कान्छारामलाई हटाउन दुई हप्ता अगाडि नै देउवाले गरेका थिए सिफारिस, ओलीले ‘बिर्सिँदा’ ढिलाइ

काठमाडौं । ऊर्जाराज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई कांग्रेस सभापति देउवाकै सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट बर्खास्त गरेको खुलेको छ । बालुवाटार स्रोतका अनुसार दुई हप्ता अगाडि नै देउवाले प्रधानमन्त्री समक्ष उनलाई हटाउन प्रस्ताव गरेका थिए ।

कान्छारामले आफ्नै पार्टीका उर्जामन्त्री दिपक खड्कासँग टसल गर्दै आएपछि कांग्रेस नेतृत्व उनीसँग असन्तुष्ट बनेको हो । स्रोतका अनुसार खड्काले कि आफूलाई हटाउन कि कान्छारामलाई हटाउन नेतृत्वलाई बारम्बार आग्रह गरेका थिए । त्यसै अनुरुप देउवाले ओलीलाई प्रस्ताव गरेको बुझिएको छ ।

‘कान्छारामले अराजक बोली र व्यवहार देखाइरहेकाले उनलाई संविधानबमोजिम पदमुक्त गर्न देउवाले दुई हप्ता अगाडि नै आग्रह गर्नुभएको थियो । तर, प्रधानमन्त्रीले बिर्सिनुभएछ । अहिले फेरि गृहमन्त्री मार्फत ताकेता भएपछि पदमुक्त गरिएको हो’, बालुवाटार स्रोतले भन्यो ।

यो बीचमा परराष्ट्रमन्त्री आरजु देउवाले पनि कान्छारामसँग उनको गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन् । आरजुले आफूलाई सार्वजनिकरुपमा माफी माग्न भनेको तर आफूले इन्कार गरेपिछ हटाउने संकेत गरेको कान्छारामले बताएका छन् ।

हिजो यूएइका उपप्रधानमन्त्रीसँग सिंहदरवारमा भेटवार्ता पश्चात गृहमन्त्री लेखकले प्रधानमन्त्रीलाई भेटेका थिए । उक्त भेटमा देउवाले दुई हप्ता अगाडि गरेको सिफारिस लेखकले प्रधानमन्त्रीलाई सम्झाएको स्रोतले बतायो । देउवाले प्रधानमन्त्रीसित कांग्रेसका मन्त्रीहरुको संयोजन गर्ने जिम्मा लेखकलाई दिएर हिँडेका छन् ।

गृहमन्त्रीले ‘बैंककबाट सभापतिज्यूले त्यो कुरा सोध्दै हुनुहुन्थ्यो’ भनेपछि प्रधानमन्त्रीले ‘ए मैले बिर्सिएछु’ भनेका थिए । उनले ‘हटाउनु अगाडि एकपटक कुरा गर्नु पर्ला नि त’ भनेर लेखकलाई सुझाव दिए । त्यसपछि लेखकले त्यहीँबाट कान्छारामलाई फोन गरेर राजीनामा मागे ।

राजीनामा नदिए बर्खास्त हुने चेतावनी दिए । कान्छारामले राजीनामा दिन मानेनन् । त्यसपछि गृहमन्त्रीकै उपस्थितिमा मुख्य सचिव एकनारायण अर्याललाई पदमुक्तको पत्र तयार गर्न लगाइएको स्रोतले बतायो ।

 

Comments

2 responses to “कान्छारामलाई हटाउन दुई हप्ता अगाडि नै देउवाले गरेका थिए सिफारिस, ओलीले ‘बिर्सिँदा’ ढिलाइ”

  1. ksp pyl Avatar
    ksp pyl

    कुरा यसो रहेछ । अनि त्यो कान्छाराम भन्ने अराजकले ओलिलाई किन गाली गरेको ? देश भरीका सडक पुल जिम्मा लिएर नबनाउने यहि हो । पैसा कमाउन पैसा खर्च गरेर मन्त्री बनेकोलाई देउवाले ठिक पारेछन् । राम्रै भयो । कान्छाराम ओलि विरूद्व चुईक्क नबोल । कुलमानलाई हटाउने प्रस्ताव दिपक खडकाले लगे । आरजूले हटाउन दबाब दिईन । ओलिले सबैलाई सोधेर के गरौं भने । तैपनि गगने चाहिँ ओलिलाई किन कुलमान हटाएको भन्छ ? हैन यी काग्रेसीहरू आफू गर्ने अनि दोष चाहिँ ओलिलाई किन ? अझ यो कान्छाराम एउटा बैंकको भूतपूर्व प्रमुखलाई गभर्नर बनाउन हिडेको रहेछ । फेला पर्यो ।

    1. Khaderi Avatar
      Khaderi

      सहि हो।सबैको टार्गेट बा भएका छन् तर बोलिमा नरम पना र हावा गफ नदिए हुने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *