बझाङ। बझाङको विकट क्षेत्र साइपाल गाउँपालिकामा नेपाल टेलिकमको सेवा पूर्ण रुपमा ठप्प भएको छ । चार दिनदेखि निरन्तर रुपमा मोबाइल नेटवर्क अवरुद्ध भएपछि सञ्चारविहीन बनेका साइपालबासीले नेपाल टेलिकमको केन्द्रीय कार्यालय, काठमाडौँमा सेवा विस्तार र सुधारको माग गर्दै पत्र पठाएका छन् ।
स्थानीय प्रदीप बोहराका अनुसार केहि दिन देखि बझाङमा चट्याङ, हावाहुरी र असिना पानीका कारण चार दिनदेखि नेटवर्क पूर्ण रूपमा बन्द भएको जानकारी दिए ।
‘यो समस्या आज मात्रै हैन, हामीले विगतदेखि नै यस्ता समस्या भोग्दै आएका हौँ ।’ उनले भने, ‘कहिले काहीँ एक छिन टावर देखिन्थ्यो, अहिले त त्यो पनि हराएको छ ।’
साइपालमा सञ्चार सेवा अबरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । विशेष गरी शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा तथा आपत्कालीन अवस्थामा ठुला समस्या आइपरेको स्थानीयले बताएका छन् ।
स्थानीयबासीहरूले हस्ताक्षर संकलन गरी टेलिकमलाई पठाएको पत्रमा, अहिले उपलब्ध सञ्चार सेवा पर्याप्त नहुँदा सर्वसाधारणको दैनिक जीवनयापन कठिन भएको उल्लेख छ ।
पत्रमा अधिकांश ठाउँमा केवल २ जी नेटवर्क उपलब्ध हुँदा इन्टरनेट सेवा अत्यन्तै कमजोर भएको, कतिपय ठाउँमा त सेवा नै नपुग्ने अवस्था रहेको उल्लेख गरिएको छ । स्थानीयहरूले ४ जी नेटवर्कको विस्तार, सेवा गुणस्तरमा सुधार, र नेटवर्क क्षमताको वृद्धि प्राथमिकताका साथ गरिनुपर्ने सामूहिक माग राखेका छन् ।
‘हामीलाई पनि सञ्चारको अधिकार छ’, स्थानीयले जुनकला बोहराले भनिन्, ‘विकास र सूचना प्रवाहको युगमा हामी अझै अन्धकारमा छौँ, हामी कहिले सम्म सम्पर्कविहीन बस्ने ?’
मस्टाको रिलुमा राखेको नेपाल टेलिकमको नेटवर्क बिग्रेपछि समस्या भएको र नेपाल टेलिकम बझाङलाई छिटो मर्मत गर्नका लागि आग्रह गरेको गाउँपालिका अध्यक्ष मानवीर बोहराले बताए ।


Leave a Reply