लुम्बिनीलाई आध्यात्मिक बनाउने विषयमा छलफल

रुपन्देही । लुम्बिनीमा ‘लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ सम्पन्न भएको छ । बुधवारबाट सुरु भएको सम्मेलन बिहीबार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले समापन गरेका हुन्।

विश्व सम्पदा सम्मेलनले लुम्बिनीको विकास, संरक्षण र व्यवस्थापनमा ठूलो सहयोग पुगेको धारणा व्यक्त गर्दै सम्मेलन समापन घोषणा गरेका हुन् ।

लुम्बिनी विकास कोषको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, युनेस्को र आईकोमोस नेपालको सहयोगमा आयोजित सम्मेलनले युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाको संरक्षणबारे स्थलगत अनुगमन निरीक्षण गर्दै लुम्बिनीको पुरातात्त्विक महत्त्व, संरक्षण, अनुसन्धान र लुम्बिनीलाई आध्यात्मिक बनाउने विषयमा विशेषरुपमा छलफल र विमर्श भएको थियो ।

सम्मेलनमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यले पुरातत्त्व विभाग र युनेस्कोले दिएको निर्देशन र सुझावको आधारमा गरेको कार्य प्रगति प्रस्तुत गरेका थिए।

सम्मेलनमा डरहम विश्वविद्यालय युके प्राध्यापक रोबिन कोनिङ्घमले पुरातात्त्विक खोज तथा अनुसन्धानबारे कार्यपत्र प्रस्तुत गरेका थिए भने लुम्बिनी विकास कोषको विश्व सम्पदा इकाईका वरिष्ठ निर्देशक तथा प्रमुख ज्ञानिन राईले तीर्थयात्रा व्यवस्थापन बारे कार्यपत्र प्रस्तुत गरेका थिए।

सम्मेलनमा सम्पदा व्यवस्थापनमा अन्तर्राष्ट्रिय विशेषज्ञ डा. काई वेइसले पुरातात्त्विक महत्त्व र गुम्बा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष गेशे जिग्दोलले लुम्बिनीमा धार्मिक महत्त्वबारे चर्चा गरेका थिए ।

दुई दिन आयोजना भएको उक्त सम्मेलनले लुम्बिनीको संरक्षण र प्रवर्द्धन र विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको वरिपरि भइरहेका पूर्वाधार निर्माण र प्रदूषणका कारण परेको प्रभावबारे सुधारको लागि पहल गर्ने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *