बनेपामा सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

काठमाडौं । बनेपा नगरपालिकाले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नको लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात गरेको छ ।

सहकारी संस्थाको शासकीय, वित्तीय तथा अन्य सूचकाङ्कलाई व्यवस्थित गर्दै नियमित अनुगमन र मूल्यांकन गर्न सकिने यो प्रणाली नेपालमै पहिलो पटक बनेपाबाट सुरु गरिएको हो ।

यसअघि अफलाइन रूपमा प्रयोग हुँदै आएको प्रणालीलाई डिजिटलरुपमा रूपान्तरण गर्दै विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्था (साकोस) बाट औपचारिक शुभारम्भ गरिएको छ ।

बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले एक कार्यक्रमबीच उक्त प्रणालीको उद्घाटन गर्दै यसको औजार विन्ध्यवासिनी साकोसका अध्यक्ष शान्तकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

नगर प्रमुख शाक्यले बनेपा नगरपालिकाको कार्यक्षेत्रभित्र विगतमा दर्जनौँ सहकारीहरू बेपत्ता भएको, कतिपय झोलामै सीमित रहेको, सूचना प्रणाली कमजोर भएकाले पारदर्शिता नदेखिएको, र पदाधिकारीहरूको लापरबाहीका कारण बचतकर्ताहरूको रकम जोखिममा परेको अवस्थालाई न्यूनीकरण गर्न नयाँ प्रविधिको प्रयोग गरिएको बताए ।

उनले विन्ध्यवासिनी साकोसलाई देशकै नमुना संस्था भएको उल्लेख गर्दै, यो प्रणाली लागू गर्ने पहिलो सहकारी बन्न सफल भएकोमा धन्यवादसमेत दिए । साथै, बनेपा सहकारी इतिहासको सुरुआती केन्द्र भएकाले पनि यो प्रणाली यहाँबाट सुरु गर्नु उपयुक्त रहेको पनि बताए ।

साकोसका अध्यक्ष श्रेष्ठले संस्था नीति, विधि र प्रक्रियाअनुसार सञ्चालन भएकाले विन्ध्यवासिनी साकोस देशभर उदाहरणीय सहकारी बनेको बताए ।

उनले बचतकर्ताहरूको कमजोरी, पदाधिकारीहरूको लापरबाही र नियामक निकायहरूको बेवास्ताका कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताउँदै, अनलाइन प्रणालीले ती कमजोरी सुधार गरी सहकारी क्षेत्रमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान सुनिश्चित गर्ने विश्वास व्यक्त गरे ।

बनेपा नगरपालिकाले प्रस्तुत प्रणालीलाई सहकारी संस्थाको स्वःमूल्यांकन गर्ने आधुनिक प्रविधिका रूपमा अगाडि सारेको छ । प्रणालीले २७ वटा सूचकका आधारमा मूल्यांकन गर्नेछ, जसबाट सहकारीहरूको वास्तविक अवस्था थाहा पाउन सकिने नगरपालिका पक्षको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *