गभर्नर सिफारिस समितिबाट डा. विजयनाथले राजीनामा दिएपछि अब के हुन्छ ? यसो भन्छन् अर्थमन्त्री

काठमाडौं । नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्य पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिएपछि अब नयाँ गभर्नर नियुक्तिको प्रक्रिया के हो भन्ने चासो बढेको छ । उनले १ महिनासम्म पनि एउटा पनि समितिको बैठक बस्न नसकेको भन्दै राजीनामा दिएका हुन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डा. विजयनाथ भट्टराईले राजीनामा दिएको बताए । तर, अब उनको ठाउँमा अर्को सदस्य नियुक्ति गरेर नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले काम गर्ने उनले बताए ।

अर्थमन्त्री पौडेलले भने, ‘अब अर्को सदस्य समितिमा ल्याएर काम अगाडि बढ्ने छ । अर्को समिति बन्दैन । यही समितिमा एक जना सदस्य ल्याएर काम अगाडि बढ्छ । विभिन्न कारणले गर्दा समितिको बैठक नबसेको हो । अदालतमा मुद्दा लगायतका विषयहरु छन् । त्यसै कारणले गर्दा बैठक नबसेको हो ।’

तर, अहिले कसलाई नयाँ सदस्य बनाउने भन्ने टुङ्गो लागेको छैन ।

नयाँ गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते सरकारले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विश्व पौडेल र पूर्व गभर्नर विजयनाथ भट्टराई सदस्य रहेका थिए । आज भट्टराई असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *