यी उदाहरण दिँदै युवा डाक्टर आनन्द सिंहले भने- देश बन्दैछ

काठमाडौं । युवा चिकित्सक डाक्टर आनन्द सिंहले नेपालमा केही भएको छैन भन्नेलाई उदाहरणसहित जवाफ दिएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा विहीबार भृकुटीमण्डपमा एमालेद्वारा आयोजित युथ सेलिब्रेसन कार्यक्रममा बोल्दै उनले दुर्गम गाउँमा जन्मिएको सामान्य परिवारको मानिसले राजधानीको भव्य मञ्चमा बोल्न पाउनु लोकतन्त्रको सुन्दरता भएको बताए ।

‘लोकतन्त्र सुन्दर छ, यो मैले मान्नु पर्छ, तपाईँले मान्नु पर्छ, सबैले मान्नु पर्छ’, उनले भने ।

फरक भूगोल, संस्कृति, भाषा, आचरण र संस्कारका नेपालीलाई एकताले एउटै डोरीमा बाँधेर राखेको भन्दै उनले एकता सधैँ कायम हुँदामात्र देश बन्ने बताए । एकता भावनामा मात्र होइन विचार, बौद्धिकता र समावेशितामा पनि हुनुपर्ने सिंहको जोड छ ।

संविधान निर्माण भइसकेपछि नेपालले निक्कै प्रगति गरेको उनको भनाइ छ । एक दशकमा नेपालमा उल्लेखनीय काम भएको भन्दै उनले राष्ट्र निर्माणको कामलाई अझै गुणात्मक रूपमा अघि बढाउन आवश्यक रहेको र यसमा युवा सहभागिता आवश्यक रहेको प्रष्ट्याए ।

‘युवाको सही परिचालन हुन आवश्यक छ, सानोभन्दा सानो काम गरेर युवा आत्मनिर्भर बन्नु पर्दछ’, डाक्टर सिंहले भने ।

‘नेपाली कलेजहरूमा विदेशीहरू समेत अध्ययन र तालिमका लागि आउने गरेका छन् । यो नेपालको ठूलो उपलब्धि हो । स्वास्थ्य बीमा विश्वका थोरै राष्ट्रले गरेको लोककल्याणकारी काम नेपालमा भइरहेको छ ।’

युवा सकारात्मक सोका साथ अघि बढ्ने हो भने देश सही दिशामा अघि बढ्ने उनको विश्वास छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *