शिक्षामन्त्री बन्ने भन्दै गरेको झुटो प्रचारकापछि नलाग्न सांसद डा. शाक्यको अनुरोध

काठमाडौं । राष्ट्रियसभा सदस्य डाक्टर अन्जान शाक्यले केही सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरेकी छन् । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि उनको स्थानमा डाक्टर शाक्य मन्त्री बन्ने भन्दै केही सञ्चारमाध्यममा समाचार आएपछि उनले सामाजिक सञ्जालमार्फत खण्डन गरेकी हुन् ।

‘म स्वयंलाई समेत जानकारी नभएको, रुचि नभएको र मेरो विज्ञता पनि नभएको मन्त्रालयसँग जोडेर डाक्टर अन्जान शाक्य शिक्षामन्त्री बन्दै भन्ने खालका भ्रामक र कपोलकल्पित समाचार प्रकाशन भएको जानकारी प्राप्त भयो । यो विषयमा मैले नबोल्दा वा कुनै प्रतिक्रिया नदिँदा पनि हुने हो । तर, मेरा शुभचिन्तक, मसँग सरोकार राख्ने र आफन्तहरूमा समेत यही भ्रामक र कपोलकल्पित प्रचारका कारण भ्रम सिर्जना होला भनी सामान्य केही जानकारी गराउने प्रयास गरेको छु,’ उनले भनेकी छन् ।

उनी अगाडि लेख्छिन्, ‘तपाईँहरूलाई जानकारी नै छ । म भर्खरै मात्र अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएर आएको छु । यसले केही हदसम्म भए पनि नेपालको इज्जत र प्रतिष्ठा अन्तराष्ट्रियस्तरसम्म लैजान र उच्चो बनाउन केही भूमिका खेलेको होला भन्ने विश्वास मैले लिएको छु । त्यसैले अहिले मेरो पहिलो कर्तव्य उक्त संस्थामा गरेका प्रतिबद्धता पूरा गरी नेपालको प्रतिष्ठा विश्व जगतमा थप उच्च पार्ने रहेको अवगत गराउन चाहन्छु ।’

उनले राष्ट्रिय सभाको विज्ञ सदस्यको हैसियतले अहिले ऐन कानुन बनाउन सक्रिय भूमिका खेल्नुपर्ने दायित्व भएको पनि स्मरण गराएकी छन् ।

‘त्यसैले अहिले तुरुन्तै मन्त्री भएर अहिलेका यी आफ्ना कर्तव्यबाट विमुख हुनुहुन्न भन्नेमा म प्रतिबद्ध छु । मलाई विश्वास गरेर आइपीयुमा निर्वाचित गराएको अवस्थामा अन्तर्राष्ट्रिय क्षेत्रमा धोका दिनु हुन्न भन्नेमा पनि म प्रतिबद्ध छु,’ उनले भनेकी छन्, ‘पूर्वराजदूतको समेत जिम्मेवारी सम्हालिसकेको अनुभव मात्रै होइन आफ्नो कर्तव्य र इमान्दारिताका लागि विश्व समुदायबाट सम्मानित भएर अन्तर्राष्ट्रिय पुरस्कारहरू समेत पाइसकेको व्यक्ति हुँ भन्ने जानकारी पनि यहाँ स्मरण गराउन चाहन्छु ।’

उनले आफूलाई जानकारी भएअनुसार केही मानिसले आफूप्रति पूर्वाग्रह राखेर नै अहिलेको शिक्षा क्षेत्रमा देखिएका समस्यामा मुछ्ने प्रयास गरेको होला भन्ने ठानेको पनि उल्लेख गरेकी छन् ।

‘मेरा विरुद्ध भएका यस्ता मिथ्या प्रचारबाजीलाई सही ठानेर पूर्वाग्रही र कपोलकल्पित प्रचार–प्रसार नगरिदिनु हुन् सम्पूर्ण सञ्चारमाध्यमहरुलाई अनुरोध पनि गर्न चाहन्छु,’ उनले भनेकी छन्, ‘गलत स्वार्थसहित केही सञ्चारमाध्यममा कसैले फैलाएको भ्रमको पछि नलाग्न पनि म सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

Comments

2 responses to “शिक्षामन्त्री बन्ने भन्दै गरेको झुटो प्रचारकापछि नलाग्न सांसद डा. शाक्यको अनुरोध”

  1. bharat kumar thapa Avatar

    नेकपा एमाले विरोधीहरू टिके चन्दनेहरू एमाले नेता तथा सांसदहरूलाई बदनाम गर्न न्वारान देखिको बल लगायतका छन्

  2. ksp pyl Avatar
    ksp pyl

    विदेशी र उसले पालेका भाडाका टट्टुहरूले प्रचार गरेका हुन् । शाक्य भएपछि भोलि सालीलाई मन्त्री बनायो ओलिले भनेर हल्ला गर्न हो यो गरेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *