रवि लामिछानेलाई थुनामा राख्नुको कारण ३ दिनभित्र पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

लामिछानेपत्नी निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा रविको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकोमा न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले मंगलबार ३ दिनभित्र पेश गर्न आदेश दिएको हो ।

रिट निवेदनमाथि सुनुवाइका लागि यस अघि न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएकोमा हेर्न नमिल्नेमा राखिएको भए पनि मंगलबार भने उक्त आदेश भएको सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सह-रजिष्ट्रार अच्युत कुईकेलले नेपाल प्रेसलाई जानकारी दिए ।

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरेको थियो । धरौटी खारेज हुनुपर्ने मागसहित लामिछानेले उच्च अदालत तुलसीपुर बुटवलमा पुनरावेदन गरेकोमा उच्चले गत चैत २२ मा जिल्लाको आदेश उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

उच्चको उक्त आदेशविरुद्ध लामिछानेको तर्फबाट यसअघि नै सर्वोच्चमा निवेदन परिसकेको छ । उक्त निवेदनमा सर्वोच्चले १५ दिनभित्र कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।

-यसअघि भुलवस शीर्षकसहित समाचार फरक पर्न गएकाले क्षमाप्रार्थीसहित सच्याइएको छ ।- सं

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *