काठमाडौं । हरिवंश आचार्यको प्रमुख भूमिका रहेको चलचित्र भुटान यो साता प्रदर्शनमा आउँदैछ, जसको हिजो ग्रान्ड प्रिमियर गरियो । भुटानबाट लखेटिएर नेपाल हुँदै अमेरिका पुगेका एक वृद्धको स्वदेश फर्किने हुटहुटीलाई मूल कथानक बनाएर निर्माण गरिएको यो चलचित्रमा निर्देशक विनोद पौडेलले गजबको सिर्जनशिलता प्रस्तुत गरेका छन् ।
यो चलचित्र हरिवंशको लागि विशेष यसकारण छ कि करिअरको उत्तरार्द्धमा आएर उनले यसमा धेरै नयाँ प्रयोगहरू गरेका छन् । नेपालकै सर्वाधिक ख्यातिप्राप्त हास्यकलाकारको पहिचान बनाएका उनलाई यो चलचित्रमा निर्देशकले पूरै गम्भीर भूमिकामा ढालिदिएका छन् । चलचित्रभरि उनको हाँसो हराएको छ । अनेकथरि हुलिया र आवाज निकालेर दर्शक हँसाउने हरिवंश यिनै हुन् त भन्ने लाग्छ ।
हरिवंशले यसअघि पनि गम्भीर भूमिका ननिभाएका होइनन् । डेढ दशक अगाडि नै बनेको चलचित्र ‘बलिदान’ मा उनले एउटा कम्युनिष्ट क्रान्तिकारीरूपमा देखिएका थिए र दर्शकको मन जितेका पनि थिए । उनीजत्तिको बहुआयामिक कलाकारलाई ‘भूठान’ को रोल कुनै ठूलो चुनौतिको विषय थिएन । तर, चलचित्रमा हरिवंशले केही काम पहिलोपटक गरेका छन्, जुन सायद उनका लागि ठूलो चुनौती थियो ।
सम्भवतः पहिलोपटक हुन सक्छ हरिवंशलाई महिला कलाकारसँग लिपलप गरिरहेको दर्शकले पहिलोपटक देख्नेछन् । यो लिप किस कामोत्तेजक भन्दा पनि भावनात्मक छ । हरिवंशकी पत्नीको भूमिकामा रहेक भारतीय रंगकर्मी अनुराधा मजुमदारले उनलाई व्यग्रतापूर्वक ओठमा चुमेकी छन् ।

उनै मजुमदारसँग हरिवंशले बेडसिन पनि दिएका छन् । यो दृष्यलाई पनि निर्देशकले परम्परागतभन्दा पृथक र कलात्मक बनाएका छन् । अर्को एउटा दृष्यमा हरिवंश ‘न्यूड’ बनेका छन् । उनको शरीरको पछाडिको भाग पूरै नग्न देखाइएको छ ।
‘भूठान’व्यवसायिक चलचित्र भने होइन । व्यवसायिकताका लागि यस्ता दृष्यहरू राखिएको पनि होइन । किनकी पुरुष कलाकारलाई नंग्याएर चलचित्रको व्यापार बढ्ने विश्वास गरिँदैन । निर्देशकले आफ्नो सोचलाई पूर्णता दिन र चलचित्रको कलात्मक पक्षमा कुनै पनि सम्झौता गरेका छैनन् । हरिवंशलाई यी दृष्यका लागि तयार गर्नु नै उनको सफलता हो ।
प्राविधिक र कलात्मक दृष्टिकोणले ‘भूठान’ मा क्लासिक हलिउड चलचित्रको ‘फ्लेभर’ आउँछ । यद्यपि, अतिधेरै मेटाफोरहरूको प्रयोगले गर्दा बढी जटिल बनेको छ । कुनै क्लीस्ट साहित्य पढिरहेको महसुस हुन्छ । आम दर्शकले इन्जोइ गर्ने चलचित्र होइन यो । उनीहरूले चलचित्रलाई बुझ्नै गाह्रो छ । तर, सिनेमाको क्राफ्ट र कलात्मकताको रसस्वादन गर्न चाहनेहरूका लागि यो चलचित्र एउटा गतिलो उपहार हो ।

Leave a Reply