भीम रावललाई साथ दिने भन्दै अछाममा ७१ जनाले छाडे एमाले- ओलीमाथि गुटबन्दीको आरोप

अछाम । एमालेबाट निष्कासित डा. भीम रावलको गृह जिल्ला अछामका ७१ जना नेता-कार्यकर्ताहरूले नेकपा (एमाले) छाडेका छन् । प्रदेश लेखा समिति सदस्यसहितका ७१ जनाले विज्ञप्ति जारी गरेर भीम रावलको मातृभूमि जागरण अभियानमा लागेको भन्दै एमाले परित्याग गरेको जनाएका हुन् ।

एमाले छाड्नेहरूमा एमाले सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालगिरी कुँवर, जिल्ला कमिटी सदस्यहरूमा झंकर कुँवर र नृप दनुवार छन् । उनीहरूसँगै गाउँ कमिटी अध्यक्ष, इलाका सदस्य, सम्पर्क मञ्चका पदाधिकारी र भ्रातृ सङ्गठनका नेताहरू पनि छन् ।

उनीहरूले एमालेमा आन्तरिक लोकतन्त्र सकिएको बताएका छन् । ‘वर्तमान अध्यक्ष केपी शर्मा ओलीको गुटगत राजनीति र कार्यशैलीबाट समाजवाद हुँदै साम्यवादमा जाने बाटो बन्द भएको महसुस भयो । पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त भइसकेको छ’, उनीहरूले भनेका छन्, ‘जनवाद समाप्त भयो, निरङ्कुशता हाबी भयो । विपरीत सिद्धान्तका नेता, कार्यकर्ता पार्टी भित्र ल्याउने र चुनाव लडाउने सर्तका लागि विपरीत सिद्धान्त मान्नेसँग घाँटी जोडेर सत्तामा जाने संविधान र लोकतान्त्रिक मूल्यमान्यताको उल्लङ्घन गर्ने पार्टीका उच्च नेताहरूमा भ्रष्टाचारको आरोप लागे पनि पार्टीले कारबाही नगरी संरक्षण गरिरह्यो ।’

संयुक्त वक्तव्यमा अध्यक्ष ओलीको स्वेच्छाचारी कार्यको विरोध पनि गरिएको छ । ‘देशको स्वाधीनता र समृद्धिलाई बलियो बनाउने गरी सुशासनका लागि आवाज उठाउँदै आउनु भएका जनताप्रति उत्तरदायी विकासप्रेमी, देशभक्त नेता डा. भीम रावलले प्रस्ताव गर्नुभएको मातृभूमि जागरण अभियान नेपाललाई समर्थन गर्दै एमाले पार्टी परित्याग गरेको घोषणा गर्दछौँ’, उनीहरूले भनेका छन् ।

एमालेको जिल्ला अधिवेशन आगामी वैशाख १३ देखि गर्ने तयारी भइरहेको छ । जिल्ला अधिवेशनको तयारी गरिरहेका बेला परित्याको विषयले पनि पार्टी भित्र बहस सुरु गराएको छ ।

‘७१ जनाका हस्ताक्षरबिनाको विज्ञप्ति आएको छ त्यस विषयमा हामी पनि बुझ्दै छौँ’, अछाम जिल्ला अध्यक्ष चन्द्र बोहराले भने, ‘भोलि सचिवालयको बैठक छ यस विषयमा छलफल हुन्छ ।’

अध्यक्ष बोहराले विभिन्न कार्यक्रममा गएकाहरूलाई अभियानमा लागेको र एमाले छाडेको भन्दै विज्ञप्तिमा नाम राखिएको गुनासोहरू पनि आइरहेको बताए । अहिले अछाममा कुनै पनि नेता कार्यकर्तामाथि जिल्ला पार्टीले कारबाही नगरेको भन्दै पार्टी अभियानमा एकजुट हुन आफूले आह्वान गरेको पनि जानकारी दिए ।

एमाले जिल्ला अध्यक्ष बोहराले केहीलाई झुक्काएर विज्ञप्तिमा नाम राखिएको बताउँदा मातृभूमि जागरण अभियानमा लागेका प्रकाश शाहले भने भेट भएका सबैलाई भेटेर, भेट नभएकाहरूलाई फोन सम्पर्क गरेर विज्ञप्तिमा नाम राखिएको बताए ।

शाहले केही समयभित्रै केन्द्रीय निकायमा रहेका व्यक्तिहरूले पार्टी परित्याग गरेको विज्ञप्ति समेत आउने दाबी गरे ।

७१ जनाले एमाले परित्याग गर्दा ५ जना नेकपा एकीकृत समाजवादी परित्याग गरेर रावलको अभियानमा जोडिएका छन् । एमाले परित्याग गरेका प्रदेश लेखा आयोग सदस्य बालगिरी कुँवरलाई सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीबाट निष्कासन गरिसकेको छ ।

 

Comments

2 responses to “भीम रावललाई साथ दिने भन्दै अछाममा ७१ जनाले छाडे एमाले- ओलीमाथि गुटबन्दीको आरोप”

  1. ksp pyl Avatar
    ksp pyl

    विदेशीका एजेण्टको पछि लागेर पछुताउनु बाहेक केही हुँने छैन । जम्मा ७१ जना ? ७१ हजार भए पो ।

    1. दिक्पाल माेक्तान Avatar
      दिक्पाल माेक्तान

      म नि एमाले हु सर तर केपी बाले यति राम्रो पार्टी सकाएर छाड्ने भाे यस्तै हालत हाे भने अबकाे ०८४ मा एमाले २०/२२ हाेला जस्तो छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *