शिक्षक आन्दोलनको नाममा विद्यार्थीलाई ‘बाउन्सिङ बल’ नबनाउन अनेरास्ववियुको चेतावनी

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने आन्दोलनप्रति प्रश्न उठाएको छ । शिक्षक आन्दोलनका न्यायपूर्ण मागप्रति भने ऐक्यवद्धता जनाएको छ ।

अध्यक्ष समिक बडालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीलाई आन्दोलनको नाउँमा शिक्षण संस्थाको बाउन्सिङ बल’ बनाउने अधिकार कसैलाई पनि छैन ।

अनेरास्ववियुले शिक्षक महासंघ र सरकार दुवैलाई संगठनको ३ बुँदे माग प्रष्ट्याएको छ ।

जसमा शिक्षा ऐन संसदमा टेबल गरेर पारित हुने सुनिश्चितता प्रदान गरिनुपर्ने, शिक्षक महासंघले पनि पेशागत संगठन भएर समाधानमुखी वार्ताको बाटो समात्न आग्रह गरिएको छ । वैशाख १२ देखिको संसद अधिवेशनमा शिक्षा ऐन टेबल गरी दीर्घकालीन संस्थागत निकासको खाका प्रस्तुत गर्न पनि अखिलले माग गरेको छ ।

हालको आन्दोलनलाई आड बनाएर केही निजी शिक्षण संस्थाका निकट स्वार्थ समूहहरूले सरकारी विद्यालय कमजोर पार्न र विद्यार्थीलाई निजी संस्थातर्फ लतार्न गम्भीर षड्यन्त्र गरिरहेको जिकिरसहित अनेरास्ववियुले केही तथ्य पेश गरेको छ ।

जसमा पछिल्लो ५ वर्ष निजी विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वार्षिक ८ प्रतिशतले बढेको, सार्वजनिक विद्यालयबाट वार्षिक झन्डै ७ लाख विद्यार्थी बाहिरिएको, विद्यालय बन्द हुने बित्तिकै निजी विद्यालय भर्ना खुला गर्दै आकर्षक अफरको प्रचार गरिरहेको उल्लेख छ ।

शिक्षकहरूलाई पनि केवल तलब खाने कर्मचारी नभई समाजको नेतृत्वकर्ता भन्दै अनेरास्ववियुले विद्यार्थीको भविष्य अन्धकारमा राखेर पाइएको सफलता स्थायी नहुने बताएको छ ।

बडालले विज्ञप्तिमा भनेका छन्, ‘अब आन्दोलनको ऊर्जा विद्यालय फर्केर प्रयोग गर्नुस् । आफ्ना मागका लागि लड्नुहोस्, तर विद्यार्थीलाई घेराबन्दीमा नपारौं ।’

Comments

One response to “शिक्षक आन्दोलनको नाममा विद्यार्थीलाई ‘बाउन्सिङ बल’ नबनाउन अनेरास्ववियुको चेतावनी”

  1. ksp pyl Avatar
    ksp pyl

    यो आन्दोलनलाई माओवादी र शेखर काँग्रेसले भडकाईरहेको छ । तिनले निजी विद्यालयका मालिकसँग पैसा खाएर सरकारी विद्यालय ध्वस्त बनाईरहेका छन् । यिनलाई बानेश्वरबाट खेदौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *