मेहतालाई प्रशासकीय अधिकृतमा विराटनगर महानगरले नस्वीकार्ने, सेटिङमा विवादित व्यक्ति पठाइएको आरोप

विराटनगर । विराटनगर महानगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहतालाई हाजिर नगराउने अडान लिएकाे छ । आफूहरुसँग सल्लाह नगरी सरुवा गरेको भन्दै त्यसलाई नस्वीकार्ने यहाँका जनप्रतिनिधिले बताएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ४७ जना सहसचिवको सरुवा गर्दा मेहतालाई विराटनगर पठाइएको थियाे । शिक्षा सेवाका कर्मचारी मेहता यसअघि इटहरी उपमहानगरपालिकामा प्रशासकीय अधिकृत थिए । त्यसअघि भोक्राह गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत चलाइसकेका छन् ।

यसअघि पटक-पटक विवादमा परेको भन्दै मेयर, उपमेयरसहितका जनप्रतिनिधिले उनलाई हाजिर हुन नदिने तयारी गरेका हुन् ।

विराटनगरका मेयर नागेश कोइरालाले मेहता आफूसँग सहमतिसमेत नलिई सरुवा भएर आएको र कार्यशैली ठिक नदेखिएकोले स्वीकार्न नसकिने बताए ।

‘मेयर र जनप्रतिनिधिसँग एक बचन पनि नसोधी पठाइएको प्रमुख प्रशासकीय अधिकृतलाई हामीले कसरी स्वीकार्न सक्छौँ र ?’  उनले नेपाल प्रेससँग भने, ‘हामी काम गर्ने जनप्रतिनिधिलाई सहज खालको प्रमुख प्रशासकीय आवश्यक हो, सेटिङमा प्रमुख प्रशासकीय अधिकृत आउँदा हामी चुप लागेर बस्दैनौँ ।’

उपमेयर शिल्पा निराला कार्कीको भनाइ पनि उस्तै छ ।

‘हिजो इटहरीमा त्यत्रो विवाद सिर्जना गर्ने मुख्य भूमिकामा रहेका व्यक्तिलाई हामीले कसरी स्वीकार गर्न सक्छौँ’, उनले भनिन्, ‘हामीले अरूलाई पठाए पनि त्यो व्यक्तिलाई नपठाउन मन्त्रालयमा समेत भनेका थियौँ, त्यही व्यक्ति सरुवा लिएर आउने कुरा ठिक हैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *