एमाले र कांग्रेसमा असन्तुष्टि बढ्दो छ : प्रचण्ड

विराटनगर । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेभित्र असन्तुष्टि बढ्दै गइरहेको बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै असन्तुष्टिका कारण सरकार परिवर्तन हुन सक्ने भन्दै परिस्थिति गम्भीर बन्दै गएको उनको दाबी छ ।

उनले ठूलो दलको नेता प्रधानमन्त्री बन्नुपर्ने बताए । उनले कांग्रेसलाई समर्थन गर्न सकिने तर भ्रष्टाचारका विषयमा भने कसैको पनि समर्थन नगर्ने बताए ।

उनले गणतन्त्र खतरामा छैन भन्ने धारणा राखेका छन्। उनले जनमत र जनाधारका दृष्टिकोणले गणतन्त्रमाथि कुनै खतरा नरहेको स्पष्ट पारे।

‘अहिले नै गणतन्त्रप्रति त्यस्तो गम्भीर खतरा आयो भन्ने सोच्नुपर्ने आवश्यकता छैन। गणतन्त्रको रक्षाका लागि दलहरू एक हुनै पर्ने, नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्य ठीक होइन। गणतन्त्रमा हामी एक छौँ र गणतन्त्रकै निम्ति लडेर यहाँसम्म आएका हौँ’, प्रचण्डले भने ।

उनले वर्तमान गठबन्धनलाई माओवादीको समर्थन नरहेको स्पष्ट पारे। शनिवार बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरूबीचको छलफल केवल शान्ति प्रक्रियाको सन्दर्भमा रहेको र यसबाट वर्तमान गठबन्धनलाई माओवादीले समर्थन गरेको भन्ने चर्चा गलत रहेको बताए।

‘वर्तमान गठबन्धनलाई समर्थन गर्ने र त्यसमा जाने कुरा विल्कुल होइन। त्यो भ्रम नपरोस्’, उनले थपे।

प्रचण्डका अनुसार गणतन्त्र नामले मात्र नभई कामले बच्नुपर्छ। दलहरूले राम्रो काम गर्न सके गणतन्त्र थप संस्थागत हुँदै जाने उनको विश्वास छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन संवैधानिक, कानुनी वा अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने उनको भनाइ छ।

Comments

One response to “एमाले र कांग्रेसमा असन्तुष्टि बढ्दो छ : प्रचण्ड”

  1. ksp pyl Avatar
    ksp pyl

    काँग्रेस एमाले होईन अब माओवादी सकिन्छ ।जनताले यो पार्टी भनेको विदेशीको भाडाको टट्टु हो भन्ने कुरा प्रष्ट बुझिसके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *