भरतपुरको भद्रगोल बालकुमारी मण्डी : भाडा असुल्न पुगेको महानगर टोलीले सटर र व्यापारी नै भेटेनन् (भिडिओ)

चितवन । चितवनको नारायणगढ बजारलाई व्यवस्थित बनाउन २०६० सालमा उद्योग वाणिज्य संघ चितवनसहित नारायणगढका व्यवसायी र तत्कालीन भरतपुर महानगरपालिकाको पहलमा नारायणगढमा फलफूल तथा तरकारीको लागि बजार बनाइएको छ ।

बालकुमारी माध्यामिक विद्यालयको स्वामित्वमा रहेको खाली जमिन भाडामा लिएर फलफूल, तरकारी, माछा, मासुलगायत चाँडो बिग्रिने वस्तु बिक्रीको लागि ७४ जना व्यवसायीलाई भाडा लगाइएको छ । महानगरपालिकाको पछिल्लो कार्यपालिका बैठकबाट प्रति सटर २ हजारदेखि ८ हजारसम्म भाडा पुर्‍याएको छ ।

तर, नगरापलिका राजस्व महाशाखाको अभिलेखका व्यवसायी लामो समयदेखि सम्पर्कमा नै आएनन् । पालिकाको अभिलेख अनुसार ३३ महिनादेखि ९ महिनासम्म भाडा नबुझाउने ३४ जना व्यवसायी छन् । उनीहरूको २४ लाख ७३ हजार बक्यौता छ ।

मंगलबार महानगरका प्रशासकीय अधिकृतले भाडा तिर्न बाँकी व्यवसायीहरूसँग भाडा उठाउन र लामो समयदेखि भाडा नतिर्नेको सटरमा ताला लगाएर आउनू भन्ने निर्देशन दिएर नगर प्रहरी प्रमुखसहितका टोली र राजस्व शाखा अधिकृतलाई बालकुमारी फलफूल मण्डीमा पठाइयो ।

लामो समयदेखि भाडा नतिर्ने मान्छेहरूका सटरमा ताला लगाएर एक पटकलाई भाडा रकम बुझाउनु जानू भन्ने ताकेताका लागि पुगेका नगरप्रहरी भने सटर भनेर अभिलेख रहेका व्यक्ति नै नभेटिएपछि हैरानीमा परे ।

महानगरले बनाएको सटरमा चिन्ने नै छैन आधार

सामान्यतया सटर र व्यवसायी चिन्नको लागि सटर भाडामा दिएको संस्थाले चिन्ने आधारको रूपमा नम्बर चिन्ह लगाउने गरिन्छ । भरतपुर महानगरपालिकाले व्यक्तिको नाममा संख्या नम्बर अभिलेखमा त राखेको छ । तर, मण्डी पसेपछि कुन पसल पहिलो नम्बरको हो भन्ने चिन्न सकिँदैन । १ लाख ४४ हजार बक्यौता रहेका दिर्घमान रेग्मीको नाम महानगरको पाँचौ नम्बरमा उल्लेख छ । तर, मण्डीको पछाडिको सटर भनेर लेखिएको दिर्घमान रेग्मीको सटर महानगरप्रहरीले ७४ वटा सटरबाट भेटाउन सकेन ।

कसैले यो कसैले त्यो भनेर देखाइदिए । खोज्दा खोज्दा हैरान भएपछि महानगर प्रहरी प्रमुख डीएसपी कृष्णहरी ढकालले भने- हामीले दिर्घमान रेग्मी भन्नेको पसल खोज्यौँ यहाँ भेटिएको छैन । कि उसले यहाँबाट छोडेर गएको हुनुपर्छ कि अरु व्यक्तिलाई भाडामा लगाएको हुनुपर्छ ।

त्यतिमात्रै होइन बाबुलाल सहनीको जाल पसल भनेर लेखिएको नाममा २ हजारका दरले ३३ महिनाको ६६ हजार भाडा लिनुपर्ने रहेछ । उक्त लिष्ट हेर्दै मण्डीमा पुगेपछि महानगरप्रहरीले थाहा पाए सहनीको मृत्यु भएर अर्कै मान्छेले कहिलेदेखि आफूखुसी सटर चलाइरहेका रहेछन् ।

सटरहरू हेर्दै जाँदा नगरप्रहरीले मण्डीमा नामै नभएका व्यक्तिले पनि पसल चलाइरहेका भेट्टायो । गंगा जाल पसल नाम गरेको पसल भरतपुरको पोखरा बसपार्कमा सञ्चालन गर्ने अनुमति लिएको रहेछ । तर, शाखा खोलेर पसल चलाइरहेको महानगरलाई पत्तो थिएन । अभिलेखमा नामै नभएको पसल देखेपछि नगर प्रहरीले ताला लगाएर फर्किएका छन् ।

यस्ता महानगरको अभिलेखमा नाम नै नभएका पनि पसलहरू सञ्चालनमा देखेपछि नगरप्रहरी प्रमुख डीएसपी ढकालले भने- मण्डीको जमिन राम्रोसँग उपयोग भएको छैन । महानगरले पनि सरसफाइ नाली व्यवस्थापन र सटरलाई सिष्टममा ल्याउन एकदम आवश्यक छ ।

जताजतै फोहोर र दुर्गन्ध

महानगरपालिकाले सटर भाडा उठाउन पुगेपछि स्थानीय व्यवसायीले भने महानगरले भाडा खोज्दै आउने तर, फोहोर समेत नउठाइदिएको गुनासो गरे । एकातिर पसलहरु अव्यवस्थित त छन् नै । अर्कोतिर भूँइमा पनि पानी जम्ने खाल्डा छन् । फोहोरको दुर्गन्ध उस्तै छ ।

केही समयअघि भरतपुर महानगरले बालकुमारी फलफूल मण्डीलाई स्मार्ट मण्डी बनाउने घोषणा पनि गरेको थियो । तर, फलफूल मण्डीमा पुग्दा महानगरले बनाइदिएका सटरको पनि छाना चुहिने भएका, शौचालय छिर्नै नसक्ने गरि बिग्रिएका, पानीको समेत व्यवस्था नभएको । ढल बिग्रिएको देखिन्छ । मासु पसल सञ्चालन गर्दै आएका गोपाल श्रेष्ठ भन्छन्, हामीलाई स्मार्ट मण्डी बनाइदिन्छौँ भाडा बढाउँ भन्नुभयो हामी मान्यौँ । तर, महानगरले केही गरिदिएन ।

बालकुमारी फलफूल मण्डी व्यवस्थापन समितिको अध्यक्ष हरिबहादुर राई पनि केही सुविधा महानगरबाट नआएको कारण भाडा दिन व्यवसायी नगएका दाबी गर्छन् । उनले भने, हामी यो अवस्थामा छौँ । हाम्रो सुविधा केही छैन । हामीले बारबार भनेका छौँ । हामी भाडा तिर्छौँ । तर, हामीलाई हामीलाई ग्राबल, पानी बत्ती ट्वाइलेट आवश्यक छ । तर, अहिलेसम्म भएको छैन । महानगरले व्यवसायलाई हानी नहुने गरेर व्यवस्थापन गरिदिनुपर्ने छ ।

व्यवसायीले मात्रै होइन भरतपुर महानगरका कर्मचारी स्वयंले पनि महानगरले बालकुमारी मण्डी व्यवस्थापनमा ध्यान दिन नसकेको स्वीकार गरेका छन् ।

महानगरपालिकाका राजस्व अधिकृत जीवलाल कुँवरले- हरेक क्षेत्रहरुमा भद्रगोल नै छ । काम गर्ने शैली, जनता पनि उस्तै कर्मचारी पनि उस्तै । कसरी चलाउनुपर्छ भन्नेमा स्पष्ट नीति भएन । फोहोर व्यवस्थापन, वातावरण शाखाको आआफ्नै काम गर्ने अवस्था छ, समन्वय पनि भएन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *