विदेशमा बस्ने नेपालीलाई महासंघ अध्यक्ष ढकालले भने- कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।

नेपाली जनसम्पर्क समिति युएईद्वारा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सो कुरा बताएका हुन् । नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै क्षेत्रहरु एक्सप्लोर गर्न बाँकी रहेको हुँदा ती क्षेत्रमा लगानी गरी राम्रो प्रतिफल लिन सकिने बताए ।

‘मलाई के लाग्छ भने नेपालमा धेरै सम्भावना छ । धेरै क्षेत्रहरु एक्सप्लोर गर्न बाँकी छन् । तर, नेपालमा सम्भावना छैन भन्ने र हरेक कुरा नकारात्मकरुपमा लिने गरिएको पाइन्छ । अझ, विदेशमा बस्ने नेपालीहरुलाई विदेशको विकास र प्रविधिहरु देखेर नेपालसँग तुलना गर्ने र विरोध गर्ने गरेको पनि पाइन्छ । म यहाँहरुलाई भन्न चाहन्छु यदि साच्चिकै विदेशमा गरेको जस्तै लगानी र मिहिनेत नेपालमै गर्ने हो भने नेपालमा धेरै सम्भावना छन्’, ढकालले भने, ‘हालै नेपाल सरकारले दुई दर्जन बढी कानुनहरु सुधार गरेर मुलुकमा लगानीका लागि मार्ग प्रसस्त गर्न खोजेको छ । यो निजी क्षेत्र, विशेष गरी नेपाल उद्योग वाणिज्य महासंघकै पहलमा भएको हो । वैदेशिक लगानी भित्र्याउन विशेष पहल गरिरहेका छौँ । वैदेशिक लगानीका साथै गैर आवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीहरुले पनि आफ्नो केही हिस्सा नेपालका विभिन्न क्षेत्रमा लगानी गराउन सकियो भने हामीले अपेक्षा गरे जस्तो विकास सम्वभ हुन्छ । मुलुकको विकास तपाई हामी सबै मिलेरै गर्ने हो ।’

ढकालले बागुलङदेखि आएर अहिले नेपालको निजी क्षेत्रको छाता संगठनको नेतृत्वमा पुगेको र विभिन्न कम्पनी मार्फत २५ हजार बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिन सफल भएको आफ्नै उदाहरण दिएका थिए ।

वैदेशिक रोजगारीमा रहेका नेपालीसमेतलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी दिए । यस कम्पनीले मुलुकभित्र तथा मुलुकबाहिर रहेका नेपालीहरुको छरिएर रहेको पुँजी संकलन गरी जलविद्युत, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रहरुमा लगानी गर्न गइरहेको बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायत विभिन्न वक्ताहरुले सम्बोधन गरेको थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *