कैलाली । धनगढीमा जारी संस्कार क्रिकेट लिग २०८१ अन्तर्गत आइतबार सम्पन्न खेलमा उत्तर त्रिशूल र सायल गाउँपालिका विजयी भएका छन्। आइतबार भएका दुई खेल सँगै समूह चरणको समीकरण पूरा भएको हो ।
आइतबार सम्पन्न पहिलो खेलमा संस्कार विद्याश्रमलाई दुई विकेटले पराजित गर्दै उत्तर त्रिशूल विजयी भएको हो । टस जितेर पहिला ब्याटिङ गरेको संस्कार विद्याश्रमले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन जोडेको थियो । संस्कार विद्या आश्रमका लागि विशाल बिष्टले २३ रन जोडेका थिए। बलिङ तर्फ उत्तर त्रिशूलका प्रवेश शाहले चार विकेट लिए । जवाफी ब्याटिङ गरेको उत्तर त्रिशूल धनगढी–४ ले १७ दशमलव तीन ओभरमा आठ विकेट गुमाएर १ सय १९ रन बनाउँदै जित हासिल गरेको हो। संस्कारका लागि अनिल राउतले पाँच विकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन् ।
आइतबार नै सम्पन्न अर्को खेलमा आवर ड्रिम सक्सेस ट्रेनिङ सेन्टरलाई १० विकेटले पराजित गर्दै सायल गाउँपालिका विजयी भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको आवर ड्रिम १६ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय रनमा समेटिएको थियो। आवर ड्रिमलाई कम स्कोरमा रोक्न सायलका राजेन्द्र बहादुर बमले चार विकेट लिए ।

एक सय १ रनको लक्ष्य सायल गाउँपालिकाले विना विकेट पूरा गरेको हो । १३ दशमलव दुई ओभर खेल्दै सायलका लागि सुरुवाती ब्याट्सम्यान सचिन साउदले ३४ र मनिस थापा ५३ रनको अविजित पारी खेलेका थिए ।
संस्कार विद्याश्रम गोदावरी नगरपालिका–८ स्याउलेको आयोजनामा वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगितामा सोमबार देखि सेमिफाइनल चरणका खेल हुनेछन् । आयोजकका अनुसार सोमबार नेपाल वेष्ट्रन एकेडेमी धनगढी र नारायण स्पोर्ट एकेडेमी बिच पहिलो सेमिफाइनल हुने छ भने सायल गाउँपालिका डोटी र यूथ अफ टीकापुर बिच दोस्रो सेमिफाइनल खेल हुने छ ।
प्रतियोगिताको फाइनल खेल वैशाख ९ गते (मंगलबार) हुने छ ।
प्रतियोगिता विजेताले नगद १ लाख ११ हजार १११ नगद सहित ट्रफि प्राप्त गर्ने छ । यसैगरी उप विजेताले ५५ हजार ५५५ नगद सहित आकर्षक ट्रफि पाउने छन् ।

Leave a Reply