काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रद्वारा अघि सारिएको ‘पृथ्वीपथ’ को अवधारणालाई खारेज गरिदिएका छन् । केही मान्छेले असम्भव कुरा गरेर हिँडिरहेको भन्दै उनले यो उनीहरुकै लागि दुर्भाग्यपूर्ण हुने चेतावनी पनि दिए ।
आज माओवादी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पुगेका प्रचण्डलाई पत्रकारले नयाँ प्रसंग कोट्याएका थिए ।
एक पत्रकारले सोधे, ‘हामीले माक्र्सपथ, लेनिनपथ, माओपथको धेरै कुरा गर्यौं, अब पृथ्वीपथमा जाउँ भनेर एउटा पक्षबाट कुरा आएको छ । यसमा तपाईं के भन्नुहुन्छ ?’
प्रचण्डले जवाफ दिए, ‘यस्तो असम्भव कुरा केही मान्छेले बोकेर हिँडेका छन् । यो उहाँहरुको लागि नै दुर्भाग्यपूर्ण हुन्छ । यस्तो उल्टोबाटो हिँड्ने कुरा नगर्दा हुन्छ ।’
उनले थपे, ‘इतिहास धेरै अगाडि बढिसक्यो । लेनिनबाट अगाडि बढेर कहाँ पुगिसक्यो । त्यसो भएको हुनाले अगाडिपट्टि हेर्नुपर्यो, पछाडि फर्किनुभएन ।’
त्यसो भए पृथ्वीपथ मान्नुहुन्न भन्ने अर्को प्रश्नमा प्रचण्डले तर्किँदै भने, ‘पथ भन्ने कहिल्यै भएकै छैन त कसरी मान्ने ?’
पूर्वराजा ज्ञानेन्द्र शाहले हालै नयाँ वर्षको सन्देशमा अब देश पृथ्वीपथमा जानुपर्ने प्रस्ताव गरेका थिए ।
माओवादी नेता वर्षामान पुनलाई नि पत्रकारले सोधे, ‘अब नेपाल सुहाउँदो पथ चाहियो भनिरहेका छन्, तपाईं के भन्नुहुन्छ ?’
पुनले जवाफ दिँदै भने , ‘नेपाल सुहाउँदो पथ छ त– संविधान पथ, लोकतान्त्रिक गणतन्त्र पथ, संघीयता र धर्मनिरपेक्षता पथ । यसैमा छौं हामी । अहिलेको सन्दर्भमा यो उपयुक्त छ । यही सबैको साझा पथ हो । यसमा प्रतिवद्ध रहँदै समाजवादी पथमा जान चाहन्छौं ।’

Leave a Reply