सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समय ढल्किएपछि कार्यक्रम गर्नुको सट्टा, सोही बजेटले उपलब्धिमूलक कार्यक्रम गर्नु राम्रो भएको बताएका छन्।
आइतबार वीरेन्द्रनगरमा सुरु भएको दुई दिने मोबाइल पत्रकारिता (मोजो) तालिमको उद्घाटनमा क्रममा मुख्यमन्त्री कँडेलले कर्णालीजस्तो विकट र सूचना पहुँच कमजोर रहेको भूगोलमा मोबाइल पत्रकारिता प्रभावकारी माध्यम बन्न सक्ने बताएका हुन्।
उनका अनुसार परम्परागत पत्रकारिताको पहुँच सीमित रहेका बेला प्रविधिको सहायताले स्थानीय आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सकिन्छ।
यहाँ पूर्वाधारको विकास नभए पनि प्रविधिले हाम्रा हातमा मोबाइल दिएको छ, त्यसलाई उपयोग गरेर हामी समाज परिवर्तनमा भूमिका खेल्न सक्छौं’ उनले भने,‘मोबाइल पत्रकारिताबाट स्थानीय सूचना प्रभावकारी ढंगले सम्प्रेषण गर्न सकिने भएकाले यस्ता तालिमहरूलाई निरन्तरता दिनुपर्छ।’
तालिम नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको आयोजनामा तथा कर्णाली प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सञ्चालन गरिएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले मोबाइल पत्रकारिता अहिलेको आवश्यकताअनुसारको विधि भएको बताए।
‘कतिपय साथीहरूले आफ्नै प्रयासमा नयाँ मिडियाको प्रयोग गर्दै आएका छन्, अब यो तालिमले त्यो अभ्यासलाई थप सशक्त बनाउनेछ उनले भने,‘महासंघका नेतृत्व तहमा रहेका पत्रकारहरूलाई यस्ता तालिम अन्य जिल्लामा विस्तार गर्न पहल गर्न भइरहेको छ।’
कार्यक्रममा सहभागी पत्रकारहरूले मोबाइल पत्रकारिता कर्णालीको कठिन भौगोलिक परिस्थितिमा सूचना सम्प्रेषणको सशक्त माध्यम बन्ने विश्वास व्यक्त गरेका छन्।
आयोजक र सहयोगी संस्थाहरूले तालिमले पत्रकारिताको गुणस्तर वृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको दुई दिने मोबाइल पत्रकारिता (मोजो) तालिममा १० वटै जिल्लाबाट ४५ जना पत्रकारहरूको सहभागिता रहेको छ।

Leave a Reply