मिश्र र प्रसाईंको मुद्दामा अदालतले प्रहरीलाई सोध्यो- के प्रमाण संकलन गर्न बाँकी छ ?

काठमाडौं । तीनकुनेको आन्दोलनलाई लिए प्रहरी हिरासतमा रहेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंको जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थपेको छ ।

उनीहरुविरुद्ध राज्यविरुद्धको अपराध र संगठित अपराध सम्वन्धि कसुरमा थप अनुसन्धान गर्न प्रहरीलाई अदालतले थप तीन दिन उपलब्ध गराएको हो ।

जिल्ला अदालतका न्यायाधीश धु्रवराज कार्कीले प्रहरीलाई अर्कोपटक म्याद थपका लागि आउँदा कुन-कुन प्रमाण संकलन गर्न बाँकी छ भन्ने विवरणसमेत दिन आदेश गरेका छन् । यदि प्रमाण संकलन बाँकी नरहेको अवस्थामा दुवैलाई हाजिरी जमानी वा तारेखमा छोड्न सकिने उनको आदेशमा उल्लेख छ ।

मिश्रको हकमा प्रहरीले बयान लिइसकेको र कसुर संलग्न पुष्टि गर्ने कुन के कागज प्रमाण संकलन गर्न बाँकी छन् भन्ने म्याद थपको पत्रमा निश्चयात्मक रुपमा उल्लेख गर्न नसकिएको भन्दै न्यायाधीशले असन्तुष्टि दर्शाएका छन् ।

प्रहरीले प्रतिवादीहरुमध्ये धवलशमशेर जवरा, रविन्द्र मिश्र, कुमार वस्नेत, विष्णु पराजुली, दिपक खड्का, प्रेम थापा मगर, भानुभक्त पौडेल, तारानाथ वोहरा, दानवहादुर न्यौपाने, गोपिकृष्ण खड्का, रामकुमार धिमाल, सन्तोष चौधरी, पुष्कर खतिवडा, मुनिन्द्र राजभण्डारी, गोपाल मल्ल, हरिहर चौलागाईको वयान कार्य सम्पन्न गरेको छ ।

यस्तै, प्रतिवादी बनाइएका मध्येका विष्णु भन्ने विष्णुजंग बस्नेत, अनिलकुमार थापा, दुर्गा प्रसाई, सन्तोष सिलवाल (राजावादी), ओमप्रसाद लुईंटेल, तेजन रायमाझी, पशुपति खड्का, देवीप्रसाद संग्रौलाको बयान कार्य सम्पन्न हुन बाँकी रहेको जनाइएको छ ।

मिश्रलाई राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न आज चौथो पटक प्रहरीले २० दिनको म्याद थपको लागि माग गरेको थियो ।

आदेशमा भनिएको छ, ‘प्रतिवादी रविन्द्र मिश्रको उक्त कसुरमा संलग्न पुष्टि गर्ने के कुन कागज प्रमाण संकलन गर्न बाँकी रहेकोले थप म्याद माग गर्नु परेको हो भन्ने कुरा म्याद थपको पत्रमा निश्चयात्मक रुपमा उल्लेख गर्न सकेको देखिदैन । यस स्थिति अवस्थामा अब म्याद थपको लागी माग गर्दा बयान लिन वाँकी प्रतिवादीको बयान लिने कार्य सम्पन्न गर्ने र बयान लिन वाँकी रहेका प्रतिवादीको वयान कार्य सम्पन्न पश्चात् प्रतिवादीहरुको प्रहरी प्रतिवेदन अनुसारको कसुरमा संलग्नता देखिने के कुन प्रमाण संकलन गर्न बाँकी रहेको हो सोको स्पष्ट विवरण सहित थप म्याद थपको माग गर्ने गरी हाललाई ३ (तीन) दिनको म्याद थप प्रदान गरिएको छ ।’

यसैबीच, प्रतिवादी दुर्गा प्रसाइले आफू क्यान्सर रोगबाट ग्रसित रहेको र चिकित्सकको निगरानीमा रहनु पर्ने भन्दै हाजिर जमानीमा छाड्न निवेदन दिएका छन् । अदालतले प्रतिवादी रविन्द्र मिश्र र दुर्गा प्रसाईको समेत आवश्यक स्वास्थ्य परीक्षण र चिकित्सकको सिफारिस अनुसार स्वास्थ्य उपचार प्रवन्ध गराउन भनेको छ ।

आदेशमा थप भनिएको छ, ‘दुवै प्रतिवादीको स्वास्थ्य समस्याको गम्भीरतालाई विचार गरी प्रतिवेदन अनुसारको कसुरमा संलग्नता पुष्टि गर्ने कुनै थप प्रमाण संकलन गर्ने कार्य वाँकी नरहेको अवस्थामा मुलुकी अपराध संहिता, २०७४ को दफा १५ अनुसार निज प्रतिवादीहरुलाई हाजिरी जमानीमा छाड्न वा तारेखमा राख्न सक्ने सम्वन्धमा अनुसन्धान अधिकारी र जिल्ला सरकारी वकील कार्यालयलाई जानकारी गराउनु ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *