काठमाडौं । आफ्नो नयाँ चलचित्र ‘खेल’ रिलिजको पूर्वसन्ध्यामा यसकी प्रमुख कलाकार सुरक्षा पन्त अनावश्यक कन्ट्रोभर्सीमा परेकी छन् । एक अन्तरवार्तामा उनले पूर्वराजाका नाति हृदयन्द्र शाहलाई खिसिट्यूरी गरेपछि राजावादी तप्का उनीविरुद्ध खनिएको छ ।
फिल्मी कलाकारसँगको अन्तरवार्तामा प्रस्तोताले राजनीतिक विषयवस्तु घुसाइदिएका थिए । पूर्वनवयुवराज हृदयन्द्रको तस्विर देखाएर उनको विषयमा टिप्पणी गर्न लगाइएपछि सुरक्षाले ‘पारसको छोरो होइन ?’ भन्दै कमेन्ट गरिन् । उनले हृदयन्द्रलाई फिल्म खेल्न सुझाव दिएपछि राजावादीहरु भड्किएका हुन् । अर्कोतर्फ गणतान्त्रवादी जमातले भने उनलाई ‘बौद्धिक नायिका’ भन्दै वाहवाही पनि गरिरहेका छन् ।
कलाकारहरु सबैका साझा हुनुपर्ने मान्यता राखिन्छ । त्यसैले कलाकारहरुले सार्वजनिकरुपमा हत्तपत्त राजनीतिक पक्षधरता देखाइहाल्दैनन् । अहिले देशमा राजतन्त्र कि गणतन्त्र भन्ने विवाद उत्कर्षमा छ । यस्तोमा कलाकारहरु पनि बहसबाट उम्किन सकिरहेका छैनन् ।
केही अन्तरवार्ताकारले नियतवस नै कलाकारलाई ‘चिप्ल्याउन’ राजनीतिक प्रश्नको जाल थाप्छन् । सुरक्षा पनि यस्तै जालमा परिन् ।
राजनीतिक बहसमा खुलेर एउटा पक्षधरता लिनासाथ अर्को पक्ष भड्किनु स्वभाविक नै भयो । सुरक्षाले आफूलाई गणतन्त्रवादीका रुपमा राजावादीको निशानामा परेकी छन् । यदि उनले राजसंस्थाको पक्षमा उभ्याएको भए गणतन्त्रवादीको तारो बन्ने पक्का थियो ।
कलाकारलाई सबैखाले दर्शक चाहिन्छ । उनीहरुलाई हेर्न आउनेहरु राजसंस्थावादी पनि हुन सक्छन्, गणतन्त्रवादी पनि । सुरक्षाले पनि पक्कै गणतन्त्रवादी मात्रै आफूलाई हेर्न आउने अपेक्षा गरेकी छैनन् होला ।
तर, अहिले सामाजिक सञ्जालमा राजावादीहरुले सुरक्षाको फिल्म बहिष्कार गर्ने अभियानै चलाइरहेका छन् । खासगरि टिकटकमा उनीविरुद्धको माहोल देख्न सकिन्छ । यसको असर फिल्मलाई पर्न सक्ने खतरा देखिएको छ ।
सुरक्षा अभिनित फिल्म ‘खेल’ भोलीबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मको स्टारकास्ट त्यति बलियो छैन । सुरक्षा नै प्रमुख पात्र हुन् । तर, प्रमुख पात्र नै विवादमा मुछिँदा निर्माण पक्ष चिन्तामा परेको छ ।
योभन्दा अगाडि प्रख्यात गायक प्रकाश सपुतको हकमा पनि यस्तै भएको थियो । सपुतले निर्माण तथा अभिनय गरेको चलचित्र ‘बसन्त’ रिलिज अगाडि उनी कन्ट्रोभर्सीमा परे ।
प्रधानमन्त्री केपी ओलीको एउटा पुस्तक विमोचन कार्यक्रममा उनलाई निम्त्याइएको थियो । कार्यक्रमको प्रकृति र आफ्नो स्वभाव अनुसार उनले ओलीको प्रशंसामा केही शब्द खर्चिए । आलोचकहरुलाई त्यही नै पर्याप्त भयो । सामाजिक सञ्जालमा सपुतविरुद्ध जेहाद छेडियो । अहिलेसम्म पनि उनलाई गाली आउन छोडेको छैन ।
रिलिजपूर्व सपुत विवादमा पर्दा फिल्ममा त्यसको असर पर्यो । उनको चलचित्र ‘बसन्त’ ले गतिलो ब्यापार गर्न सकेन । ‘जे छोए पनि हिट’ को छवि बनाएका यो फिल्ममा नराम्ररी पछारिएका छन् ।
सुरक्षा खेलकी ‘निर्मात्री’ होइनन्, तर प्रमुख कलाकार भएकाले चलचित्रको ठूलो भार उनीमाथि छ । त्यसैले पनि यो विवाद उनलाई गहु्रंगो पर्न सक्ने देखिएको हो ।
हिजो आयोजित ‘खेल’ को प्रिमियरमा सुरक्षाको बडील्यांग्वेजमा यही चिन्ता झल्किन्थ्यो । एक सञ्चारकर्मीले उनलाई बारम्बार यो कन्ट्रोभर्सीका विषयमा सोध्न खोजेकी थिइन् । तर, सुरक्षा तर्किइन् ।
जतिपटक प्रश्न सोध्दा पनि उनले एउटै जवाफ दिइन्, ‘नो पोलिटिकल क्वेसन प्लीज । (कृपया राजनीतिक प्रश्न नगर्नुस)’
यही जवाफ उनले ‘चिप्ल्याउने अंकललाई पनि दिएको भए सायद आज यो नौबत आउने थिएन कि ।

Leave a Reply