वन मासेर भरत ताल निर्माण- बागमतीका निलम्बित नगरप्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर

जनकपुरधाम । वनको जग्गा मासेर ताल निर्माण गरिएको अभियोगमा सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा र उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध अर्को मुद्दा परेको छ ।

वन तथा वातावरण मन्त्रालयले आज जिल्ला अदालत सर्लाहीमा नगरप्रमुख थापा, उपप्रमुख मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध मुद्दा दर्ता भएको हो ।

उनीहरुविरुद्ध वन अतिक्रमण, ताल निर्माण, ढुंगा गिट्टी, बालुवा र माटो उत्खनन गरी हानी नोक्सानी गरेको अभियोगमा मुद्दा दर्ता गराएको अदालतका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिए ।

दर्ता भएको मुद्दा नम्बर ०८१-सी २-०००१ रहेको छ । मुद्दामा प्रतिवादीलाई ५ वर्षसम्मको कैद वा एक लाख रुपैयाँसम्मको जरिवाना वा दुबै सजाय हुनुपर्ने माग दावी गरिएको छ ।

मुद्दामा बागमनी नगरपालिका ४ र १२ स्थित राष्ट्रिय वन क्षेत्र अन्तर्गतको सागरनाथ वन विकास परियोजनाको स्वामित्वमा रहेको करिब १७३ हेक्टर वन क्षेत्र प्रतिवादीहरुको मिलोमतोमा वन क्षेत्रको जग्गा अतिक्रमण गरी बागमती माछा पोखरी (भरत ताल) २ वटालगायत अन्य संरचना निर्माण कार्य वन ऐन, २०७६ को दफा ४९(ग) बमोजिमको कसुर गरेको ठहर गरेको छ ।

सागरनाथ वन परियोजना, सर्लाहीको व्यवस्थापनमा रहेको जग्गा र उक्त परियोजनाको स्वीकृति/सहमति विना नै बागमती नगरपालिकाले ताल निर्माणको नाममा अवैध रुपमा बन पैदावर उत्खनन गरेको र कानून विपरित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरेको दावी मुद्दामा गरिएको छ ।

भरतताल पर्यटक आकर्षणको केन्द्र बनेको छ । यद्दपी गलत नियत तथा कानूनलाई चुनौती दिएर वनको जग्गामा ताल निर्माण गरिएकाले यसअघि पनि उनीहरुविरुद्ध मुद्दा परिसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८१ जेष्ठ २९ मा नगरप्रमुख थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरियो, जुन विचाराधीन अवस्थामा छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *